गौरवका ४ आयोजनामा निरन्तर काम

निर्माण सामग्री ल्याउन भने समस्या
धेरैजसो कामदार घर गएकाले सीमित जनशक्तिबाट काम हुँदै
विमल खतिवडा

काठमाडौँ — कोभिड–१९ को संक्रमण फैलिने त्राससँगै मुलुक लकडाउन भएका बेला पनि राष्ट्रिय गौरवका केही आयोजनाले सावधानी अपनाएर निर्माणलाई निरन्तरता दिएका छन् । गौरवका २२ आयोजनामध्ये चारवटा आयोजनाको काम भइरहेको छ । आयोजनास्थलमा भएका कामदार परिचालन गरी काम गरिरहे पनि निर्माण सामग्री ल्याउन भने समस्या भएको आयोजनाहरूले बताएका छन् ।

गौरवका ४ आयोजनामा निरन्तर काम

मेलम्ची खानेपानी आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा छिटफुट काम अघि बढिरहेको छ ।


आयोजनामा कार्यरत धेरैजसो कामदार घर गए पनि केहीले कामलाई निरन्तरता दिएका छन् । मेलम्चीमा अहिले बाँध र सुरुङ निर्माणको काम भइरहेको छ । यहाँ कार्यरत ४ सय कामदारमध्ये ७० जनाले काम गरिरहेका छन् । आयोजनाले असारमा काठमाडौंको सुन्दरीजलमा मेलम्चीको पानी झार्ने दाबी गरिरहेका बेला कोभिड–१९ का कारण कामको गति भने बढ्न सकेको छैन ।

‘सरकारले केही दिनअघि आयोजनामै रहेका कामदारबाट स्वास्थ्य सावधानी अपनाएर काम गर्ने भनेर गरेको निर्णयले केही सहज भएको छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘सरकारको निर्णयपछि रड, गिटी, बालुवा ढुवानी गर्न सहज भएको छ । काम रोकिएको छैन । वैशाख दोस्रो सातादेखि अलि सहज भयो भने हाम्रो योजना तलमाथि हुनेछैन, असारभित्रै सुन्दरीजलमा पानी झार्छौं । लकडाउन लम्बियो र अवस्था जटिल बन्यो भने गाह्रो छ ।’ आयोजनाका धेरैजसो कामदार घर गएका छन् । अवस्था सहज भए पनि कामदार आउन समय लाग्छ । ‘आएपछि पनि तुरुन्तै काममा लगाउन सकिँदैन,’ उनले भने, ‘१४ दिन क्वारेटाइनमा राखेर मात्र काम लगाउनुपर्छ ।’


आयोजनामा सुरुङ निर्माणको काम ८२ प्रतिशत सकिएको छ । अब गेट राख्ने काम मात्र बाँकी छ । ‘समग्रमा आयोजनाको काम ९६ प्रतिशत सकिएको छ,’ खत्रीले भने । चिनियाँ इन्जिनियर, प्रोजेक्ट म्यानेजर, सुपरभाइजरसहित ५० जनाको टोली फिल्डमै बसेर काम गरिरहेका छन् । काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित ०५५/५६ बाट यसको निर्माण थालिएको हो । आयोजनाका लागि चालु आवमा ७ अर्ब ३८ करोड ९५ लाख बजेट विनियोजन भएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि रोकिएको छैन । सरकारले लकडाउन गर्नु अघिल्लो दिनबाटै विमानस्थल लकडाउन गरेर काम जारी राखिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । विमानस्थलमा बाहिरबाट मान्छे आउन रोक लगाइएको छ । यहाँ नेपाली कामदार २ सय ६० जना थिए । त्यसमा १ सय ६० जना घर गए । ‘१ सय जना यहीँ काम गरिरहेका छन्,’ उनले भने, ‘खाद्यान्न लिन मात्र बाहिर जाने गरेका छौं । नत्र सबै भित्रै बसेर काम गरीरहेका छौं ।’ आयोजनामा चिनियाँ कामदार २ सय ७० जना छन् । आयोजनामा अहिले निर्माण सामग्रीको भने अभाव रहेको मुनकर्मीले बताए । पहिला ल्याइएको सामानबाटै काम भइरहेको उनले जानकारी दिए । ‘प्लास्टर र लाइटको काम सकिसकेको छ,’ उनले भने, ‘केबलिङ र पार्किङको काम पनि जारी छ ।’


आयोजनामा ५६ प्रतिशत काम सकिसकेको उनले बताए । अहिले सिमेन्ट नभएर मुख्य सडकबाट विमानस्थल जोड्ने सडक बनाउने काम रोकिएको छ । भारतबाट सिमेन्ट ल्याउनुपर्ने भए पनि कोभिड–१९ का कारण आउन सकेको छैन । निर्मणमा प्रयोग हुने केही सामान केरुङ नाकामा आएर रोकिएको छ । नाका बन्द भएकाले आउन नसकेको हो । ‘यसबारे प्रधानमन्त्री कार्यालयमा जानकारी गराएका छौं,’ मुनकर्मीले भने, ‘डेकोरेसन, इलेक्ट्रिक सामान र झ्यालढोका आउनुपर्ने हो, आउन सकेको छैन ।’ अहिले माटो काट्ने र फिलिङ गर्ने काम पनि भइरहेको छ । कामको गति कम छ, कामदार कम छन् । सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने गरी विमानस्थल निर्माणको काम सुरु गरिएको हो । यसको अनुमानित लागत २१ अर्ब ६० करोड छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि जारी छ । २७ जना चिनियाँ कामदार फिल्डमा रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘हामीलाई समस्या भनेको ढुंगा, गिटी, बालुवा र कामदारको हो,’ उनले भने, ‘हार्डवेयर सामग्री पनि ल्याउन गाह्रो भएको छ । त्यसैले सोचे जसरी काम हुन सकेको छैन ।’


अहिले धावनमार्गमा रनवे लाइट जडान गर्न पूर्वाधार तयार गर्ने, टर्मिनल भवनको बाँकी फिनिसिङ, मार्बल, टायल राख्ने र तारबार गर्ने काम जारी छ । ‘तर तोकिएकै समयमा काम सम्पन्न गर्न भने नसकिने भयो । लकडाउन कति लम्बिने हो भन्ने पनि थाहा छैन । अहिलेसम्म ९० प्रतिशत काम सकिसकेको छ । अब मुख्य रूपमा उपकरण जडान गर्ने काम बाँकी छ । उपकरण जडान गर्नासाथ ७ प्रतिशत प्रगति थपिन्छ ।’ सन् २०१५ बाट निर्माण सुरु भएको विमानस्थलको काम ३१ मार्च २०२० मा सक्ने लक्ष्य थियो । आयोजनाको अनुमानित लागत ३० अर्ब ४१ करोड छ ।

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम पनि जारी रहेको आयोजनाका प्रमुख कार्यकारी निर्देशक (सीईओ) विज्ञान श्रेष्ठले जानकारी दिए ।

आयोजनास्थलमा रहेका कामदार र प्राविधिकबाट कामलाई निरन्तरता दिइएको उनले बताए । ‘सामान्य अवस्थाको जस्तो तीव्र गतिमा काम त भएको छैन । तर गर्न सक्ने काम जारी छ,’ उनले भने, ‘नयाँ कामदार आउन भने समस्या छ ।’ आयोजनामा अहिले पेनस्टक पाइप जडानको काम भइरहेको छ । आगामी जुलाईदेखि आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ ।


सडक मार्किङ पनि धमाधम


लकडाउनका कारण काठमाडौं उपत्यकाका सडक खाली भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक मार्किङ गर्ने कामलाई तीव्र पारेको छ । मेटिएका जेब्रा क्रसिङ, सडक लेन र ट्राफिक संकेत मार्किङ गर्ने काम जारी छ । महाराजगन्ज–बालुवाटार, धुम्बाराही–हाडीगाउँ, थापाथली–माइतीघर र थापाथली–सिंहदरबार क्षेत्रका सडकमा मार्किङ गरिएको हो ।


‘कोरोनाको त्रास छ तर हामीले स्वास्थ्य सावधानी अपनाएरै काम गरिरहेका छौं,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘धेरै भीड गरेर काम गरिएको छैन । एउटा मेसिन छ, त्यसमा तीनजना कामदार काममा खटिने गरेका छन् ।’ उनका अनुसार मार्किङसँगै सडक उज्याला देखिएका छन् । सडक खाली छ ।


लकडाउनको मौकामा धमाधम सडक मार्किङ (तस्बिरहरू)


यो समयमा सकड कालोपत्रे गर्न पाए राम्रो हुने उनको भनाइ छ । तर कोभिड–१९ को संक्रमण फैलिने डरले कामदार जुटाएर काम गर्न समस्या छ । यति बेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ मार्किङ भएको ठाउँको अनुगमन गर्न आफैं पुग्ने गरेका छन् ।

प्रकाशित : चैत्र २४, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?