२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लकडाउनपछि २७ सय विदेशी फर्किए

सरकारले लकडाउन सुरु गरेयता अमेरिका, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेलायत, मलेसिया, सिंगापुर, अस्ट्रेलियालगायत मुलुकले आफ्ना नागरिक फिर्ता लगेका छन्
जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरेको दुई सातामा भारतबाहेक एक दर्जनभन्दा बढी देशका करिब २७ सय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन् ।

लकडाउनपछि २७ सय विदेशी फर्किए

आफ्ना नागरिक लानेमा अधिकांश युरोपेली मुलुक छन् । खाडी मुलुकले भने आफ्ना नागरिकलाई फर्काएका छैनन् । अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन गरेको दिनबाट आइतबारसम्म करिब २७ सय विदेशी नागरिक चार्टर्ड वा अन्य विमानबाट बाहिरिएका छन् । नेपालले चैत ११ बाट मुलुकभर लकडाउनको घोषणा गरेको थियो । त्यसलगत्तै नेपाल घुम्न वा अन्य कामले आएका विदेशी आ–आफ्नो घर फर्कन चाहेका थिए । त्यसपछि ती विदेशीलाई सम्बन्धित मुलुकका नेपालस्थित दूतावास र सम्बन्धित मुलुकसँग सम्पर्क गरेर फिर्ता पठाउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।


आफ्ना नागरिक फिर्ता लग्ने मुलुकमा अमेरिका, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेलायत, मलेसिया, सिंगापुर, अस्ट्रेलियालगायत छन् । ‘युरोपेली युनियनभित्र रहेका मुलुकका नागरिक भने सबै एउटै विमानमा गएका थिए,’ महानिर्देशक केसीले भने । कुनै मुलुकले आफैं विमान लिएर आएका थिए भने कसैले अन्य मुलुकको विमान प्रयोग गरेर आफ्ना नागरिक लगेका थिए । अस्ट्रेलियाली नागरिकलाई भने नेपाल वायु सेवा निगमको जहाजले पुर्‍याइदिएको थियो ।

नेपालस्थित विदेशी दूतावासहरूले नेपाल सरकारसँगको सहकार्यमा आफ्ना नागरिकलाई काठमाडौं ल्याएर स्वदेश पठाएका हुन् । परराष्ट्र प्रवक्ता पौड्यालका अनुसार विदेशी दूतावासबाट आफ्ना नागरिकका बारेमा जानकारी आएपछि तिनको खोजी गरिएको थियो । ‘कोही ट्रेकिङ गएका थिए, कोही कतै घुम्न गएका थिए, सबैभन्दा पहिला त विदेशी नागरिक कहाँ छन् भन्ने ट्ेरसिङ गरेर पत्ता लगायौं । त्यसपछि एउटा फोकल बिन्दु जम्मा गर्‍यौं,’ उनले भने, ‘पर्यटन मन्त्रालयसँग सहकार्य गरेर काठमाडौं ल्याएपछि उनीहरूलाई आ–आफ्नो मुलुकमा पठाउने काम भयो ।’



अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र नागरिकप्रति सरकारको चासो

सरकारले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र नागरिकमाथि कूटनीतिक माध्यममार्फत चासो र चिन्ता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको संकटको घडीमा अस्ट्रेलियामा रहेका नेपाली नागरिकको संरक्षण र सुरक्षा गर्न अस्ट्रेलियन सरकारलाई आग्रह गरेका छन् । आफ्ना अस्ट्रेलियन समकक्षी परराष्ट्रमन्त्री मरिस पेनसँग टेलिफोनमा वार्ता गर्दै मन्त्री ज्ञवालीले त्यहाँ रहेका नेपाली विद्यार्थीसहित नागरिकलाई संरक्षण र सुरक्षा दिन आग्रह गरेका हुन् ।

चार दिनअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आफ्नो नियमित पत्रकार सम्मेलनमा यदि अस्थायी भिसाबाहेकले आफूलाई यो अवस्थामा धान्न सक्ने अवस्था नभए घर फर्कन सुझाव दिएका थिए । उनले भनेका थिए, ‘हामी अहिलेको अवस्थामा विद्यार्थीलाई उल्लेख्य सहयोग गर्न असमर्थ छौं । त्यसैले आफ्नो देशमा सहज महसुस हुने विद्यार्थी र अस्थायी भिसामा रहेकाहरू फर्किन चाहन्छन् भने फर्किन सक्छन्,’ प्रधानमन्त्री मरिसनले भनेका थिए ।


मरिसनको उक्त भनाइ बाहिर आएसँगै भइरहेको अन्योललाई चिर्न नेपाल सरकारले परराष्ट्रमन्त्री ज्ञवालीमार्फत अस्ट्ेरेलियाली सरकारसँग त्यहाँ अध्ययनरत हजारौं नेपाली विद्यार्थी र नागरिकबारे चासो व्यक्त गरेको हो । परराष्ट्रमन्त्रीहरूबीच सोमबार बिहान वार्ता भएको थियो ।

उक्त अवसरमा अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपालको भूमिकालाई धन्यवाद दिइन् । केही दिनअघि नेपाल वायुसेवा निगमको विमान अस्ट्रेलियन नागरिक बोकेर गएको थियो । सोही अवसरमा भविष्यमा दुई मुलुकबीच हुन सक्ने सिधा हवाईसेवाका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसै अवसरमा नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध गाँसेको ६० वर्ष पुगेको र भविष्यमा परराष्ट्रमन्त्रीद्वयबीच छिट्टै वार्ता गर्ने विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित : चैत्र २६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?