हातमा पन्जा छैन, २५ लाखको बिमा

प्रधानमन्त्रीले कोरोना महामारीका समयमा खटिने सफाइ मजदुरलाई पनि चिकित्सक सरह भत्ता र बिमा व्यवस्था गर्ने घोषणा गरे पनि अहिले अत्यावश्यक पन्जा पनि नदिइएको गुनासो
सीमा तामाङ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधनमा सफाइ मजदुरलाई पनि चिकित्सकसरह भत्ता र बिमा व्यवस्था गर्ने घोषणा गरे, जसअनुसार सफाइ मजदुरले पनि तलबको शतप्रतिशत भत्ता पाउनेछन् भने २५ लाख रुपैयाँको जीवन बिमा गरिनेछ ।

हातमा पन्जा छैन, २५ लाखको बिमा

प्रधानमन्त्रीले सम्बोधनमा भनेका थिए, ‘सफाइ कर्मचारीलगायत कोरोना भाइरसविरुद्धको उपचारमा संलग्न सबै श्रमिकको भूमिका चिकित्सकीय टिमका सदस्यसरह नै महत्त्वपूर्ण हुने हुँदा सोहीसरह भत्ता, बिमासहित सरकारले तपाईंहरूको सुरक्षाको बन्दोबस्त गर्छ ।’


प्रधानमन्त्रीबाट यो घोषणा हुनुभन्दा ५ घण्टाअघि मात्रै (बिहान ६ बजेतिर) संसद् भवनअगाडि मैयाँ बस्नेत हातमा पन्जा (ग्लब्स) बिनै सडक बढारिरहेकी थिइन् । दैनिक सफा गर्न हिँडे पनि सुरक्षा सामग्री नपाएको उनले गुनासो गरिन् । ‘जहिले सडकमा कुचो लगाउने, फोहोर टिप्ने गर्नुपर्छ तर अहिलेसम्म एउटा पन्जा पनि दिएको छैन,’ उनले भनिन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम कम गर्न सरकारले लकाडाउन गरे पनि फोहोर संकलन र नगरसफाइको काम रोकिएको छैन तर त्यस क्षेत्रमा काम गर्ने कर्मचारी तथा मजदुरका लागि सुरक्षा सामग्री पनि सम्बन्धित निकायले दिएको छैन । ‘कोरोनाको डरले अरू घरमै बस्छन्,’ उनले भनिन्, ‘डर भए पनि आफ्नो काम गर्नैपर्‍यो, हामीलाई सुरक्षा सामग्री दिए त डर कम हुन्थ्यो नि ।’


अर्का सफाइ मजदुर दिलबहादुर देउलाले पनि अहिलेसम्म कुनै सुरक्षा सामग्री नदिएको बताए । ‘मास्क आफैं किनेर लाउने हो,’ उनले भने, ‘एउटा पन्जा पनि दिएको छैन, अरूको के कुरा गर्नु ?’


सरसफाइमा आबद्ध सबै कर्मचारी तथा मजदुरको अवस्था उस्तै छ तर काठमाडौं महानगपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने सामान्य सुरक्षाका लागि सबै सामग्री उपलब्ध गराएको दाबी गरे । ‘मास्क र पन्जा दिएका छौं, दैनिक दिनुपर्ने भएकाले सकिएको हुन सक्छ,’ उनले भने, ‘आजै उनीहरूलाई दिन्छौं, भोलिदेखि कोही पनि सरसफाइकर्मी पन्जा र मास्कबिना काममा हिँड्दैनन् ।’ महानगरपालिकाले अब सरसफाइमा खट्ने सबैलाई व्यक्तिगत सुरक्षा कवच (पीपीई) समेत दिने तयारी गरिरहेको उनले बताए ।


सुरक्षा सामग्री अभावमा सफाइ मजदुर उच्च जोखिममा रहेको भन्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष टीकाराम दाहालले चिन्ता जनाए । ‘सरसफाइकर्मीलाई सामान्य सुरक्षा सामग्री मास्क, पन्जा दिएका छौं,’ उनले भने, ‘तर मजदुरका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री, जुत्ता, पन्जा र भाइरस छेक्ने मास्क दिन सके राम्रो हुन्थ्यो ।’ सीमित स्रोतसाधनका आधारमा सुरक्षा सामग्री वितरण गरे पनि सरकारले मजदुरहरूको वास्ता नगरेको उनले आरोप लगाए ।


सिठ्ठीको सट्टा ताली


जोखिमलाई ध्यानमा राख्दै संकलनको जनाउ दिन सिठ्ठीको सट्टा ताली बजाउन लगाइएको उनले जानकारी दिए । सिठ्ठी बजाउँदा मुखमा हात लैजानुपर्ने र मास्क पनि लगाउन नपाउने भएकाले सरसफाइ मजदुरलाई साइरन वा ताली बजाउन भनिएको हो । ‘पहिले फोहोर उठाउन जाँदा सिठ्ठी बजाएर जानकारी दिन्थ्यौं,’ उनले भने, ‘अहिले त्यसको साटो ताली र साइरन बजाउन लगाएका छौं ।’ लकडाउन भएसँगै केही दिन फोहोर उठाउनसमेत गाह्रो भएको उनले अनुभव सुनाए । त्यसपछि सम्बन्धित पालिकासँगको समन्वयमा कार्ड बनाइसकेपछि सरसफाइ कर्मचारीलाई सहज भएको छ ।


काठमाडौं उपत्यकाबाट दैनिक १४ सय टन फोहोर संकलन हुन्छ । पहिले फोहोर छुट्याएर संकलन गरिने भए पनि अहिले सबै फोहोर एकै ठाउँमा सकंलन हुुने गरेको उनले जानकारी दिए । कोरोना प्रभावका कारण मजदुरको संख्या घटेको र फोहोर छुट्याउन अझै जोखिपूर्ण रहेको उनको भनाइ छ ।


फोहोरमैला जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने सरसफाइकर्मीलाई काम गर्ने सहज वातावरण नभएको फोहोरमैला व्यवस्थापन संघका निवर्तमान अध्यक्ष वासु उप्रेती बताउँछन् । उपत्यका सफा हुनुमा सरसफाइ कर्मचारी र सडकमै गएर कागज, बोटल उठाउनेको हात रहेको बताउँदै उप्रेतीले उनीहरूका लागि सरकारी तथा गैरसरकारी संस्थाले एक महिनाको खाद्यान्न, सुरक्षा तथा स्वास्थ्योपचार सेवा दिनुपर्ने सुझाए । सरसफाइ कर्मचारीको सुरक्षाको जिम्मेवारी लिन नसके भोलि सडकमा फोहोर थुप्रिने र त्यसले अर्को महामारी निम्त्याउन सक्ने उनले चेतावनी दिए ।


उपत्यकामा संकलित सबै फोहोर लैजाने सिसडोल ल्यान्डफिल साइट आसपासका बासिन्दाले फोहोरसँगै संक्रमण भित्रिन सक्ने भन्दै विरोधसमेत गरेका थिए ।


लकडाउनपछि चार दिन फोहोर ढुवानीमा समेत रोक लगाए । अहिले बिहान २ देखि ७ बजेसम्म मात्र फोहोर ल्याउन दिइएको सिसडोलका स्थानीय श्यामलाल बलामीले बताए ।


पीपीई दिने तयारी


काठमाडौं र कीर्तिपुर नगरपालिकासँगको साझेदारीमा गैरसरकारी संस्था गुथीले पाँच सय सफाइकर्मीका लागि पीपीई उपलब्ध गराउने भएको छ । वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा उपलब्ध हुने सामग्रीको नमुना गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए । पीपीई सेटमा गाउन, चस्मा, पन्जा एक जोर, बुट एक जोर, मास्क तीन थान, एक सय एमएलको सेनिटाइजर र एक/एक वटा साबुन, रुमाल, बाल्टिन र मग हुनेछ ।


शाक्यले सरसफाइमा खटिने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर पीपीई बाँडिने जनाए । ‘पहिले हामी औषधि छर्कने, ल्यान्डफिल साइट र अस्पतालजन्य फोहोर संकलनमा खटिने ५० जनालाई दिन्छौं,’ उनले भने, ‘यसका लागि वातावरण व्यवस्थापन विभागबाट काम सुरु भइसकेको छ ।’ कोभिड महामारीको यो समयमा अत्यावश्यक सेवामा काम गर्नेका लागि सरकारले २५ लाख रुपैयाँको बिमा गरिसकेको उनले जानकारी दिए ।


काठमाडौं महानगरमा मात्रै करिब ९ सय ५० सरसफाइ कर्मचारी कार्यरत छन् । फोहरमैला व्यवस्थापन संघ नेपालको तथ्यांकअनुसार उपत्यकामा ६५ वटा सरसफाइ कम्पनीअन्तर्गत २ हजार ५ सय सरसफाइकर्मी काम गर्छन् ।

प्रकाशित : चैत्र २६, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?