लकडाउनपछि २७ सय विदेशी फर्किए

सरकारले लकडाउन सुरु गरेयता अमेरिका, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेलायत, मलेसिया, सिंगापुर, अस्ट्रेलियालगायत मुलुकले आफ्ना नागरिक फिर्ता लगेका छन्

चैत्र २६, २०७६

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरेको दुई सातामा भारतबाहेक एक दर्जनभन्दा बढी देशका करिब २७ सय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन् ।

आफ्ना नागरिक लानेमा अधिकांश युरोपेली मुलुक छन् । खाडी मुलुकले भने आफ्ना नागरिकलाई फर्काएका छैनन् । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन गरेको दिनबाट आइतबारसम्म करिब २७ सय विदेशी नागरिक चार्टर्ड वा अन्य विमानबाट बाहिरिएका छन् । नेपालले चैत ११ बाट मुलुकभर लकडाउनको घोषणा गरेको थियो । त्यसलगत्तै नेपाल घुम्न वा अन्य कामले आएका विदेशी आ–आफ्नो घर फर्कन चाहेका थिए । त्यसपछि ती विदेशीलाई सम्बन्धित मुलुकका नेपालस्थित दूतावास र सम्बन्धित मुलुकसँग सम्पर्क गरेर फिर्ता पठाउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।


आफ्ना नागरिक फिर्ता लग्ने मुलुकमा अमेरिका, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेलायत, मलेसिया, सिंगापुर, अस्ट्रेलियालगायत छन् । ‘युरोपेली युनियनभित्र रहेका मुलुकका नागरिक भने सबै एउटै विमानमा गएका थिए,’ महानिर्देशक केसीले भने । कुनै मुलुकले आफैं विमान लिएर आएका थिए भने कसैले अन्य मुलुकको विमान प्रयोग गरेर आफ्ना नागरिक लगेका थिए । अस्ट्रेलियाली नागरिकलाई भने नेपाल वायु सेवा निगमको जहाजले पुर्‍याइदिएको थियो ।

नेपालस्थित विदेशी दूतावासहरूले नेपाल सरकारसँगको सहकार्यमा आफ्ना नागरिकलाई काठमाडौं ल्याएर स्वदेश पठाएका हुन् । परराष्ट्र प्रवक्ता पौड्यालका अनुसार विदेशी दूतावासबाट आफ्ना नागरिकका बारेमा जानकारी आएपछि तिनको खोजी गरिएको थियो । ‘कोही ट्रेकिङ गएका थिए, कोही कतै घुम्न गएका थिए, सबैभन्दा पहिला त विदेशी नागरिक कहाँ छन् भन्ने ट्ेरसिङ गरेर पत्ता लगायौं । त्यसपछि एउटा फोकल बिन्दु जम्मा गर्‍यौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयसँग सहकार्य गरेर काठमाडौं ल्याएपछि उनीहरूलाई आ–आफ्नो मुलुकमा पठाउने काम भयो ।’



अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र नागरिकप्रति सरकारको चासो

सरकारले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र नागरिकमाथि कूटनीतिक माध्यममार्फत चासो र चिन्ता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको संकटको घडीमा अस्ट्रेलियामा रहेका नेपाली नागरिकको संरक्षण र सुरक्षा गर्न अस्ट्रेलियन सरकारलाई आग्रह गरेका छन् । आफ्ना अस्ट्रेलियन समकक्षी परराष्ट्रमन्त्री मरिस पेनसँग टेलिफोनमा वार्ता गर्दै मन्त्री ज्ञवालीले त्यहाँ रहेका नेपाली विद्यार्थीसहित नागरिकलाई संरक्षण र सुरक्षा दिन आग्रह गरेका हुन् ।

चार दिनअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आफ्नो नियमित पत्रकार सम्मेलनमा यदि अस्थायी भिसाबाहेकले आफूलाई यो अवस्थामा धान्न सक्ने अवस्था नभए घर फर्कन सुझाव दिएका थिए । उनले भनेका थिए, ‘हामी अहिलेको अवस्थामा विद्यार्थीलाई उल्लेख्य सहयोग गर्न असमर्थ छौं । त्यसैले आफ्नो देशमा सहज महसुस हुने विद्यार्थी र अस्थायी भिसामा रहेकाहरू फर्किन चाहन्छन् भने फर्किन सक्छन्,’ प्रधानमन्त्री मरिसनले भनेका थिए ।


मरिसनको उक्त भनाइ बाहिर आएसँगै भइरहेको अन्योललाई चिर्न नेपाल सरकारले परराष्ट्रमन्त्री ज्ञवालीमार्फत अस्ट्ेरेलियाली सरकारसँग त्यहाँ अध्ययनरत हजारौं नेपाली विद्यार्थी र नागरिकबारे चासो व्यक्त गरेको हो । परराष्ट्रमन्त्रीहरूबीच सोमबार बिहान वार्ता भएको थियो ।

उक्त अवसरमा अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपालको भूमिकालाई धन्यवाद दिइन् । केही दिनअघि नेपाल वायुसेवा निगमको विमान अस्ट्रेलियन नागरिक बोकेर गएको थियो । सोही अवसरमा भविष्यमा दुई मुलुकबीच हुन सक्ने सिधा हवाईसेवाका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसै अवसरमा नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध गाँसेको ६० वर्ष पुगेको र भविष्यमा परराष्ट्रमन्त्रीद्वयबीच छिट्टै वार्ता गर्ने विषयमा पनि छलफल भएको थियो ।

लकडाउनसीमानाकाकोरोना भाइरस

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully