कोभिड–१९ का बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई पहिचान गरी सक्दो चाँडो परीक्षण गर्न सके यो रोग अरुमा सरे–नसरेको पत्ता लगाउन सकिन्छ ।
चीनको हुवेई प्रान्तको वुहान सहरमा पहिलोपटक देखापरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण यो लेख तयार पार्दासम्म २१३ देश, टेरिटोरी तथा दुइटा ठूला क्रुजहरूमा फैलिसकेको छ ।
वैज्ञानिक अनुसन्धानका प्रारम्भिक निचोडलाई आधार मान्दा यो भाइरस जनावरबाट मानिसमा आएको भनिएको छ । यस भाइरसले सामान्य रुघाखोकीदेखि श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या गराउन सक्छ । कोरोना आरएनए समूहको भाइरस हो, जसले श्वासप्रश्वासका माध्यमबाट र प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसको शरीरमा प्रवेश गरी वंशवृद्धि गर्छ । फलस्वरूप उक्त व्यक्तिमा- (१) कुनै पनि लक्षण नदेखिन सक्छ, (२) ज्वरो आउन थाल्छ, (३) निमोनियाजस्तै लक्षणहरू देखिन थाल्छन्, (४) द्रुत गति फोक्सोमा खराबी आउनुका साथै अन्य अंग पनि काम गर्न नसक्ने अवस्थासम्म पुग्छन्, जसलाई मेडिकल भाषामा ‘मल्टिअर्गान फेलियर’ भन्छौं ।
कसलाई जोखिमपूर्ण समस्या देखिन सक्छ ?
यो रोग जुनसुकै उमेर समूहलाई हुन सक्छ । उमेर ढल्केका व्यक्तिलाई बढी असर गर्छ । चीनमा विभिन्न उमेर समूहकालाई रोग लाग्न सक्ने सम्भाव्यताको अध्ययनपछि निकालिएको निष्कर्षअनुसार, उमेर बढेसँगै संक्रमणको जोखिम पनि उच्च रहने पाइएको छ । २०-२९ वर्षको उमेर समूहमा १ प्रतिशत, ५०-५९ वर्षमा ४ प्रतिशत र ८० वर्षभन्दा माथि १८ प्रतिशतलाई संक्रमणको जोखिम पाइएको छ । अन्य रोगबाट ग्रस्त व्यक्तिलाई यो रोगबाट हुन सक्ने जटिलता बढी भएको प्रमाणित भैसकेको छ ।
मुटुरोग, चिनीरोग (डाइबेटिज मेलाइटस), उच्च रक्तचाप, फोक्सोसम्बन्धी रोग, मृगौलासम्बन्धी रोग, रोगप्रतिरोधी क्षमता कम भएका र अत्यधिक मोटोपना (बीएमआई ४० भन्दा बढी) र कलेजोसम्बन्धी रोगबाट ग्रस्त व्यक्ति उच्च जोखिममा रहेको अमेरिकी केन्द्रीय रोग नियन्त्रण र रोकथाम महाशाखाले जनाएको छ ।
संक्रमणको अवधि
कोरोना भाइरसले लक्षणहरू देखिनुअघिदेखि देखिएपछिसम्मै पनि अरूलाई संक्रमण गर्न सक्छ । त्यसैले लक्षणहरू नदेखिएको अवस्थामा कुन व्यक्तिमा संक्रमण छ भनेर छुट्याउनु आवश्यक हुन्छ । कोभिड-१९ भएको व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा राख्नु नै बुद्धिमत्तापूर्ण हुन्छ । त्यसैले अन्य व्यक्तिसँग सम्पर्क नहोस् र संक्रमण धेरैमा फैलिन नपाओस् भन्ने उद्देश्यले नै संक्रमितहरूलाई छुट्टाछुट्टै राखेर उपचार गरिन्छ ।
संक्रमण सर्न सक्ने जोखिम
कोभिड-१९ मुख्यतः बिरामीको निकट सम्पर्कमा आएका व्यक्तिमा सर्ने गरेको पाइएको छ । त्यसैले यदि उपयुक्त रोकथामका उपाय (जस्तै- सामाजिक दूरी, सुरक्षाकवच, हातको सरसफाइ, खोक्दा वा हाच्छ्युँ गर्दा मास्क वा कपडाले मुख छोप्नेलगायत) अवलम्बन गर्न नसके भाइरस घरभित्र, अस्पताल (यदि उपयुक्त व्यक्तिगत सुरक्षाकवचको प्रयोग गर्न सकेनौं भने), हवाइजहाज र सार्वजनिक यातायातका साधन लगायतमा सर्ने उच्च जोखिम हुन्छ ।
धेरै मानिस एकै ठाउँमा जम्मा हुँदा घरपरिवारमा मात्र नभएर अन्यत्र पनि संक्रमण फैलिन सक्छ । अहिलेको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण छ, घरभित्रै बस्नु । त्यसमा पनि घरपरिवारका सदस्यसँग समेत निश्चित दूरी कायम गरी सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
नत्र परिवार, आफ्नो कार्यालय र सबै जना जम्मा हुने ठाउँमा हुन सक्ने संक्रमित व्यक्तिसँगको सम्पर्कले कोरोना संक्रमणलाई सार्न सक्ने उच्च जोखिम हुन्छ । अप्रत्यक्ष सम्पर्क (जस्तै- संक्रमित व्यक्ति हिँडेको बाटो, संक्रमित व्यक्तिले चलाएका सामग्री) बाट भाइरस संक्रमण हुने जोखिम त्यति स्थापित भइसकेको छैन, एकदमै कम छ । तर हामीले सरसफाइमा भने विशेष ध्यान पुर्याउनैपर्छ ।
इन्क्युबेसन अवधि
भाइरस शरीरमा प्रवेश गरेदेखि रोगका लक्षण देखिने बेलासम्मको समय हो- इन्क्युबेसन अवधि । संक्रमण कम गर्न र आइसोलेसनमा कति समय राख्ने भन्ने कुरा पहिचान गर्न यो महत्त्वपूर्ण छ । कोभिड-१९ को इन्क्युबेसन अवधि १४ दिन हुन्छ । धेरैजसो बिरामीमा यो संक्रमित व्यक्तिसँग सम्पर्कमा आएको ४-५ दिनपछि मात्रै देखा पर्छ । यद्यपि कसैकसैमा भने २१ दिनपछि पनि लक्षण देखिन थाल्छन् ।
अहिले सबैजसोको जिज्ञासा रहने गरेको छ- कुनै बिरामीमा कोरोनाका लक्षणहरू नदेखिन पनि सक्छन् त ? लक्षणहरू देखा नपरेका संक्रमित व्यक्ति चिन्न किन जरुरी छ ? अहिलेसम्म हामीसँग भएका रिपोर्टबाट लक्षणहरू नदेखिएका तर कोभिड-१९ संक्रमण पुष्टि भएका बिरामीहरू पनि छन् । सजिलै छुट्न सक्ने उक्त समुदाय सरकारले अन्य रोकथामका उपाय अवलम्बन गरे पनि संक्रमण सार्नमा मुख्य जिम्मेवार हुन सक्छ । यस्ता व्यक्तिमा संक्रमणका लक्षणहरू नदेखिएकाले रोगको प्रकृति र संक्रमित व्यक्तिहरूसँगको सम्पर्कका आधारमा गरिने कन्ट्याक्ट ट्रेसिङबाट मात्रै यिनीहरूको पहिचान गर्न सकिन्छ ।
परीक्षण कसलाई गर्ने ?
अहिलेकै अवस्थामा नेपालको परिप्रेक्ष्यमा सबै जनालाई परीक्षण गर्न सम्भव छैन । संक्रमणका आधारमा नेपाल अहिले दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा विदेशबाट आएका, कोभिड-१९ संक्रमितको सम्पर्कमा आएका (जसलाई कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान गर्नुपर्छ) र जसलाई कोभिड-१९ का लक्षणहरू देखा परिसकेका छन्, त्यस्ता व्यक्तिलाई परीक्षण गर्नु उचित हुन्छ ।
तथापि जति धेरै परीक्षण गर्न सकियो, उति धेरै मानिसको पहिचान हुन सक्ने र उनीहरूलाई आइसोलेसनमा राखी रोग फैलिनबाट रोक्न सकिने हुन्छ । त्यस्तै, कोभिड-१९ का बिरामीको सम्पर्कमा आएका व्यक्तिलाई पहिचान गरी सक्दो चाँडो परीक्षण गर्न सके यो रोग एक व्यक्तिबाट अर्कामा सरे-नसरेको पत्ता लगाउन सकिन्छ । यसले रोगलाई फैलिनबाट रोक्न मद्दत गर्छ । यही अवधारणालाई टेस्ट, टेस्ट, टेस्ट भनिन्छ ।
के-के परीक्षण गर्न सकिन्छ ?
यसका निम्ति सर्वप्रथम निम्निलिखित तथ्य बुझ्नु जरुरी छ-
१. माथि नै भनियो, श्वासप्रश्वास प्रणालीका माध्यमद्वारा कोरोना भाइरसले हाम्रो शरीरमा प्रवेश पाउँछ र वंशवृद्धि गर्छ । यो भाइरस शरीरमा प्रवेश गर्ने बाटो ‘ओरो फ्यार्याङ्स’ र ‘ल्यार्याङो फ्यार्याङ्स’ मा टाँसिएर बसेको हुन्छ । त्यसैले संक्रमण भए-नभएको पुष्टि गर्न ‘ओरो फ्यार्याङ्स’ र ‘ल्यार्याङो फ्यार्याङ्स’ बाट स्वाब संकलन गरी आरडीटी पीसीआर विधिबाट प्रयोगशालामा परीक्षण गरिन्छ ।
२. यो भाइरस शरीरमा प्रवेश गरेपछि व्यक्तिविशेषको रोगप्रतिरोधी क्षमताले शरीरमा यो भाइरसविरुद्ध लड्ने सिपाही बनाउन सुरु गर्छ, जसलाई मेडिकल भाषामा ‘एन्टिबडी’ भन्छौं । सुरुमा शरीरमा यो भाइरस प्रवेश गरेको ५-७ दिनदेखि आईजीएम नामक सिपाही उत्पादन हुन थाल्छ । यसले शरीरलाई अल्पकालीन सुरक्षा प्रदान गर्छ । यो अवस्थामा शरीरमा कोरोना भाइरसविरुद्ध आईजीएम उत्पादन भए-नभएको परीक्षण गर्न सकिन्छ । यसका निम्ति र्यापिड टेस्ट किटहरू उपलब्ध छन् ।
३. करिब दुई हप्तापछिदेखि दीर्घकालीन प्रतिरक्षा प्रदान गर्ने अर्को सिपाहीको उत्पादन सुरु हुन्छ, जसलाई हामी ‘आईजीजी’ भन्छौं । सामान्यतः यसको उत्पादन भएसँगै बिरामी बिस्तारै निको हुँदै गएको हुन्छ ।
कोरोना भाइरस भए-नभएको पुष्टि गर्न पनि यिनै तीन पक्षका आधारमा परीक्षण गरिन्छ । स्वाबको पीसीआर परीक्षण गर्दा भाइरस भए-नभएको जानकारी हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, स्वाबको आरडीटी पीसीआर परीक्षण विधिबाटै कोभिड-१९ भए-नभएको पहिचान र प्रयोगशालाबाट कोभिड-१९ को पुष्टि गर्न सकिन्छ । यो परीक्षणले संक्रमण भएको दिनदेखि (लक्षणहरू देखिए पनि नदेखिए पनि) भाइरसको पहिचान गर्न सकिन्छ । तर यो पनि एकपटक नेगेटिभ आउँदैमा कोभिड-१९ छैन भन्नचाहिँ सकिँदैन । यसको नतिजा स्वाब संकलनदेखि कसरी, कुन माध्यमबाट ल्याइयो भन्नेदेखि अन्य धेरै कुरामा निर्भर हुन्छ ।
यसै गरी, र्यापिड टेस्ट किटका माध्यमबाट शरीरमा कोरोनाविरुद्ध भएका सिपाहीहरू (आईजीएम, आईजीजी) को पहिचान गर्न सकिन्छ । तर यी कुनै पनि र्यापिड टेस्ट गर्ने विधिलाई विश्व स्वास्थ्य संगठनले रोग पहिचान तथा उपचारको उद्देश्यका लागि प्रयोग गर्न मान्यता भने दिएको छैन । यसलाई अनुसन्धानका लागि वा ती रोगको निगरानीका लागि मात्रै प्रयोग गर्ने सल्लाह दिएको छ ।
विश्व स्वास्थ्य संगठनकै शब्दमा भन्दा, ‘अहिलेसम्मको सबै विवरण हेर्दा, हामी एन्टिबडी वा एन्टिजेन पहिचान गर्ने र्यापिड परीक्षण विधिलाई बिरामीको पहिचानका निम्ति प्रयोग नगर्न सल्लाह दिन्छौं, तर रोगको निगरानीका निम्ति र अनुसन्धान कार्यका लागि यस्ता साधनको प्रयोगलाई सुधार गर्दै प्रयोग गर्न प्रोत्साहित गर्छौं ।’
यो पढ्दै गर्दा हाम्रो मनमा एउटा प्रश्न आउन सक्छ- उसो भए र्यापिड टेस्टको उपयोगितै छैन त ? नेपालमा त झन् हामीले बागलुङ, कैलाली र कञ्चनपुरमा यही र्यापिड टेस्ट किट प्रयोग गरिरहेका छौं । यसको उपयोग संक्रमण पुष्टिभन्दा पनि समुदायमा संक्रमण सुरु भएर तेस्रो चरणमा पुगेपछि, रोगका लक्षणहरू नदेखिएका बिरामीको जाँचमा प्रयोग गर्न सकिन्छ । यसै गरी क्वारेन्टिनमा भएका मानिसलाई टेस्ट गरेर यदि पोजेटिभ आएको खण्डमा कन्ट्याक्ट ट्रेसिङमार्फत सम्भावित संक्रमितको पहिचानका लागि प्रयोग गर्न सकिन्छ ।
यस्तै, इटालीका विज्ञहरूले त्यहाँको सरकारलाई यो महामारीसँग जुध्नका लागि दिएका सल्लाह-सुझाव हाम्रानिम्ति पनि मननयोग्य छन्, जुन यस प्रकार छन्-
१. रोकथाम । अहिले सरकारले अवलम्बन गरेको लकडाउन, क्वारेन्टिन, सरसफाइ, सामाजिक दूरी ।
२. पहिचान । रोगको लक्षण देखा परिनसकेका व्यक्तिहरूको पहिचान,
विशेष गरी अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र नर्सहरू । सामाजिक संक्रमण सुरु भैसकेपछि भने अस्पतालबाट हुन सक्ने संक्रमणको जोखिमबाट बचाउन अनि अग्रपंक्तिमा रहेर कार्य गरिरहेका व्यक्तिहरूलाई अत्यधिक सम्पर्कमा हुनबाट रोकेर चाँडै आइसोलेसनमा राख्नुपर्छ ।
३. सुरक्षा सामग्री र भेन्टिलेटर । संक्रमणको जोखिमअनुसार पर्याप्त मात्रामा मास्क र व्यक्तिगत सुरक्षाकवचको प्रबन्धसँगै भेन्टिलेटरको
संख्या पनि बढाउन पहल गर्नुपर्छ । अब भने आवश्यक ठाउँमा बोकेर लग्न सकिने खालका भेन्टिलेटरको पनि बन्दोबस्त गर्नुपर्छ । विश्वसंकटको घडीमा नयाँ भेन्टिलेटर बनाउन कठिन छ । त्यसैले हामीसँग भएका सबै भेन्टिलेटरलाई मर्मत गरेर तयारी अवस्थामा राख्नुपर्छ । यसमा पहलकदमी लिने राष्ट्रिय आविष्कार केन्द्रको कार्य सराहनीय छ ।
४. अहिलेसम्म भ्याक्सिन उपलब्ध भैसकेको छैन । त्यसैले रोग लाग्न सक्ने जोखिमपूर्ण समुदायका बिरामीलाई बचाउनु छ ।
५. धूमपान बन्द गर्ने । अहिलेसम्मको तथ्यांक हेर्दा महिलाका तुलनामा पुरुषको मृत्युदर बढी हुने कारकमध्ये धूमपानलाई प्रमुख मानिएको छ ।
६. सहयोगी औषधिको उत्पादन । कोभिड-१९ को रोकथाममा प्रयोग हुन सक्ने औषधिको उत्पादन तत्काल अघि बढाउनुपर्छ ।
७. द्रुत प्रविधि भित्र्याउने प्रयास गर्ने । सम्भव भएसम्म अमेरिकी खाद्यान्न तथा औषधि विभागले मान्यता दिएको कोरोना भाइरस परीक्षण गर्ने पद्धति चाँडोभन्दा चाँडो भित्र्याउन सकेमा अहिले हामीले गर्दै गरेको परीक्षणको समय (जसका निम्ति लामो समयसम्म पर्खिनुपर्ने बाध्यता छ) घट्नेछ र परीक्षणको मात्रालाई अझै बढाउन सक्नेछौं । उक्त पद्धतिमा ४५ मिनेटमा परीक्षणको नतिजा निकाल्न सकिन्छ ।
८. छुट्टै कोरोना अस्पतालको परिकल्पना । कोरोना संक्रमित र अन्य बिरामीको उपचार गर्न छुट्टाछुट्टै अस्पतालको व्यवस्था गर्ने ।
प्रोफेसर शर्मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्टर्नल मेडिसिन डिपार्टमेन्टका प्रमुख हुन् ।
