मुलुकभरका क्वारेन्टाइन सुरक्षामा सेना परिचालन गरेर सडक र सीमामा प्रहरी र सशस्त्रको फौज खटाइएको हो ।
काठमाडौँ — लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी तैनाथ गरेको छ । वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा सुरक्षामा कडाइ गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को थप फौजलाई सीमा क्षेत्रमा तैनाथ गरिएको छ ।
‘लकडाउन थपिएसँगै आवतजावत माग गर्दै सीमा नाकामा भीड लाग्न सक्छ, त्यसप्रति सचेत भएर थप फौजलाई त्यसतर्फ केन्द्रित गरिएको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने । मुलुकभरका क्वारेन्टाइन सुरक्षामा सेना परिचालन गरेर सडक र सीमामा प्रहरी र सशस्त्रको फौज खटाइएको छ । चैत ११ देखि लागू गरिएको लकडाउनको पालना र सीमा हुँदै आवतजावत रोक्न थप फौज परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । भारतमा रोजगारी गरिरहेका नेपालीलाई समेत सरकारले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नेपाल प्रवेश गर्न दिएको छैन ।
उनीहरूलाई भारतीय भूमिमै क्वारेन्टाइनमा बस्न सरकारले आग्रह गरेको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले सरकारको पछिल्लो आदेशपछि ब्यारेकको रिजर्भ फौजलाई सीमा नाकामा खटाइएको जानकारी दिए । सीमामा कडाइ गर्न निर्देशन आएपछि थप फौजलाई परिचालन गरिएको उनले बताए । ‘कोरोनाविरुद्धको प्रतिकार्य योजना लागू र लकडाउन कार्यान्वयन गर्न सरकारले सीमा क्षेत्र लक्षित गरेर तैनाथी बढाउन निर्देशन दिएको थियो,’ प्रवक्ता श्रेष्ठले कान्तिपुरसँग भने, ‘सोही आधारमा थप २ हजार २ सय ८० सुरक्षाकर्मीलाई सोमबारबाटै नेपाल–भारत सीमामा खटाइएको छ ।’ खटाइएका थप जनशक्ति बाहिनी, तालिम केन्द्र, गण/गुल्मलगायत युनिटमा कार्यरत थिए ।
भारतीय सीमा जोडिएका १ सय १४ स्थानमा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको छ । अधिकांश बीओपीमा दरबन्दीअनुसार जनशक्ति नहुँदा सीमा व्यवस्थापन र सुरक्षामा केही कठिनाइ भएको छ । गृहले थपिएका जनशक्तिलाई अस्थायी युनिट खडा गरेर सीमाबाट मानिस आवतजावत हुन नदिन निर्देशन दिएको थियो । गृहको निर्देशनअनुसार स्थायी बीओपीमार्फत केही जनशक्ति र बाँकी सबै अस्थायी युनिट खडा गरी सीमा नाका निगरानीमा खटाइएको सशस्त्रले जनाएको छ । नेपाल प्रहरीले पनि प्रदेश, संघीय इकाई, जिल्ला तथा विभिन्न तालिम केन्द्रमा कार्यरत जनशक्तिलाई सीमा व्यवस्थापन र लकडाउन कार्यान्वयनमा केन्द्रित गर्न निर्देशन दिएको छ ।
प्रहरी प्रवक्ता एसपी उमेशराज जोशीले विदेशबाट आएर परिवारका सदस्यलाई कोरोना संक्रमण सारेको भेटिएपछि नाकाबाट मानिस भित्रिन नदिन थप सतर्कता अपनाइएको बताए । ‘सीमा क्षेत्रबाट भित्रिन नदिन थप कडाइ गरेका छौं, यसका लागि रिजर्भ फौजलाई समेत फिल्डमा तैनाथ गरिएको छ,’ एसएसपी जोशीले भने, ‘लकडाउन पालना र सीमा सिलको निर्णय कार्यान्वयनमा अन्य सुरक्षा निकायसँग पनि त्यत्तिकै समन्वय गरेर काम गरिरहेका छौं ।’
देशभर करिब ४७ हजार प्रहरी लकडाउन कार्यान्वयन र सीमा नाका सिल गर्न खटिएको उनले बताए । सशस्त्र प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार कोरोना संक्रमणविरुद्धका योजना कार्यान्वयनमा ७० प्रतिशतभन्दा बढी फौज फिल्डमा तैनाथ रहेको बताए । चैत ११ गतेदेखि लकडाउन भए पनि फागुन २५ गतेबाटै सरकारले नेपाल–भारत सीमा हुँदै आवतजावत गर्नेलाई ज्वरो नापेर मात्रै प्रवेश दिइएको थियो । तर चैत ११ गतेबाट सीमा हुँदै आवतजावत पूर्ण रूपमा निषेध गरिए पनि भित्री नाकाबाट ओहोरदोहोर हुने क्रम नरोकिएको सुरक्षा अधिकारीहरू बताउँछन् । ती नाकामा सुरक्षा पोस्ट नहुँदा ठूला तथा मध्यम नाका छलेर मान्छे ओहोरदोहोर हुने गरेको छ ।
हाल भारतसँग ३६ वटा मोटरेबल तथा १ सय ५० भन्दा बढी सानाठूला नाका छन् । ७३ नाकामा सुरक्षाकर्मीको उपस्थिति शून्यप्रायः छ ।
