रोकिएका प्रतियोगिताहरू

वैशाख ५, २०७७

सन्जु पौडेल

तिलोत्तमा — कोभिड–१९ को जोखिमका कारण मुलुकमा लकडाउन घोषणा गरिएपछि त्यसको पूर्ण असर खेलकुद क्षेत्रमा पनि परेको छ । संक्रमण फैलिन नदिन जमघट, भेला आदिमा रोक लगाएसँगै खेल गतिविधि ठप्प छन् । रूपन्देहीमा प्रत्येक वर्ष हुने ठूला प्रतियोगिता र लिग अहिले स्थगित छन् । चहलपहल हुने मैदानमा घाँस उम्रिएको छ । कभर्डहलमा माकुराको जालो लागेको छ ।

यस वर्ष महामारी सुरु भएपछि जिल्लाकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल सञ्चालन भएन । ०३३ सालबाट सुरु भएको गोल्डकपको २२ औं संस्करण स्थगित गरिएको छ । रूपन्देही जिल्ला फुटबल संघले तिनाउ नदीको नामबाट सुरु गरेको प्रतियोगिता एक वर्षका लागि रोकिएको हो । विश्वव्यापी महामारीको अवस्था मध्यनजर गरेर प्रतियोगिता स्थगित गरिएको संघका अध्यक्ष दीर्घबहादुर केसी (कुमार) ले बताए । ‘सुरुमा फागुन ८ देखि सुरु गर्ने तयारी गर्‍यौं,’ उनले भने, ‘राष्ट्रिय खेलाडीको समय मिलेन । त्यसपछि चैत १ देखि १० सम्म गर्ने भनेर सारियो । तर त्यसपछि कोभिड १९ संक्रमण व्यापक भएपछि रोक्नुपर्‍यो ।’

गोल्डकपमा भारतका दुई टिमसहित नेपालका ए डिभिजन क्लब, आयोजक र अन्य जिल्लाका केही क्लब गरी आठ टिमबीच प्रतिस्पर्धा हुने तय थियो । प्रतियोगिता रोक्नुपर्दा यसको निरन्तरता खल्बलिने चिन्ता बढेको केसीले बताए । प्रतियोगिता गर्न आयोजकले देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदान मर्मत गरेको थियो । पर्चा, पम्पलेट र होर्डिङ बोर्डमा ५ लाख रुपैयाँ खर्च भइसकेको केसीले बताए । ‘तिलोत्तमा गोल्डकप प्रतीक्षा गर्ने आम फुटबलप्रेमीले निराशा व्यक्त गरेका छन्,’ उनले भने, ‘परिस्थितिले रोक्न बाध्य भयौं । अर्को वर्ष मंसिरमा गर्ने गरी छलफल गरिसकेका छौं ।’ गत वर्ष अफ्रिकन मूलका खेलाडीको टिम दाउफिन्सले उपाधि जितेको थियो । विजेता हुँदै टोलीले ८ लाख ८८ हजार रुपैयाँ प्राप्त गरेको थियो । यस वर्ष उपाधि विजेताले १० लाख ५१ हजार रुपैयाँ राशिको पुरस्कार पाउने निश्चित थियो । दोस्रो हुनेको ७ लाख ५१ हजार रुपैयाँ पुरस्कार छुट्याइएको थियो । संघले प्रत्येक वर्ष पुरस्कार राशिमा वृद्धि गर्दै आएको छ । यो एन्फाको ‘क’ श्रेणीमा पर्ने प्रतियोगिता हो । 

०६८ सालको अन्त्यतिरबाट आयोजना गर्न थालिएको जनज्योति फुटबल कप पनि स्थगित भयो । तिलोत्तमा–४, डिंगरनगरस्थित जनज्योति क्लबले हरेक वर्ष गर्ने गरेकोमा यस वर्ष तयारी थाल्दाथाल्दै कोरोना भाइरसको त्रासका कारण रोकिएको क्लबले जनाएको छ । पहिले त स्थानीय सरकारले भीडभाड गरी प्रतियोगिता तथा कुनै कार्यक्रम नगर्न सूचना जारी गरेको र पछि लकडाउन नै भएपछि यस वर्ष प्रतियोगिता गर्न नसकिएको क्लबका अध्यक्ष मित्रलाल न्यौपानेले बताए । ‘प्रतियोगिताको तयारी गरिरहेका थियौं,’ उनले भने, ‘मैदानको मर्मत सम्भारमा ६० हजार रुपैयाँ खर्च भइसकेको थियो ।’ प्रतियोगिता हुनुभन्दा तीन महिनाअघिबाटै मैदान हेरचाह र स्याहारका लागि कर्मचारी खटाएको र उनलाई मासिक ८ हजार रुपैयाँ दिने गरेको न्यौपानेले बताए । यस वर्ष क्लबले घरेलु मैदानमै सेभेन ए साइड ग्राउन्डसमेत बनाएको र भेट्रान्स खेल खेलाउने तयारी अघि बढाएको उनले बताए । १४ टिम सहभागी हुने प्रतियोगिता माघमा सम्पन्न गरी वैशाखमा भेट्रान्स गर्ने भनेरै तयारी गरिएको थियो । नेपालभरका क्लबमा खबर भइसकेको र ३५ वर्ष नाघेका खेलाडीलाई समेट्ने गरी प्रतियोगितामा नयाँपन थप्ने प्रयाससहित अघि बढ्दा स्थगित गर्नुपरेको उनले सुनाए । प्यारापिट निर्माणको कामसमेत सकिएको भए पनि अब लकडाउन खुलेपछि खेल गर्ने सम्भावना यसपालि नरहेको न्यौपानेले बताए । 

१ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा रूपन्देहीबाहेक नवलपरासी, चितवन, दाङ र पाल्पाका गरी १४ टिम सहभागी हुँदैथिए । अन्य जिल्लाका एक/एक टिम र यहाँका १० टिमको सहभागितामा प्रतियोगिता हुँदै आएको थियो । स्थानीयबाट सहयोग संकलन गरी सञ्चालित प्रतियोगिताको रौनक स्थानीय स्तर र अन्य जिल्लामा पनि रहेको र यस वर्ष खेल गराउन नसक्दा केही खल्लो महसुस भएको न्यौपानेले सुनाए ।

ओमसतिया गाउँपालिका–१ मा रहेको नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार क्लबको १० औं नवयुवा कपलाई कोभिड १९ का कारण स्थगित गराइदिएपछि आयोजक चिन्तामा छन् । फागुन महिनामा भइरहेको उक्त प्रतियोगिताका लागि विभिन्न स्थानमा सहयोगका लागि पत्र गइसकेको अध्यक्ष अमित थापाले बताए । ‘स्थगित भएपछि अब अर्को मिति तोक्न समय लाग्छ,’ उनले भने, ‘यहाँ थुप्रै क्लबले खेल गराउने भएकाले कसैसँग नजुधाई प्रतियोगिता गर्नुपर्छ ।’ 

यो सिजन अब प्रतियोगिता गराउन सम्भव नरहेको थापाले बताए । २ लाख ११ हजार राशिको यो प्रतियोगितामा नवलपरासी र कपिलवस्तुका टिम पनि सहभागी हुने गरेका थिए । ‘कोरोना संक्रमणको त्रासले समस्या भयो,’ अध्यक्ष थापाले भने, ‘खेल गर्ने भनेपछि छुट्टै उत्साह र उमंग हुन्थ्यो, टिमलाई पहिल्यै खबर गरिसकिएको थियो ।’ 

जिल्लाकै देवदह नगरपालिकाले वैशाख महिनाभर सञ्चालन गर्ने गरी तय गरेको विभिन्न प्रतियोगिता अहिले स्थगित भएको छ । नगरको खेलकुद विकास समितिले एक महिनामै सप्ताहव्यापी तय गरी आयोजना गर्ने तयारी गरेको मेयर कप फुटबल, उपमेयर कप भलिबल, कराते, क्रिकेट प्रतियोगिता रोकिएको संयोजक दीपक चापागाईंले बताए । ‘यस वर्षको २६ लाख रुपैयाँ बजेटको नगर खेलकुदलाई अघि बढाउन एकै महिनामा विभिन्न खेल सञ्चालन गर्ने गरी बैठक बसी पत्रसमेत तयार गरेका थियौं,’ उनले भने, ‘लकडाउन अवधि नलम्बिए अझै पनि गर्ने सोचमै छौं ।’ अहिलेको विषम परिस्थितिमा खेल सम्पन्न गर्न छुट्याएको बजेट विपन्न परिवारलाई राहत वितरणमा उपयोग गरिने चापागाईंले बताए । नगरपालिकाको योजनाअनुसार नगरभित्रका युवा तथा बालबालिकालाई खेलक्षेत्रमा अघि बढाउन तीन वर्षदेखि निरन्तर प्रतियोगिता खेलाउन थालिएको उनले जानकारी गराए ।

जिल्लाका विभिन्न स्थानमा ठूलासँगै साना प्रतियोगिता गर्ने तयारीमा क्लबहरू जुटेका थिए । फुटबलमात्र नभई क्रिकेट लिग पनि हुँदै थियो । क्रिकेटमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिरहेको रूपन्देहीमा वार्षिक क्यालेन्डरअनुसार यस वर्ष पाँच प्रतियोगिता स्थगित भए । रूपन्देही क्रिकेट संघको आयोजनामा चैत १४ देखि गर्ने तय भएको 

ट्वान्टी–२० क्रिकेट, चैत २४ देखि हुने भनिएको जिल्लास्तरीय महिला क्रिकेट प्रतियोगिता पनि रोकिएको संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । यसबाहेक जिल्लाका खेलाडी समेटेर तीन टिम बनाएर राष्ट्रिय खेलका लागि छनोट प्रतियोगिता गर्ने गरी वैशाखमा खेलाइने आन्तरिक सुपर लिग पनि रोकिएको छ । वार्षिक तालिकाअनुसार सात प्रतियोगितामा दुईवटा मात्र गर्न सकिएको मल्लले जनाए । राष्ट्रिय क्यालेन्डर आएपछि जिल्ला लिग हुनुपर्ने भएकाले यी प्रतियोगिता गर्न नसकिने अवस्था रहेको उनले बताए । उनले भने, ‘अहिले तय भएको मितिपछि लकडाउन नलम्बिए केही प्रतियोगिता गर्न सकिने आशा छ । लकडाउन लम्बिए यस वर्षका सबै खेल रोकिनेछ ।’

सात लिगमध्ये सुपर लिगका लागि डेढ लाख रुपैयाँको पुरस्कार राशि थियो ।

कोरोना संक्रमणबाट बच्न गरिएको लकडाउनले खेलाडीको भविष्य र वृत्ति विकासमा असर गरेको मल्लले बताए । विभिन्न उमेर समूहमा सहभागी हुन तयार भएका खेलाडीले अर्को वर्ष उमेरकै कारण खेल्न नपाउँदा मनोबल खस्कने र राम्रा खेलाडी ओझेलमा पर्ने सम्भावना रहने उनले सुनाए । अन्तर्राष्ट्रिय सिरिज खेल्नका लागि जिल्लाकै खेलाडी छनोट गरेर पठाइने भएकाले यसले समग्र नेपाली क्रिकेटमै बाधा पुग्ने मल्लले बताए ।

सैनामैनास्थित पर्रोहा युवा क्लबको आयोजनामा चैत १५ देखि हुनुपर्ने सैनामैना प्रिमियर लिग पनि स्थगित गरिएको लिगका सीईओ कृष्ण भण्डारीले बताए । नगर प्रमुख चित्रबहादुर कार्कीले हौसला दिएर सुरुआत भएको लिगमा नगरपालिकाको संरक्षकत्व रहेको बताए । ६ टिम सहभागी हुने लिगको तयारी र टिम दर्ताको काम सकिसकेपछि पनि स्थगित गर्नुपरेको हो । 

गौतम बुद्ध क्रिकेट मैदानमा गत वर्षदेखि सुरु भएको उक्त लिगको प्रचारप्रसार र तयारीमा ५० हजार रुपैयाँ खर्च भइसकेको उनले बताए । लकडाउनबाट प्रतियोगिता रोकिएपछि जेठ अन्तिमसम्म स्थिति सामान्य भए सञ्चालन गर्ने गरी आफूहरू तयारीमा रहेको सीईओ भण्डारीले सुनाए । विजेताले एक लाख रुपैयाँभन्दा बढी पुरस्कार पाउने गरी आयोजकले व्यवस्थापन गरेका थिए ।

लकडाउन

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully