प्रधानमन्त्रीलाई गगनको प्रश्न- के सोचेर 'जीवन वा वैयक्तिक स्वतन्त्रता' मध्ये एक रोज्न आग्रह गर्नु भयो ? - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई गगनको प्रश्न- के सोचेर 'जीवन वा वैयक्तिक स्वतन्त्रता' मध्ये एक रोज्न आग्रह गर्नु भयो ? 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबारको राष्ट्रका नाममा संवोधनमाथि विभिन्न ११ वटा प्रश्नसहितको पत्र लेखेका छन् ।

उनले प्रधानमन्त्रीले प्रदर्शन गरेको आत्मविश्वासको प्रशंसा गर्दै सरकारले कोरोना रोकथाममा गरेका प्रयास, स्वास्थ्य सामाग्री खरिदमा सेनाको संगलग्नता र संवोधनमा प्रधानमन्त्रीले प्रयोग गरेको भाषाको भने आलोचना गरेका छन् ।

उनले सरकारले विभिन्न स्थानमा गर्ने भनेको र्‍यापिड टेस्टको प्रोटोकलदेखि किटको व्यवस्थासम्ममा प्रश्न उठाएका छन् । उनले यो संवोधन संसदमा भएको भए आफूले संसदमा नै प्रश्न सोध्‍ने थिएँ भन्दै संसद नभएकाले सामाजिक संजालबाहेक आफूसँग अरु माध्यम नरहेको पनि बताएका छन् ।

उनले पत्रमा प्रधानमन्त्री ओलीले संवोधनमा अहिलेको अवस्थामा जीवन र वैयक्तिक स्वतन्त्रतामध्ये एक चयन गर्न आग्रह गरेर अवाक् बनाइदिएको बताएका छन् । उनले लेखेका छन्- 'संकटको यस घडीमा सरकारको नेतृत्वलाई हामीले बलियो साथ दिने हो । त्यसका लागि विश्वासको वातावरण बनाउनु पर्छ, अप्रिय प्रश्न गर्ने र सहिष्णु जवाफ पाउने स्वतन्त्रता हुनुपर्छ । तर राज्यसँग थप जवाफदेहिताको अपेक्षा राखेर बाटो देखाउनु पर्ने यस्तो बेला जीवन र वैयक्तिक स्वतन्त्रताबीच चयन गर्ने आग्रह गरेर तपाईँले अवाक् बनाइदिनुभयो । के सोचेर 'जीवन वा वैयक्तिक स्वतन्त्रता' मध्ये एक रोज्न आग्रह गर्नु भएको हो ? के वैयक्तिक स्वतन्त्रता बिनाको जीवनको कल्पना गर्न सकिएला ? अनि के वैयक्तिक स्वतन्त्रता निलम्बित हुँदा जीवन बचाउने लडाइँ लड्न सजिलो हुने हो ?'


गगनले प्रधानमन्त्रीलाई लेखेको पत्र

सम्माननीय प्रधानमन्त्रीज्यूलाई सांसदको प्रश्न

सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रतिकूल स्वास्थ्यका बावजुद यो संकटको घडीमा देश विदेशमा छरिएर, सीमामा अड्किएर कष्टकर जीवन बाँचिरहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई ढिलै भए पनि ढाढस दिलाउने तपाईँको आत्मविश्वास प्रशंसनीय छ । तपाईँको सम्बोधन संसदको रोष्टमबाट हुन सकेको भए शायद मैले पनि त्यहीँबाट थप केही कुराहरु स्पष्ट पारिदिन आग्रह गर्ने थिएँ । तर, अहिले संसद नचलिरहेकोले तपाईँले बालुवाटारबाट संचार माध्यममार्फत बोल्नुभयो । मसँग पनि यो सम्वादका लागि सामाजिक सञ्जाल बाहेक अन्य माध्यम रहेन। सम्बोधनले केही जिज्ञासा उत्पन्न भएका छन्, जसलाई म संसदकै प्रश्नोत्तर शैलिमा राख्ने प्रयास गर्नेछु:

१. प्रधानमन्त्रीज्यूले 'सातै प्रदेशका १० परीक्षण केन्द्रमा PCR प्रविधिबाट र संक्रमणको उच्च जोखिम भएका जिल्लाहरूमा द्रुत परीक्षण (RDT) को माध्यामबाट हजारौंको परीक्षणको तयारी भइरहेको' भन्नुभएको छ, जुन सराहनीय छ । तर र्‍यापिड टेस्टको गुणस्तर र तयारीका सन्दर्भमा आमतहमा मात्र होइन विज्ञहरूले समेत व्यापक चिन्ता व्यक्त गरिरहेका छन् ।

-सरकारसँग यस्तो र्‍यापिड टेष्ट गर्ने किट र उपकरणको गुणस्तरको सुनिश्चितताको आधार के हो ?

-र्‍यापिड टेष्टको प्रोटोकल तयार छ कि छैन ?

-नमुना संकलन गर्ने विधि र प्रक्रिया कस्तो हुन्छ ?

-र्‍यापिड टेष्ट कहिलेदेखि कहाँ-कहाँ शुरु गर्ने योजना छ ?

-परीक्षणका लागि आवश्यक जनशक्ति, तालिम र सुरक्षाको तयारी कस्तो छ ?

२. कन्ट्याक्ट ट्रेसिङ र अभिलेख संकलनको अवस्था के छ ? यसका लागि के-कस्तोप्रणाली बनाइएको छ ? संकलन गर्ने टिम कति छन् ? तिनलाई के-कस्तो तालिमदिइएको छ ? विभिन्न स्थानबाट संकलन गरिएको तथ्याङ्कमा एकरुपता छ कि छैन ? त्यस्तो तथ्यांक विश्लेषण तथा तथ्याङ्कको प्रयोग गर्न सक्ने संयत्रके-कस्तो छ ?

३. प्रधानमन्त्रीज्यूले 'नेपाल-भारत सीमामा रहेका नेपालीलाई सिमापारी नै क्वारेन्टिनमा राखिएको' भन्नुभयो । तर अहिले पनि सीमामा अलपत्र हजारौं नेपाली भोक, त्रास र अपहेलनाले अपमानित र आक्रोशित अवस्थामा छन् । एउटै हलमा पचासौंको संख्यामा कोचिएर बस्नुलाई ‘सुरक्षित क्वारेन्टिन" ठान्न अस्वीकार गर्दै प्रत्येक दिन सयौंको संख्यामा जोखिमपूर्ण ढंगले जसरी तसरी नेपाल छिरेर दूरदराजका गाउँसम्म पुगिरहेका देशवासीका बारेमा प्रधानमन्त्रीज्यू शायद जानकार हुनुहुन्न।यसरी जोखिम उठाउने बाध्यता उनीहरूको लागि अन्याय मात्र होइन, लुकिछिपी आँउदा हाम्रो संयन्त्रले आवश्यक सूचना नै नपाउने हुँदा नेपालभित्र संक्रमणको जोखिम समेत झन बढ्दैन र ? सीमामा रोकिएर अमानवीय परिस्थित सामना गरिरहेका वा अवैध ढङ्गले आफ्नै देश छिर्न ज्यान जोखिममा पारिरहेका नेपालीलाई सीमित नाकाखुला गरेर भित्र्याउँदै अनिवार्य क्वारेन्टिनमा बस्ने प्रबन्ध गर्ने बारे नेपाल सरकारले नसोचेको हो वा नचाहेको हो? होइन भने तपाईँकै भनाइ अनुसार क्वारेन्टिनका लागि देशमा ३० हजार बेड उपलब्ध छ, जसमध्ये हालसम्म ९ हजारमात्र प्रयोगमा आएको छ। त्यसो हो भने सीमामा अड्किएका जम्मा तीन हजार दाजुभाइ दिदीबहिनीलाई भित्र ल्याएर क्वारेन्टिनको न्यानो र सुरक्षा किन नदिने ? अभर पर्दा हामीलाई हेर्ने सरकार छ भन्ने अनुभूति किन नदिलाउने ?

. नेपाल-भारत सीमाबाहेक पनि हजारौंको संख्यामा नेपालीहरु भारतका विभिन्न स्थानमा अलपत्र परेर कठीन जीवन बिताउन बाध्य छन् । यसरी अलपत्र परेका अधिकांश नेपालीहरु भारतको लकडाउन सकिने बित्तिकै नेपाल छिर्ने निश्चित छ। यसरी निकट भविष्यमै ठूलो संख्यामा नेपाल भित्रिन सक्ने नागरिकहरूको व्यवस्थापनका सन्दर्भमा नेपाल सरकारको तयारी र योजना के छ?

५. सम्माननीय राष्ट्रपतिज्यू तथा प्रधानमन्त्रीज्यूले अन्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग गरेको वार्ताको कुटनैतिक महत्व अवश्य पनि छ तर उनीहरू आफैं महासंकटसँग जुधिरहेको अवस्थामा हाम्रा नागरिकको सुरक्षा तिनको प्राथमिकतामा पर्दैन । विभिन्न राष्ट्रहरुमा रहेको नेपाली दुतावासहरुले रोजगारीको सिलसिलामा सुदूर प्रवासमा रहेका लाखौं नेपालीहरुको सुरक्षार्थ के-कस्तो योजना र व्यवस्थाका साथ काम गरिरहेका छन्?

६. प्रधानमन्त्रीज्यूले 'सातै प्रदेशमा उपचारमा आवश्यक पर्ने सुरक्षासामग्रीको व्यवस्था मिलाइएको' भन्नु त भयो तर अग्रभागमा रहेर जोखिममा काम गरिहेका धेरै स्वास्थ्यकर्मीले अहिले पनि न्यूनतम सुरक्षा सामाग्री नपाएका समाचारले हाम्रो मिडिया भरिएको छ । व्यक्तिगत सुरक्षा सामाग्री(PPE) उपलब्धतताको स्थिति कस्तो छ, कति जगेडा छ, कहिलेसम्म धान्छ ? कति मात्रामा संकलन वा खरिद वा उत्पादन गर्ने योजना सरकारले गरेको छ?

७. प्रधानमन्त्रीज्यूले 'भेन्टिलेटर सहित अपुग सामाग्री र उपकरणको प्रबन्ध गरिँदै छ' भन्नुभएको छ । सम्भाव्य जोखिमलाई मध्येनजर गर्दै अस्पताल केन्द्रित तयारीका लागि काठमाडौं उपत्यका र प्रदेशहरूमा जनशक्ति, उपकरण, औषधि र पूर्वाधार लगायतका सन्दर्भमा सरकारले कहाँ कहाँ के कस्तो प्रबन्ध गरिरहेको छ ? हाम्रो नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा अन्य रोगबाट पीडितहरूले उपचारबाट बञ्चित हुने अवस्था आउन नदिन सरकारको के तयारी र योजना छ ?

८. स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मीहरु पनि अग्रभागमा रहनु पर्ने अवस्थाछ । सुरक्षाकर्मीहरुको जीवन र वासस्थानको सुरक्षाका सन्दर्भमा सरकारलेके-कस्तो योजना र व्यवस्था गरेको छ ?

. सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको र अवलम्बन गरेको भन्नुभयो ? यो कस्तो उपाय हो र कहाँ र कसरी अवलम्बन भएको छ ?

१०.सरकार राज्यका विभिन्न संयन्त्रहरुको तर्कसंगत उपयोग गर्ने मामिलामा पनि चुकेको छ । विपदको यो अवस्थामा सैन्य संयन्त्रको विशेषज्ञता, निपुणतातथा जिम्मेवारी पनि रहेको क्षेत्रमा त्यसलाई उपयोग नै गरिएन । तर भरसक सहभागी नै गराउन नहुने खरिद प्रक्रियामा भने सेनाको सहयोग मागिएको छ। स्वास्थ्य सामाग्री खरिद प्रकरणमा देखिएको कमजोरी र अनियमिताका कारण यो संकटमा हामीले गर्नुपर्ने तयारी प्रभावित भएकोमा जनताद्वारा व्यक्त व्यापक चिन्ता र आक्रोश तपाईंका लागि आधारहीन र प्रायोजित आरोप मात्र हुन्?

११. कोरोना भाइरस संक्रमणविरुद्धको यो लडाईंमा तपाईँले आम नागरिक, प्रतिपक्ष सबैको ठूलो साथ र सहयोग पाइरहनु भएको छ । तर पनि पूर्वाधार निर्माणमा भएको कमजोरीका कारण संक्रमण ढिलो सुरु भएर तयारीका लागि हामीले पाएको अमूल्य समय त्यसै खेर गएको छ । यी चुनौतीहरूको पहिचान गर्दै केही कुरामा सच्याएर अघि बढौं भन्दा ‘निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी र बेमौसमी बाजा' भनेर आक्षेप त लगाउनु हुन्न ?

अन्त्यमा,

प्रधानमन्त्रीज्यू, देशवासीको नाममा गरिएको सम्बोधनमा झल्किएको तपाईंको आत्मविश्वासको अनुपातमा स्वयं देशवासीमा भने यथेष्ट आशा र भरोसाको सञ्चार हुन सकेन। लकडाउनको निरन्तरताका लागि जनता त तयार छन्, तर दैनिक गुजारा गर्नुपर्ने नागरिकलाई उचित राहत दिँदै मुलुकलाई चाँडोभन्दा चाँडो यो लकडाउनबाट बाहिर निकाल्ने राज्यको तयारी भने शंकास्पद देखिएको छ।

मानव जातिमाथि नै जाइलागेको यो अदृष्य शत्रुसँग लड्न सम्पूर्ण प्रतिपक्ष, नागरिक समाज, सिङ्गो देशका जनताले सरकारसँग गरिरहेको हातेमालो, अभूतपूर्व समर्थन र ऐक्यबद्धतालाई उपेक्षा गर्दै सम्बोधनमा प्रयोग भएको असहिष्णु भाषाले सरकारले सहकार्य गर्न आवश्यक नठानेको नकारात्मक संदेश गएको छ । म फेरि दोहोर्याउछु, संकटको यस घडीमा सरकारको नेतृत्वलाई हामीले बलियो साथ दिने हो । त्यसका लागि विश्वासको वातावरण बनाउनु पर्छ, अप्रिय प्रश्न गर्ने र सहिष्णु जवाफ पाउने स्वतन्त्रता हुनुपर्छ । तर राज्यसँग थप जवाफदेहिताको अपेक्षा राखेर बाटो देखाउनु पर्ने यस्तो बेला जीवन र वैयक्तिक स्वतन्त्रताबीच चयन गर्ने आग्रह गरेर तपाईँले अवाक् बनाइदिनुभयो । के सोचेर 'जीवन वा वैयक्तिक स्वतन्त्रता' मध्ये एक रोज्न आग्रह गर्नु भएको हो ? के वैयक्तिक स्वतन्त्रता बिनाको जीवनको कल्पना गर्न सकिएला ? अनि के वैयक्तिक स्वतन्त्रता निलम्बित हुँदा जीवन बचाउने लडाइँ लड्न सजिलो हुने हो ? तपाईंले यसको पनि सन्दर्भ स्पष्ट पार्नु नै हुनेछ भन्ने अपेक्षा सहित,


- गगन कुमार थापा, प्रतिनिधिसभा सदस्य

मिति २०७६ चैत्र २६

प्रकाशित : चैत्र २६, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्

फुटबलले राेकिएकाे गृहयुद्ध

आइभरिकोस्ट आफैं अन्धकार युगबाट गुज्रिइरहेको थियो । सन् २००२ बाट सुरु भएको गृहयुद्धले पूरा देशलाई विभाजनको संघारमा पुर्‍याएको थियो ।तर फुटबलकाे सफलताले एउटा यस्ताे माेड ल्याइिदयाे ।
बीबीसी

यामोसोउक्रो — सुडानको दोस्रो ठूलो सहर ओमडुरमनको अल मेरिख स्टेडियम । यसलाई विश्वको सबैभन्दा राम्रो रंगशालामध्ये एक पक्कै भन्न सकिन्न । तर रेड क्यास्टल नामले चिनिने यो रंगशालासँग विश्व फुटबलको एक गज्जबको असाधारण कथा भने जोडिएको छ । 



सन् २००५ को अक्टोबर ८ । सन् २००६ को विश्वकपमा अफ्रिकी छनोटको समीकरण सामान्य थियो । इजिप्टलाई हरायो भने क्यामरुन छैटौंपल्ट विश्वकपको अन्तिम चरण पुग्थ्यो ।

जितबाहेकको विकल्पमा आइभरिकोस्टको भाग्य चम्किन्थ्यो । उसले क्यामरुनलाई उछिन्ने हुन्थ्यो । र, पहिलोपल्ट विश्वकप खेल्ने हुन्थ्यो । त्यो छनोट खेलिरहेको टिमलाई आइभरिकोस्टको फुटबलमा स्वर्णिम पुस्ता मानिन्छ । त्यसको नेतृत्व गरिरहेका खेलाडी थिए, डिडियर ड्रोग्बा । उनी मात्र होइनन्, टिममा लन्डनको इंग्लिस फुटबलमा उत्तिकै चम्किरहेका अन्य खेलाडी पनि थिए । जस्तै, कोलोउ टाउरे, इमानुल इबोउ र डिडियर जोकोरा ।

याया टाउरे भने त्यति बेला ग्रिसतिर खेल्थे, ओलम्पियाकोजका लागि । उनी भर्खरै लय समात्ने क्रममा थिए । यो यस्तो टिम थियो, जसले अफ्रिकी फुटबलमा आफूले चिताएको नतिजा निकाल्न सक्थ्यो । छनोटमा भलै आइभरिकोस्ट क्यामरुनको हातबाट दुईपल्ट पराजित रह्यो, तर उसले पक्कै पनि बेजोड चुनौती पेस गरिरहेको थियो । सुडानको त्यो दिनको फुटबलमा सबै खाले सम्भावना खुला थियो । आइभरिकोस्टको फुटबल अद्वितीय इतिहास चुम्ने संघारमा थियो ।

तर आइभरिकोस्ट आफैं भने अन्धकार युगबाट गुज्रिइरहेको थियो । सन् २००२ बाट सुरु भएको गृहयुद्धले पूरा देशलाई विभाजनको संघारमा पुर्‍याएको थियो । राष्ट्रपति लुरेन्ट जिबागबोको पकडमा देशको दक्षिणी भाग थियो अनि विद्रोहीको नियन्त्रणमा उत्तरी भाग । विद्रोहीलाई भनिन्थ्यो, आइभरिकोस्टको नयाँ शक्ति र त्यसको नेतृत्व गरिरहेका थिए, गुलुमे सोरोले । त्यो वर्षको सेप्टेम्बर १९ बाट गृहयुद्ध सुरु भएको थियो । विद्रोहीले चौतर्फी आक्रमण प्रयास गरेको थियो ।

सेवास्टिन जिनाहोरे । उनी पूर्व फुटबल खेलाडी हुन् । गृहयुद्ध सुरु भएपछि उनी देश छाड्न बाध्य भए । उनी ती दिन सम्झेर भन्छन्, ‘स्थिति निकै नाजुक थियो । जति बेला मैले आफ्नी दिदीलाई फोन गरेको थिएँ, मैले उनको स्वरमात्र होइन, गोलीको आवाज पनि सुनिरहेको थिएँ । पूरा परिवार चार दिन एउटै खाटमुनि लुकेर बसेका थियौं । खाली खाना खोज्न मात्र बाहिर निस्कनुपथ्र्योे । त्यो बेला मेरो चिन्ता भनेकै परिवारका सबै सदस्यलाई केही नहोस् भन्ने मात्र थियो ।’

त्यो सुरुआती भिडन्त लामो समय टिकेन । दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा पकड बलियो बनाउने प्रयास गरेका थिए । सन् २००४ सम्म आउँदा गृहयुद्ध लगभग समाप्त हुने स्थितिमा थियो, तर सन् २००५ आइपुग्दा नपुग्दै तनाव फेरि बढ्न थाल्यो । फेरि एकपल्ट यो दक्षिण अफ्रिकी देशको भविष्य अन्धकारजस्तै देखिन थालेको थियो । आफ्नो देशमा के भइरहेको थियो, ती आधुनिक फुटबल खेलाडीले त्यसलाई निरन्तर पछ्याइरहेका थिए नै ।

ती खेलाडी धनी पनि थिए । देश जुन स्थितिबाट गुज्रिइरहेको थियो, त्यसमा उनीहरूले केही गर्न सकिरहेका थिएनन् । तर एउटा तथ्य उनीहरूलाई के राम्रोसँग थाहा थियो भने फुटबल मैदानबाट निस्कने एउटा उपलब्धिले यो सबै स्थिति परिवर्तन गर्न सक्छ । सन् २००४ मा ड्रोग्बा इंग्लिस क्लब चेल्सी आएका थिए, २ करोड ४० लाख पाउन्डको छेउछाउमा । उनले त्यहाँ ९ वर्ष बिताए । इंग्लिस प्रिमियर लिगमा बिताएको त्यो समयका धेरै विशेषता रहे ।

जस्तो, उनी प्रभावशाली रहे । सेन्ट्रल फरवार्डका रूपमा उनको खेल बेजोड थियो । उनका केही व्यवहार खेलाडीको जस्तो पनि रहेन, त्यसैले विवादमा पनि फसे । तर एउटा तथ्य के निश्चित थियो भने ड्रोग्बालाई मन पराउन सकिन्छ वा मन नपराउन पनि । तर उनको योगदान नकार्न भने सकिन्न । उनले हात पारेका उपलब्धि आफैंमा ठूलो थियो । चार लिग उपाधि, चार एफए कप, तीन लिगकप अनि एक युरोपेली च्याम्पियन्स लिग उपाधि थिए ।

ड्रोग्बा खेलेका दिन, अधिकांस समय आर्सनलका लागि खराब दिन साबित भयो । त्यसैले त्यो बेलाका आर्सनल व्यवस्थापक आर्सन वेंगर भन्थे, यी खेलाडी विजेता हुन् । उनी वास्तवमै विजेता खेलाडी थिए, तर अक्टोबरताकाको एउटा खेलमा उनीमाथि असाध्यै धेरै दबाब थियो । र, यो सर्वथा फरक पनि थियो । याउन्डेमा क्यामरुन र इजिप्टको खेल अनि यता आइभरिकोस्ट र सुडानबीचको खेल एकै समय सुरु भएको थियो । आइभरिकोस्टलाई राम्रोसँग थाहा थियो, सबैभन्दा पहिले यो खेल नै जित्नुपर्छ ।

सुडानी टिम कमजोर नै थियो । आइभरिकोस्ट विजयी रह्यो । अरुना डिडानेले तीन गोल गरेका थिए । सुडानले खेलको अन्त्यतिर फर्काएको एक गोलको केही अर्थ रहेन । अब त्यस सहरको १ हजार ६ सय माइल पर याउन्डेमा सबैको नजर थियो । त्यहाँ २० औं मिनेटमा क्यामरुनले अग्रता लिए पनि इजिप्ट कमजोर टिम थिएन । टोलीले ७९ औं मिनेटमा बराबरी गोल फर्कायो । खेल १–१ को स्थितिमा आयो र परिस्थिति आइभरिकोस्टको पक्षमा मोडियो ।

आइभरिकोस्टको ड्रेसिङ रूममा ड्रोग्बा बीचमा थिए । उनलाई चारैतर्फबाट अरू खेलाडीले घेरिरहेका थिए । उनीहरू सबै रेडियोमा कमेन्ट्री सुनिरहेका थिए । खेल सकिन केही सेकेन्डमात्र बाँकी रहेका बेला क्यामरुनले अप्रत्याशित ढंगले पेनाल्टी पायो, यो वास्तवमै रेफ्रीको निकै नरम खाले निर्णय थियो । इन्ज्युरी समयको चौथो मिनेटमा क्यामरुनले पेनाल्टी पाएको थियो । प्रत्येक नाटकीय कथामा एउटा पक्षको मन छियाछिया हुन्छ नै । यो कथामा पनि केही फरक थिएन ।
पिएरे वोमेको पेनाल्टी प्रहार पोस्टमा ठोक्किएर बाहिरियो । क्यामरुनी खेलाडीले विश्वास नै गर्न सकेनन् । अधिकांशले अविश्वसनीय भावले आफ्नो मुख छोपिरहेका थिए । तर यता आइभरिकोस्ट भने पहिलोपल्ट विश्वकपमा छनोट भएको क्षण थियो, त्यो । त्यतिबेला पूरा आइभरिकोस्ट खुसी भएको थियो । सबैले बिर्से, राजनीतिक रूपमा यो देश विभाजित छ । अन्त्यमा आइभरिकोस्टका खेलाडीले सामूहिक प्रार्थना गरे, ड्रेसिङ रूममा । लगत्तै प्रत्यक्ष प्रसारण गरिरहेको टीभी पनि त्यहीं पुग्यो ।

खेलाडीहरू एकअर्कालाई काँधमा हात राखेर बेरिएका थिए । बीचमा थिए तिनै ड्रोग्बा । उनको नजिक क्यामरा पुग्यो अनि माइक्रोफोन । उनले बोल्न सुरु गरे, ‘आइभरिकोस्टका सबै महिला तथा सज्जनवृन्द । उत्तर, दक्षिण, मध्य र पश्चिम, आइभरिकोस्टमा सबैको समान अस्तित्व छ । सबै सँगै मिलेर खेल्न सक्छन् । विश्वकपमा छनोट पनि हुन सक्छन् । मलाई पूरा विश्वास छ, फुटबलको यो सफलताले हामीलाई एकताको सूत्रमा बाँध्नेछ ।’

उनले थपे, ‘हामी धेरैथोकमा धनी छौं, त्यसैले युद्ध हाम्रो विकल्प होइन । कृपया सबैले हतियार त्यागौं र चुनावमा भाग लिऔं ।’ त्यतिबेलासम्म आइभरिकोस्टमा पूरा खुसीयाली छाइसकेको थियो । इजिप्टको राजदूतावास बाहिर हजारौं जनता जम्मा भए र क्यामरुनलाई बराबरीमा रोकेकामा धन्यवाद दिए । त्यसको बिहान राजनीतिक स्थिति उस्तै थियो । देश अझै विभाजित थियो । तर केही दिनमै नाटकीय परिवर्तन सुरु भयो, ड्रोग्बाको भाषण बजेको बज्यै थियो टीभीहरूमा । चर्को दबाबपछि सरकार र विद्रोही एउटै टेबलमा आए र युद्धविराममा हस्ताक्षर भयो ।

– ओलिभर गुइबेर्टोउ

प्रकाशित : चैत्र २६, २०७६ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×