काठमाडौं असन, बांगेमुढा, ललितपुरको मंगलबजार, लगनखेल र भक्तपर नगरको भित्री बस्तीमा छिर्दा लाग्छ मुलुकमा लकडाउन छ र ?
काठमाडौँ — भक्तपुरबाट कोटेश्वर जाँदा आइतबार बिहान ६ बजे फाट्टफुट्ट मात्रै सवारी साधन चलेको छ । एम्बुलेन्स पनि हर्न नबजाई गुडिरहेको छ । कोटेश्वर चोकमा ट्राफिक प्रहरीले सवारीको पास भए नभएको जाँच गरिरहेको छ । काठमाडौं महानगरका सफाइ कर्मचारीहरू सडक छेउमा थुपारिएका फोहोर उठाइरहेका छन् । केहीले पन्जाबिनै सडक किनारा बढारिरहेका छन् ।
सवारी न्यून चले पनि कोटेश्वर–बानेश्वर सडकको दायाँ–बायाँ मर्निङ वाक गर्नेहरू भने बाक्लै छन् । हाम्रो यात्रा उपत्यकाको पुरानो बस्तीमा बिहान लकडाउनको पालनाको अवस्थाको रिपोर्टिङ गर्नु छ । हामी शंखमूल हुँदै मंगलबजारतर्फ लाग्यौं। बगलामखी मन्दिर बन्द गरिएको छ । भक्तजनले बाहिर पर्खालको गेटमै पूजा गरिरहेका थिए ।
ललितपुरमा महानगरपालिकाको फोहोर लिने गाडी टोल टोलमा पुगेको थियो । टोलवासी पनि फोहोर लिएर दौडेर गाडीसम्म आइपुग्थे । फोहोर लिन आउने पनि अरू बेला जस्तो सिटी बजाएका थिएनन् । गाडीको हर्नका आधारमा फोहोर लिएर आउँथे ।
ललितपुर दरबार स्क्वायर नपुग्दै तरकारी किन्नेको भीड नै थियो । जसरी सरकारले दूरी कायम गर्न बारम्बार प्रचारप्रसार गरिरहेको छ । यो नियम यहाँ लागू भएको थिएन । सडक किनारमा र ठेलामा तरकारी र फलफूल बेच्न राखिएको थियो । मर्निङ वाक गरेर फर्किने र घरबाट तरकारी किन्न जाने पनि यहीँ थुप्रिएका थिए । दरबार स्क्वायरमा भने फाट्टफुट्ट मात्रै मान्छे ओहोरदोहोर गरिरहेका थिए । मंगलबजार हुँदै लगनखेल जाने बाटो भने एकअर्कोलाई ठोक्किने दोहोरोलता थियो । समूह–समूह बनाएर स्थानीयको ओहोरदोहोर भइरहेको थियो । प्राय: सबैको हातमा तरकारी र खानेकुरा थियो । यहाँ पुगेपछि लाग्थ्यो– मुलुकमा लकडाउन छ र ? यसरी ओहोरदोहोर गर्नेमध्ये केही सुरक्षित तरिका अपनाउँदै मास्क र पन्जा लगाएका थिए । केहीले त मास्क पनि लगाएका थिएनन् । भित्री गल्लीमा त झन् सर्वसाधारणको आउजाउ बाक्लै थियो ।
हामीले फोटो खिच्दा कोही पन्छिन खोज्थे त कोही अगाडि नै आउँथे । लगनखेल बसपार्क नपुग्दैको चारदोबाटो (जहाँबाट कुमारीपाटी, बसपार्क, मंगलबजार र ग्वार्को जाने चोक) मा मासु र तरकारी किन्नेको घुइँचो थियो । पाटीमा कुखुराको मासु बेचिरहेका थिए । ठेला र भुइँमा भने तरकारी किन्नेको घुइँचो थियो । हामी त्यहीँ छँदा मोटरसाइकलमा दुई जना प्रहरी आए तर उनीहरूलाई हटाऊ भन्दै ग्वार्कोतिर लागे । प्रहरी आएको देखिनेबित्तिकै व्यवसायी ठेला धकेल्दै भाग्न थाले । भुइँमा थुपारेको तरकारी पोका पारेर भागे । प्रहरीले केही नगरेपछि भागेका पनि फर्किए । भीडभाड उस्तै रह्यो ।
हामीलाई यही बेलाको काठमाडौंको असन, इन्द्रचोक र वसन्तपुर दरबारमा पनि लकडाउनको अवस्थालाई कैद गर्नु थियो । भोटाहिटी हुँदै असन पुग्दा साढे ६ बजेको थियो । अन्नपूर्ण र गणेश मन्दिरमा पूजा गर्न थालीमा चामल र फूल लिएर श्रद्धालुको आउने र जाने क्रम चलिरहेको थियो । जसरी ललितपुरमा सडक र ठेलामा तरकारी राखेर भीडभाड थियो । असनमा भने थिएन । विगतमा सडकमा हुने तरकारी बजार आइतबार थिएन । तर असनको पसल भने खुलेको थियो । यहाँ सामान किन्ने र ओहोरदोहोर गर्ने भने बाक्लै थियो । बांगेमुढामा भने सडक पेटीमा तरकारी किन्नेको भीडभाड थियो । हामी बांगेमुढा हँुदै न्युरोडतिर लाग्यौं । जसरी भित्री सडकमा लकडाउनको बेवास्ता गर्दै भीडभाड थियो । विशालबजार अगाडि सालिकमा भने बाटोमा हिँड्नेलाई नियन्त्रणमा लिइरहेका थिए । घर बाहिर ननिस्कन र कोरोनाको चेतनामूलक सन्देश घन्किरहेको थियो ।
सडकको आधा भाग र फुटपाथमा डोरी टाँगेर सडकमा कामबिना टहलिन निस्केका, मर्निङ वाकमा निस्केका १५ जनालाई नियन्त्रणमा लिइएको थियो । यहाँ पुग्दा लाग्छ, काठमाडौं सुनसान छ । तर भित्री सडकमा मात्रै थाहा हुन्छ, लकडाउन छैन । विगतको जस्तै सहर खुला छ । तरकारी, खाद्यान्न किन्न होस् वा मर्निङ वाक गर्न पनि निस्कन पाइन्छ भन्ने जस्तै लाग्छ । यदि कोरोना संक्रमित व्यक्ति यो क्षेत्रमा पुगे कोही पनि सुरक्षित हुने छैनन् । वसन्तपुरमा भने सेनाको ब्यारेकभित्रको माटो र इँटा नौतले दरबार अगाडि ल्याउन सेनाका जवानहरू खटिएका थिए । कालभैरवमा पूजा गर्ने पनि उत्तिकै थिए । सेनाको गाडी पनि कोरोनाको चेतनामूलक सन्देश बजाउँदै गुडिरहेको थियो । तरकारी र खाद्यान्न किनेर घर फर्कने र किन्न जाने यहाँ पनि उत्तिकै थिए । वसन्तपुर क्षेत्र हेरेर फर्कंदै थियौं, रत्नपार्कमा त डीएसपीकै कमान्डमा प्रहरी सडकमा हिँड्नेलाई नियन्त्रणमा लिइरहेका थिए ।
महानगरीय आयुक्त कार्यालयका प्रवक्ता श्याम ज्ञवालीका अनुसार यसरी नियन्त्रणमा लिएकालाई तीन घण्टासम्म राख्ने गरिन्छ । रत्नपार्कमा पनि न्युरोडमा जस्तै डोरी टाँगेर घेराबन्दी गरेर राखिएको थियो । प्रहरी नियन्त्रणमा लिएकालाई छाडिदिन भन्दै एक महिला डीएसपीसँग बाझिरहेकी थिइन् तर प्रहरीले छाडेनन् । जसरी मूल सडकमा हिँड्नेलाई प्रहरी नियन्त्रणमा लिएर निश्चित समय राखेपछि मात्रै छाड्ने गरेका छन् तर भित्री सडकमा भने भीडभाड लकडाउन हुँदाको भन्दा बढी छ । किनभने लकडाउन नहुँदा बिहान सबै जना एकै पटक निस्कँदैन थिए ।
पास दिए पनि भीड उस्तै
भक्तपुर नगरको १० वटै वडामा खुला तरकारी बजारको स्थान तोकेको छ । दूरी कायम गर्न तरकारी पसलहरूमा गोलो घेरा लगाइएको छ । प्रहरीले किनमेल गर्न आउने उपभोक्तालाई दूरी कायम गर्न र अनावश्यक रूपमा घर बाहिर ननिस्किन माइकिङ गर्दै आग्रह गरिरहेको छ । नगरले अत्यावश्यक कामका लागि भन्दै प्रत्येक घरको एक जनालाई कार्ड (पास) वितरण गरेको छ । तर, स्थानीय बासिन्दाले न कार्डको सदुपयोग गरेका छन् न त दूरीको ख्याल राखेको पाइन्छ ।
आइतबार बिहान भक्तपुर नगरपालिका–९ याताछेंस्थित खुला तरकारी बजारमा तरकारी किनमेल गर्नेको भीड लागेको थियो । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सविन प्रधान उपभोक्ता र व्यापारीलाई दूरी कायम गर्न आग्रह गरिरहेका थिए तर भीडले उनको बेवास्ता गरिरहेको देखियो । एसपी प्रधान पूजा सामग्री बोकेर मन्दिर हिँडेकाहरूलाई घरमै पूजा गर्न आग्रह गरिरहेका थिए ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । लकडाउनको उल्लंघन गर्दै भक्तपुर नगरका कतिपय स्थानीय मर्निङ वाक जाने, मन्दिरमा पूजा गर्न जाने र किनमेलमा भीड गर्ने क्रम घटेको छैन । भक्तपुर नगरको तालाक्व, ग:हिटी, सूर्यविनायक नगरको सूर्यविनायक चोक, पाण्डुबजार, सल्लाघारीलगायत स्थानहरूमा पनि किनमेल गर्नेको भीड देखिन्छ ।
कोभिड–१९ संक्रमण रोक्न भक्तपुर–५ तौमढीस्थित भैरवनाथ मन्दिरमा पूजा नगर्न आग्रह गर्दै स्थानीय तह र प्रहरीको समन्वयमा मन्दिरलाई बाँसले बारेको छ । मन्दिरको घण्टालाई समेत छुन नदिन डोरीले बाँधेको छ । स्थानीय भक्तजन भने जबर्जस्ती मन्दिर छिर्ने गर्छन् । स्वास्थ्य सुरक्षाप्रति बेवास्ता गर्दै अनावश्यक रूपमा घर बाहिर निस्किएकाहरूलाई कारबाही गर्दै आएको प्रहरीको भनाइ छ ।
प्रहरीले अनावश्यक रूपमा घर बाहिर निस्किएकाहरूलाई आधा घण्टा उभ्याएर सजाय दिने गरेको एसपी प्रधानले बताए । तर स्थानीय बासिन्दाले अटेर गरिरहेका छन् । भक्तपुर नगरले खाद्यान्न, तरकारी एवं अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र दैनिक बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म समय निर्धारण गरेको छ ।
नगरपालिकाले लकडाउनका लागि राम्रो व्यवस्था गरे पनि स्थानीय बासिन्दाले त्यसको अटेर गर्दै बजारमा भीड गर्ने गरेका हुन् । कतिपयले मास्कको समेत प्रयोग गरेको पाइएन । सिद्धपोखरी, कमलपोखरीमा बिहानैदेखि मर्निङ वाक गर्न आउनेहरू र भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिँड्ने बाक्लै हुने गरेको स्थानीय बताउँछन् ।
तस्बिरहरु : दीपक केसी/कान्तिपुर
