राेल्पा र विराटनगर — क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्केकाले समाजमा अपमानजनक व्यवहार भएको गुनासो गरेका छन् । स्थानीयहरूले कोरोना संक्रमितझैं व्यवहार गर्ने र परिवारलाई समेत समस्यामा पार्ने गरेको उनीहरूले बताए । रोल्पाका कतिपय क्वारेन्टाइनमा बसेकाहरू सामाजिक समस्या हुने र अपमानित हुनुपर्ने भन्दै घर फर्कनसमेत अप्ठ्यारो मान्न थालेका छन् ।
काठमाडौंलगायत स्थानका इँटा उद्योगबाट ल्याएर क्वारेन्टाइनमा राखिएका मजदुरलाई अहिले घर पठाउनै समस्या हुन थालेको जनप्रतिनिधिहरू बताउँछन् । रोल्पा नगरपालिका–६, कोटगाउँका वडाध्यक्ष तुलबहादुर घर्तीमगरले भने, ‘क्वारेन्टाइनमा बसेकालाई घर पठाउँदा फकाउनुपर्ने अवस्था आयो । उनीहरूलाई छिमेकीले असल नजरले नहेरेको गुनासो आएको छ ।’
घरमा पुगेका उनीहरूलाई कम्तीमा लकडाउनको अवधिभर घरमै बस्न सुझाव दिइएको उनले बताए । लकडाउनको घोषणापछि राजधानीका इँटा उद्योगबाट सास्ती खेपेर उनीहरूलाई रातारात गाउँ फर्काइएको थियो । रोल्पाका स्थानीय तहले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरेर बुधबारसम्म ६० जनालाई घर फर्काएका छन् । रोल्पा स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले रोल्पा नगरपालिकासहित सुनिल स्मृति, सुनछहारी, लुंग्री र रुन्टीगढी गाउँपालिकामा आरडीटी किटबाट परीक्षण थालिएको बताए ।
रोल्पा नगरपालिका–६ दारबोटका ३३ जना, सुनछहरीको रैचाका २३ र स्युरीका ६ जनामा आरडीटी परीक्षण गरिएको छ । घोडागाउँ र होलेरीमा समेत परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । रोल्पामा तीन सय थान आरडीटी किट पुगेको छ । रोल्पाका विभिन्न क्वारेन्टाइनमा बुधबारसम्म दुई सय ६६ जना छन् ।
लकडाउन घोषणापछि अप्ठ्यारोमा परेकाले जनप्रतिनिधिलाई खबर गर्ने गरेका छन् । थुप्रै ठाउँबाट घर फर्कन खोजेका पाँच सयभन्दा बढीले खबर गरेको रोल्पा नगरप्रमुख पूर्ण केसीले बताए । ‘सबैतिरबाट घर फर्कन खोज्ने सयौं छन्,’ उनले भने, ‘गृह मन्त्रालय र प्रशासनले सजिलो बनाइदिए उनीहरू घर फर्कन चाहन्छन् ।’ उनले कतिपय पैदलै गाउँमा आइपुगेको बताए । राजधानीका इँटा उद्योग, पूर्वी पहाडी र हिमाली जिल्लामा सञ्चालित पूर्वाधार योजनामा मजदुरी गर्न गएका रोल्पाली थुप्रै छन् । हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि रोल्पाली मजदुर पुगेका छन् । त्रिवेणी नुवागाउँका करिब दुई दर्जन मजदुरले सिन्धुपाल्चोकबाट घर फर्कन चाहेको भन्दै खबर गरेको उनले स्नाए ।
मोरङका क्वारेन्टाइनहरूमा बसेका एक सय जना घर फर्किएका छन् । जिल्लाका ६ स्थानका क्वारेन्टाइनमा बसेका एक सय ७६ जनामध्ये १ सय जना घर फर्केका मोरङ प्रहरीले जनाएको छ । क्वारेन्टाइनमा बस्नेहरूमा संक्रमणको लक्षण नदेखिएपछि घर पठाइएको हो ।
मोरङको टाँडीस्थित आर्मी क्याम्पसमा रहेका एक सय ५१ मध्ये ९७ जना र घिनाघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको क्वारेन्टाइनमा बसेका ११ मध्ये ३ जना घर गएका हुन् । जिल्लाभर २ सय ४८ शय्याको क्वारेन्टाइन बनाइएको छ भने विभिन्न पाँच स्थानमा ९६ शय्याको आइसोलेसन केन्द्र खडा गरिएको छ । तीमध्ये कोसी अस्पतालमा आइसोलेसनमा राखिएका १२ जनामध्ये ११ जना घर फर्केका छन् । उनीहरूको स्वाब नमुना परीक्षणमा संक्रमण नदेखिएपछि घर फर्काइएको प्रहरीले जनाएको छ । यसैगरी, गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा बसेका तीनैजना फिर्ता भएका छन् । तीबाहेक विराटनगरस्थित नेसनल ट्रेडिङ (५०), ग्रामथानस्थित प्राथमिक स्वास्थ्य केन्द्र (१८) र पथरी अस्पताल (८) का आइसोलेसनमा हालसम्म कसैलाई राखिएको छैन ।
