हेटौंडा महानगरद्वारा ७५ लाखको राहत कोष स्थापना

चैत्र २४, २०७६

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहनागरपालिकाले कोरोना भाइरस (कोभिड- १९) प्रभावितका लागि राहत वितरण गर्न ७५ लाख रुपैयाँको कोष खडा गरेको छ । उपमहानगरले तत्काल राहत सामग्री खरिद गरेर वितरण गर्ने गरी कोष खडा गरेको हो ।

नेपाल बैंकमा खाता खोलेर ७५ लाख रुपैयाँको कोष खडा गरिएको र राहत सामग्री खरिद गरेर वितरणका लागि तयारी गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले राहत वितरण कार्यविधि– २०७६ पारित गर्दै लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने, अतिविपन्न, ज्याला मजदुरी गर्ने परिवारलाई राहत १९ वटै वडा कार्यालय मार्फत् वितरण गरिने मेयर महतले जानकारी दिए ।

कार्यविधिमा दैनिक ज्यालादारी गर्ने परिवारलाई १५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, एक प्याकेट नुन, चारवटा साबुनलगायतका सामग्री राखेर वितरण उल्लेख छ । राहत वितरणका लागि लक्षित वर्गको छनोट गर्न वडालाई निर्देशन दिइएको र वितरणको जिम्मेवारी पनि वडाका जनप्रतिनिधिमार्फत् गरिने मेयर महतले बताए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully