नेपालगन्ज — लकडाउनले गर्दा सुनसान छ सडक । त्यही सडकमा हातले ट्राइसाइकलको पाइडल पेलिरहेकी छन् । अगाडि पाँच वर्षीया छोरी टुसुक्क बसेकी छन् त पछाडि सात वर्षीया अर्की छोरी उभिएकी । चर्काे घामको पर्बाह छैन, छ त भोकको ।
नेपालगन्ज उपमहानगरपालिका–२०, गायत्री टोलकी मनकुमारी परियारको पोलियोका कारण बायाँ खुट्टा सुकेको छ । कम्मरमुनि उक्त खुट्टाले काम गर्दैन । जोखिमको समयमा पनि सुनसान सडकसम्म उनलाई यही भोकले ल्याइपुर्याएको हो ।
यातायातका साधन कम चलेकाले पनि मनकुमारीलाई ट्राइसाइकल चलाउन केही सहज भने अवश्य भएको छ तर काममा जान नपाउँदा उत्तिकै अप्ठ्यारो छ परिवार पाल्न । मंगलबार नेपालगन्जको राँझा चोकमा भेटिएकी मनकुमारीलाई आफ्नै वडाका एक मनकारीले केही सहयोग गर्छु भनेपछि उनी घर खोज्दै त्यहाँ पुगेकी हुन् । ‘एक जना दाइले बहिनी तपाईंलाई केही सहयोग गर्छु भन्नुभएको छ, त्यहीँ जान हिँडेकी हुँ,’ उनले भनिन्, ‘वडाले दिएको रासन सकिएपछि के गर्ने होला भन्ने चिन्ताले सताएको छ ।’
होलसेलबाट खुद्रा किराना पसलमा सामान पुर्याउने काम गर्दै आएकी उनले लकडाउनपछि काम गर्न पाएकी छैनन् । घरमा दुई छोरीलाई हेर्ने आफन्त पनि छैनन् । मनकुमारी मात्र होइन, लकडाउनका कारण अपांगता भएका यस्ता थुप्रै मारमा परेका छन् ।
खजुरा गाउँपालिका–६, गिजराका जयबहादुर विश्वकर्मा दृष्टिविहीन हुन् । २०५८ मा जलविन्दुका कारण उनको आँखाको दृष्टि गुम्यो । देख्न छोडेपछि बजार गएर काम गर्ने सम्भावना पनि हरायो । आफूजस्तै साथीहरूको समूह बनाएर बाटामा गीत गाउँदै बस्न थाले । कसैले दया मानेर कसैले कला देखेर पैसा दिन्थे । त्यही पैसाले परिवार धानिएको थियो तर अहिले घरबाट पनि निस्कन सकस छ । पैसा आउने कुनै बाटो छैन ।
वडाले दिएको राहत सकिएपछि अहिले उनलाई कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ । चैत १२ मा वडाले २५ किलो चामल, एक किलो दाल, आधा लिटर तेल दिएको थियो । ‘पाँच जनाको परिवारलाई दिनमा एक किलो चामल सकिन्छ,’ उनले भने, ‘फेरि राहत माग्दा वडाले अब दिन सकिँदैन भन्छ ।’ परियारले अहिले सडकमा निस्किएर गाउन पाएका छैनन् । त्यसैले हातमा पैसा परेको छैन । उनका नौ र चार वर्षीय छोरा तथा १८ वर्षीया एक छोरी छन् । पत्नीमा पनि न्यून दृष्टि रहेकाले घरमै बालबच्चा हेरेर बस्छिन् ।
काममा जान नपाउँदा हातमा एक रुपैयाँ नगद छैन,’ उनले भने, ‘हात धुनका लागि साबुन छैन । साबुन किन्ने पैसा पनि छैन ।’ उनका अनुसार उनको वडामा रहेका सात परिवारको अवस्था यस्तै छ ।
अपांग महासंघ प्रदेश ५ का अध्यक्ष देवीदत्त आचार्यले लकडाउनमा फरक क्षमता भएका समुदाय थप पीडामा रहेको बताए । ‘कति हिँड्न नसक्ने, बोल्न अनि माग्न पनि नसक्ने छन् । पहुँचमा नभएका यस्ता फरक क्षमताका विपन्न राहतबाटै वञ्चित भए,’ उनले समस्या सुनाए ।
