‘घरमा अन्‍न छैन, पसलले उधारो दिँदैनन्’

सुत्केरी र गर्भवतीहरूको बिजोग, मजदुरी गर्ने परिवार काम बन्द भएपछि भोकै

चैत्र २४, २०७६

हरिहरसिंह राठौर

मोरङ/धादिङ — विराटनगर महानगर–१२ बखरीस्थित सुकुम्बासी बस्तीकी अनितादेवी ऋषिदेव सुत्केरी भएको दुई साता हुँदै छ । पोसिलो खाना चाहिने बेलामै उनलाई पेट भर्ने सकस परेको छ । भएका खानेकुरा सकिएपछि शनिबार बिहान छिमेकीको घरबाट चामल र आलु मागेर ल्याई छाक टारेको उनले बताइन् । उनका पति सीतारामले मजदुरी गरेर खर्च जुटाउँथे । लकडाउन सुरु भएको अघिल्लो दिनदेखि उनी काममा जान पाएका छैनन् ।

मजदुरी चलेको बखत दिनमा ५ सय कमाइ हुन्थ्यो, दुई हप्तादेखि काम गर्न पाएका छैनौं,’ उनले भने, ‘वर्षभरि अलिकति बचत गरेर राखेको पैसा श्रीमती सुत्केरी हुँदा खर्च भयो । घरमा अन्न छैन, कसरी बाँच्ने होला ।’ काममा गइरहेका बेला स्थानीय पसलबाट उधारोमा सामान ल्याउने गरेका थिए । ‘पसलेले पनि उधारो दिन छाडे,’ उनले भने । 

छ महिनाकी गर्भवती चन्दादेवीको पनि उस्तै अवस्था छ । उनीसँगै ४ वर्षीया छोरा आभासले भरपेट खान पाएका छैनन् । पति चन्द्रकुमार ऋषिदेवले शनिबार बिहान नजिकैको किराना पसल सञ्चालकलाई हारगुहार गरेर चामल, आलु र सोयाबिन ल्याएर छाक टारेको बताए । राजमिस्त्रीको काम गरेर दैनिक ८ सय कमाउने गरेका उनको पनि दुई सातादेखि काम ठप्प छ । ‘सुको कमाइ छैन,’ उनले भने, ‘भोकै बस्‍ने अवस्था आयो ।’ उक्त सुकुम्बासी बस्तीका ३० घरधुरी र विराटनगर–१८ शिवटोलका ६० परिवारको अवस्था उस्तै छ ।

बखरीकी ५५ वर्षीया मलारी ऋषिदेवले राहतका लागि वडाध्यक्षले प्रत्येक घरपरिवारको नाम लेखेर लगे पनि हालसम्म फर्केर नआएको बताइन् । नाम संकलन गर्ने क्रममा १-१ वटा खानाको प्याकेट १०-१५ घरलाई वितरण गरेको उनले सुनाइन् । 

विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले वडा कार्यालयहरूले तथ्यांक संकलनमा ढिलाइ गर्दा राहत वितरणमा समस्या भइरहेको बताइन् । वडा २, , ४ र ७ को तथ्यांक संकलन भइसकेकाले आइतबारदेखि राहत दिन थालेको उनले बताइन् ।

गिट्टी नबिक्दा विस्थापित भोकै 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको सुकुम्बासी बस्तीमा ३९ घरकै महिलापुरुष छेउकै वरपीपलको छहारीमा गिट्टी कुटिरहेका छन् । भूकम्पपछि उत्तरी धादिङको लापा, झार्लाङलगायत जोखिमयुक्त बस्तीबाट सल्यानटार पौवाडिलमा आएयता उनीहरूको दैनिकी यस्तै थियो । लकडाउनले गिट्टी पनि बिक्री नभएको र ज्यालादारीमा गर्ने काम पनि नभएकाले भोकभोकै बस्‍नुपर्ने अवस्थामा पुगेको कान्छा तामाङले बताए ।

सल्यानटार बस्तीमा दैनिक ज्यालादारी, मेलापात गरेर गुजारा चलिरहेको थियो । अहिले सबै काम ठप्प छ, बाँकी सामान सकिँदै छ,’ धनमाया तामाङले भनिन्, ‘कुटेको गिट्टी पनि बिक्री भएको छैन, पहिला काम गरेको ज्याला पनि पाइएको छैन ।’ पालिकाभरिका मजदुरलाई राहत प्याकेज दिन लगत संकलनको काम भइरहेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले बताए ।

हरिहरसिंह

Link copied successfully