२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एक्लै काैशल निखार्दै सुवास

१३ औं दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण जितेका गल्फर सुवास तामाङ लकडाउन लागू भएदेखि गल्फ काेर्समा एक्लै अभ्यास गरिरहेका छन्
राजु घिसिङ

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण देश दुई सातायता लकडाउनमा छ । अत्यावश्यक सेवाबाहेक अरु कार्य ठप्प छ । सडक र मलहरू सुनसान छन् । चैतको सुरुबाटै सबै खेलका प्रतियोगिताहरू स्थगित भएका छन् । विश्वमै मानवीय जीवनलाई संकटमा पारेको यस बेला पनि नेपाली गल्फ खेलाडी सुवास तामाङले भने ट्रेनिङलाई निरन्तरता दिइरहेका छन् ।

एक्लै काैशल निखार्दै सुवास

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दुई स्वर्ण पदक जितेका उनी आफ्नो कौशल सुधार्नमै केन्द्रित छन् ।


सरकारले कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम राख्न भनेको छ र यसलाई पनि सुभाषले पालना गरिरहेका छन् । उनी एक वर्षयता नेपाली सेनाको खेलाडीको रूपमा प्रतिस्पर्धा गरिरहेका उनी गुहेश्वरीस्थित आर्मी अफिसर्स गल्फ क्लबमा आफ्नो ट्रेनिङ गर्छन् र यो लकडाउनको समयमा पनि यहीं अभ्यास गरिरहेका छन् । नेपालका नम्बर एक एमेच्योर गल्फर यही क्लबमै बस्छन्, सेनाको मेसमा खान्छन् । खेलाडीहरू घरमै सामान्य व्यायाम गरिरहेको यतिबेला उनी भने क्लब सेट लिएरै हरेक दिन निस्किरहेका छन् ।


प्रायजसो गल्फमा अभ्यास र प्रतियोगितामा तीन जनाको एउटा समूह बनाएर प्रतिस्पर्धाका लागि कोर्समा उत्रने गरिन्छ । ट्रेनिङमा पनि उस्तै हुने गर्छ । तर कोरोनाको त्रासमा लकडाउन सुरु भएयता आर्मी अफिसर्स गल्फ क्लबमा क्लब र बल लिएर कोर्सतिर लम्किने सुभाष एक्लो हुन् । उनी बिहान ९ बजेतिर खाना खान्छन् अनि १० बजे कोर्सतिर लाग्छन् । फर्किने बेला साँझको ५ बजिसकेको हुन्छ । यसबीच उनले करिब ७ सयपल्ट बल प्रहार गरिसकेका हुन्छन् ।


‘पहिलादेखि नै क्लबमै बस्छु,’ १७ वर्षे उनले भने, ‘पहिले पनि खासै बाहिरै निस्किँदैन थिए । लकडाउन हुनुभन्दा ४–५ दिनअघि एकपल्ट बाहिर गएको थियो । त्यसयता क्लबबाहिर निस्किएका छैनन् ।’ यी गल्फ खेलाडीको दैनिकी लकडाउनले के फरक पारेको छ ? ‘पहिलाजस्तो थियो, अहिले पनि उस्तै लाग्छ । खासै फरक पारेजस्तो लाग्दैन । किनभने काम परेको बेलामात्रै बाहिर निस्किने गर्थें,’ उनले भने, ‘लकडाउन सुरु भएदेखि कोर्स बन्द छ । त्यसैले बाहिरबाट क्लबमा कोही आउँदैनन् । यहाँ खेल्ने म एक्लै हो ।’


सरकारको निर्देशन र कोरोना संक्रमणबाट बच्ने उपायबारे सचेत रहेका उनी यसबेला ‘शर्ट गेम’ मा केन्द्रित छन् ।


त्रिभुवन विमानस्थलको स्तरोन्नतिसँगै आर्मी अफिसर्स गल्फ क्लबको संरचना पनि फेरिएको छ । पुरानो कोर्सको पटिङ ग्रिन क्लबहाउस नजिकै रहेको छ । सुभाषको गल्फ कौशल बढाउने प्रयासमा दिन यहीं बितिरहेको छ लकडाउनमा । गल्फमा उनको उत्कृष्ट खेल विशेषगरी चिपिङ र पटिङ नै हो, जसलाई शर्ट गेम भनिन्छ । कोर्स बन्द भएकाले उनलाई ‘टी’ बाट ड्राइभ गर्ने अवसर भने छैन अहिले ।


‘चिपिङ र पटिङ नै गरिरहेको छु,’ सुभाषले भने, ‘दैनिक ७ सयजति बल हानिरहेको छु । शर्ट गेमलाई अझै राम्रो गर्ने प्रयास गरिरहेको छु ।’ ड्राइभिङ रेन्जबाट बल प्रहार गर्ने र शर्ट गेमको अभ्यास गर्नेबाहेक उनी लकडाउनपूर्व उनी हरेक दिन एक राउन्ड (१८ होल) पनि खेल्थे, जसलाई अहिले लकडाउनले चिपिङ र पटिङमै सीमित गरिदिएको छ । लजालु स्वभावका उनी गल्फबाहेक बाहिरी कुरालाई खासै वास्ता पनि गर्दैनन् । देशकै उत्कृष्ट व्यावसायिक गल्फर बन्ने उनले लक्ष्य बनाएका छन् ।


सूर्य नेपाल गल्फ टुर २०१९–२० को पाँचौं प्रतियोगिता काठमाडौं ओपन १८ चैतमा रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा सुरु हुने तय भएको थियो, जुन कोरोना त्रासको लकडाउनले स्थगित भएको छ । व्यावसायिक गल्फको यो प्रतियोगिताको लागि पनि सुभाष तयार थिए । उनले गत वर्ष सूर्य नेपाल गल्फ टुरको प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा व्यावसायिक खेलाडीहरूलाई पन्छाउँदै मुख्य उपाधि नै जितेका थिए ।


आरएनजीसीमा झन्डै सात वर्षअघि बलब्वाईको रूपमा प्रवेश गरेका सुभाषले फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको विजेताको रूपमा दुईपल्ट फाल्डो सिरिज ग्रान्ड एसिया फाइनल खेलिसकेका छन् । ललितपुर, लेलेका उनले १४ अन्डर २७४ स्कोर गर्दै गोकर्ण गल्फ क्लबमा भएको १३ औं सागमा गल्फको व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका थिए । उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा शुक्रबहादुर राई, टंकबहादुर कार्की र नीरज तामाङसहितको नेपाली टिमले सागको टिम स्पर्धा (पुरुष) मा पनि स्वर्ण हात पारेको थियो ।

प्रकाशित : चैत्र २६, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?