चिनी, चिया, दाना र इँटा उद्योग सञ्चालन नरोकिने

गौरवकासहित सबै ठूला विकास आयोजनाको काम सुरु हुने
आवासीय श्रमिक र कर्मचारीलाई मात्र काममा लगाउन पाइने
एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने
बलराम बानियाँ

काठमाडौँ — सरकारले ‘लकडाउन’ का क्रममा समेत निश्चित मापदण्ड पूरा गर्न लगाई चार प्रकारका उद्योग र राष्ट्रिय गौरवसहित सबैजसो ठूला विकास आयोजना तत्काल सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रिय गौरवका चार ठूला आयोजनामा आंशिक रूपमा काम सुरु भएको छ । अन्य ठूला आयोजनाको कामसमेत सुरु गर्ने तयारी भएको विकासे मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

चिनी, चिया, दाना र इँटा उद्योग सञ्चालन नरोकिने



लकडाउनका क्रममा मुलुकमा औषधि, स्वास्थ्य सामग्री, खाद्यान्न, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा खानेपानीको अभाव हुन नदिन ती अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति गर्ने देशभरका उद्योग सञ्चालनमा ल्याएको सरकारले दोस्रो चरणमा थप उद्योग र ठूला विकास आयोजना सञ्चालन नरोक्न लागेको हो ।


मन्त्रिपरिषद्ले चैत २० मा लकडाउनमा उद्योग र ठूला विकास आयोजना सञ्चालनसम्बन्धी मापदण्ड बनाई कार्यान्वयनमा ल्याएको छ । निरन्तर काम भएका आयोजनामा मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भैरहवा र पोखरा क्षेत्रीय विमानस्थल छन् । तिनमा आवासीय श्रमिक परिचालन गरी काम भइरहेको छ । निर्माण सामग्री र कामदार अपुग भने रहेको आयोजनाहरूले बताएका छन् ।


पशुदाना, चिनी, चिया (चिया खेतीसहित) र इँटा उद्योगमा लाखौंको संख्यामा श्रमिक कार्यरत छन् । दाना अभावमा व्यावसायिक रूपमा पालिएका भैंसी, गाई, बाख्रा र कुखुरापालनमा समस्या भएपछि यससम्बन्धी उद्योग सञ्चालनमा ल्याउन लागिएको उद्योग मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । उद्योग सञ्चालनसँगै दाना अभाव नहुने ती अधिकारीको भनाइ छ ।

चिनी र चिया उत्पादन गर्ने उद्योग पनि सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले बताएका छन् । उत्पादित चिया र उखु खेती समयमै उपयोग नहुँदा खेर जाने अवस्था आएको थियो । इँटा उद्योग वर्षायाममा चलाउन नसकिने भएकाले अहिल्यै सञ्चालन गर्न दिन व्यवसायीहरूबाट माग आएको थियो ।


उद्योग मन्त्रालयले उद्योगहरूलाई पत्राचार गरी मापदण्डभित्र रही सञ्चालन गर्न आग्रह गरेको छ । सरकारले लकडाउनमा बन्द रहेको सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसमेत सञ्चालनमा ल्याउने भएको छ । १ देखि १० कक्षासम्मका लागि आवश्यक पाठ्यपुस्तक छाप्न केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । विद्यालयका लागि अझै ५० लाखभन्दा बढी पाठ्यपुस्तक छाप्न बाँकी छ ।


लकडाउन खुल्नासाथ नयाँ शैक्षिक सत्र सुरु हुन्छ । त्यति बेलासम्म सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याइसक्ने गरी केन्द्रले पाठ्यपुस्तक छाप्नेछ । उद्योग र विकास आयोजना सञ्चालनका लागि मन्त्रिपरिषद्ले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उद्योग सचिव चन्द्र घिमिरेले जानकारी दिए । उद्योग र विकास आयोजनाले आफ्ना लागि आवश्यक श्रमिक र जनशक्तिका लागि उद्योग या आयोजना परिसरभित्रै आवास र खानाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । ‘उद्योग र विकास आयोजना परिसरबाट श्रमिक र कर्मचारी बाहिर निस्कन पाउने छैनन्, बाहिरबाट कोही पनि उद्योग र आयोजनाभित्र प्रवेश गर्न पाउने छैनन्,’ उनले भने ।


मापदण्डमा उद्योग र विकास आयोजनाका कर्मचारी र श्रमिकले काम गर्दा एकअर्कोबीचको दूरी कम्तीमा ३ फिट राख्नुपर्नेछ । हरेक उद्योग र विकास आयोजनाले आफ्ना श्रमिक र कर्मचारीका लागि स्वास्थ्य मन्त्रालयले तोकेको ‘हेल्थ प्रोटोकल’ अनिवार्य लागू गर्नुपर्नेछ । सबै श्रमिक, कर्मचारीलाई अनिवार्य मास्क दिने, नियमित स्वास्थ्य जाँच तथा ज्वरो नाप्ने र सेनिटाइजरबाट हात धुने व्यवस्था मिलाउनुपर्नेछ । श्रमिक र कर्मचारीलाई सामान्य स्वास्थ्य समस्या देखिए पनि तुरुन्त अस्पताल लैजानुपर्नेछ । हरेक उद्योग तथा विकास आयोजनामा एम्बुलेन्स पनि तयारी अवस्थामा राख्नुपर्नेछ ।


प्रदेश सरकार र सम्बन्धित स्थानीय प्रशासन तथा जिल्ला स्वास्थ्य कार्यालयमार्फत ती उद्योग र विकास आयोजनामा हेल्थ प्रोटोकल पालना भए/नभएको नियमित अनुगमन गर्नुपर्ने व्यवस्था गरिएको छ । पालना नभएको पाइए प्रदेश सरकार, स्थानीय प्रशासनले कारबाही गर्न सक्नेछन् । उद्योग र विकास आयोजनामा २५ जनाभन्दा बढी भेला हुन नपाइने व्यवस्थासमेत गरिएको छ ।


यी विविध नियम पालना गर्नुपर्ने भएकाले ठूला आयोजनाहरूको निर्माण द्रुत गतिमा अघि बढ्न गाह्रो हुने विकासे मन्त्रालयका अधिकारीहरू बताउँछन् । त्यसैले ठूला आयोजनाको काम आंशिक रूपमा मात्र अघि बढ्न सक्ने उनीहरूको भनाइ छ । यिनै सर्तका कारण उद्योग सञ्चालनसमेत सहज नहुने उनीहरू बताउँछन् ।


मन्त्रिपरिषद्बाट पारित मापदण्ड र स्वास्थ्य मन्त्रालयले तोकेको हेल्थ प्रोटोकल पालना गरी उद्योग सञ्चालन गर्न चाहेमा अरूलाई समेत क्रमश: चलाउन अनुमति दिन सकिने उद्योग मन्त्रालयले जानकारी दिएको छ । लकडाउनको सुरुदेखि नै औषधि, स्वास्थ्य सामग्री, खाद्यान्न, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा खानेपानी उत्पादन र आपूर्ति गर्ने देशभरका सबैजसो उद्योग सञ्चालनमा छन् ।

प्रकाशित : चैत्र २५, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?