बेइजिङ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल(इपिसेन्टर) मानिएको चीनको वुहानमा बुधबारदेखि लकडाउन हटाइएको छ ।
डिसेम्बरको अन्तिममा हुबेई प्रान्तको राजधानी वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । कोरोना भाइरसको संक्रमण अन्यत्र फैलिन नदिनका लागि भन्दै चीनले गत जनवरी २३ मा वुहानलाई लकडाउन गरिएको थियो । बुधबारदेखि वुहानका नागरिक चीनको अन्य ठाउँ जान पाउने भएका छन् । वुहानका रेल्वे अधिकारीहरुका अनुसार बुधबार मात्रै ५५ हजारभन्दा बढी यात्रु रेलमार्फत वुहानबाट यात्रा गर्दैछन् ।
तस्बिर : सिन्ह्वा
७६ दिनपछि वुहानको सीमा खुलाइए पनि केही प्रतिबन्ध भने कायमै हुने चिनियाँ अधिकारीले जनाएका छन् ।
कोरोना संक्रमण नियन्त्रणउन्मुख हुँदै गएपछि चीनको जनजीवन सामान्यतर्फ गएको छ । इपिसेन्टर नै मानिएको वुहानमा लकडाउन हटाइएपछि चीनको जनजीवन पूर्ववत् अवस्थामा फर्किएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । याङ्त्सी नदीको किनारमा रहेको औद्योगिक हब मानिने वुहानमा मात्रै कोरोना भाइरसको संक्रमणबाट २ हजार ५ सयको मृत्यु भएको थियो ।
तस्बिर : सिन्ह्वा
त्यस्तै वुहानमा मात्रै ५० हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पुष्टि भएकोमध्ये ७७ प्रतिशत संक्रमण वुहानमा मात्रै भएको थियो । कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै चीनले करिब २ महिनासम्म वुहानका व्यावसायिक प्रतिष्ठान, यातायातका साधन बन्द गर्नुका साथै स्थानीयलाई तरकारी किन्नका लागि पसलसम्म जान पनि दिइएको थिएन ।
वुहानको दैनिकी सामान्य बनेपछिको दृश्य तस्बिर : सिन्ह्वा
अहिले विश्वका २ सयभन्दा बढी देशमा कोरोना संक्रमण फैलिइसकेको छ भने करिब १४ लाख व्यक्ति संक्रमित भएका छन् भने ८२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलमा सामूहिक फोटो खिचाउँदै स्वास्थ्यकर्मीहरु तस्बिर : रोयटर्स
वुहानबाट हान्कौ रेल्वे स्टेसनका लागि छुट्न लागेको रेलबाट बाहिर चियाउँदै एक प्रहरी तस्बिर : रोयटर्स
