उदयपुरको मस्जिदमा बसेका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि

वैशाख ५, २०७७

माधव घिमिरे

(मोरङ) — उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनीहरुमा संक्रमण देखिएको पुष्टि गरेको हो।

कोशी अञ्चल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो ।  

प्रदेश १ का एक मन्त्रीले भुल्केको मस्जिदमा भेटिएका १२ जना भारतीयकै पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको र उनीहरुलाई राति नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको जानकारी दिए । संक्रमितहरुलाई कोरोना विशेष अस्पतालमा ल्याउन प्रदेश सरकारले तयारी गरिसकेको छ ।

उक्त अस्पतालमा चिकित्सक टोली तथा सम्पूर्ण उपकरण तयारी अवस्थामा राखिएको र कोरोना पोजिटिभ देखिएकाहरुलाई ल्याउने सम्पूर्ण तयारी भइसकेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय प्रयोगशालाबाट अन्तिम रिपोर्ट पर्खिरहेको बताएका छन् । ‘उनीहरुको संक्रमण भए नभएको पुरै पुष्टि भइसकेको छैन’ मन्त्री कार्कीले भने, ‘संक्रमण पुष्टि भए विराटनगर ल्याएर आइसोलेसनमा राखी उपचार गर्ने तयारी भइरहेको छ ।’

यसअघि वीरगन्जको मस्जिदमा बसेका तीनजना धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि उक्त मस्जिदमा पनि अनुगमन गर्ने क्रममा १२ भारतीयको परिचयपत्र रहेको र अन्य ४ जना नेपाली रहेको पाइएको थियो । उनीहरूले मस्जिदमा सामाजिक दूरी कायम गरेको बताए पनि स्थानीयले घुलमिल गरिरहेको दाबी गरेका थिए ।

स्थानीयले नै मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरीलाई सूचना दिएका थिए ।

माधव

Link copied successfully