कोरोना प्रकोप : फ्रान्समा मृतकको संख्या १० हजार नाघ्यो

एजेन्सी

पेरिस — कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या फ्रान्समा ह्वात्तै बढेको छ । फ्रान्सेली सञ्चार माध्यमका अनुसार मंगलबार फ्रान्समा ६ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

कोरोना प्रकोप : फ्रान्समा मृतकको संख्या १० हजार नाघ्यो

फ्रान्समा हालसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या करिब १० हजार ३ सय ४३ पुगिसकेको छ । अधिकारीका अनुसार संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ ।


‘हामी यस महामारीको अन्त्यमा पुगिसकेका छैनौं,’ स्वास्थ्यमन्त्री ओलिभर भेरनले भने । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ६ सय ५ जनाको अस्पतालमा र २ सय २८ जना नर्सिङ होममा मृत्यु भएको हो । यो अघिल्लो दिनको तुलनामा १० प्रतिशतले उच्च हो ।


‘यो अझै टुंगिएको छैन । त्योभन्दा पनि यसको बाटो लामो छ । तथ्यांकहरूले यो देखाइरहेको छ,’ भेरनले भने, ‘घरैमा बस्नुस् र सरकारको प्रयासमा बल पुर्‍याउनुहोस् ।’ उनका अनुसार सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको संख्या भने १.३ प्रतिशतले मात्र बढेको छ ।


युरोपका सबैभन्दा बढी प्रभावित इटाली र स्पेनमा पछिल्लो समय संक्रमितको संख्या क्रमश: कम हुँदै गएको छ । केही दिनयता दुवै देशमा मृतकको संख्यामा कमी आएको जनाइएको थियो । तर सोमबार इटालीमा मृत्यु हुनेको संख्या केही बढेको छ ।


महामारीबाट युरोपमा मात्रै हालसम्म ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । सबैभन्दा बढी प्रभावित इटालीमा मृत्यु हुनेको संख्या १७ हजार एक सयभन्दा बढी छ । विश्वकै दोस्रो बढी प्रभावित स्पेनमा हालसम्म १४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।


कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म विभिन्‍न ४ वटा देशमा १० हजारभन्दा बढीको ज्यान गएको छ । मंगलबार बिहानसम्म अमेरिकामा १२ हजार ८ सय ९३, स्पेनमा १४ हजार ४५, इटालीमा १७ हजार २७ र फ्रान्समा १० हजार ३ सय ४३ को मृत्यु भएको छ । त्यस्तै बेलायतमा ६ हजार एक सय ७१ को मृत्यु हुँदा जर्मनीमा २ हजार १६ र चीनमा ३ हजार ३ सय ३७ को मृत्यु भएको छ ।


डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिक्सेनले अप्रिल १५ बाट प्राथमिक विद्यालयहरू खुला हुने घोषणा गरेकी छन् । उनका अनुसार संक्रमितको संख्या नबढेको तथा आम नागरिकले सामाजिक दूरी कायम गरेको खण्डमा मात्र यो सम्भव छ ।


अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले पनि प्रतिबन्धहरू हटाउने तथा अत्यावश्यकबाहेकका पसलहरू पनि इस्टरपछि हटाउनेबारे विचार गरिरहेको जनाएका छन् ।


आर्थिक सहयोग गर्न जर्मनी तयार

जर्मन चान्सलर एन्जेला मर्केलले कोभिड–१९ को महामारीले युरोपेली संघमाथि अभूतपूर्व चुनौती आइपरेको भन्दै संघमा आबद्ध देशलाई आर्थिक सहयोग गर्नका लागि आफ्नो देश तयार रहेको बताएकी छन् ।


‘यदि युरोप तयार छ भने जर्मनीले राम्रैसँग सहयोग गर्नेछ,’ मर्केलले भनिन् । उनको भनाइलाई कोभिड–१९ को महामारीबाट बढी प्रभावित दक्षिणी युरोपका देशबीच ऐक्यबद्धताका लागि आह्वानका रूपमा अथ्र्याइएको छ । उनका अनुसार ती देशमा जर्मनीले आपत्कालीन सेवा सुविधाको प्रवाह र अर्थतन्त्रको पुनर्निर्माणका लागि भूमिका खेल्नेछ ।

प्रकाशित : चैत्र २६, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?