३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सेनाले अघि बढायो स्वास्थ्य सामग्री खरिद प्रक्रिया

विदेशस्थित नेपाली दूतावासमा सेनाद्वारा पत्राचार, स्वास्थ्य सामग्री ल्याउन छुट्टै खरिद व्यवस्था र गुणस्तर मापन समिति गठन गर्दै

काठमाडौँ — नेपाली सेनाले सरकारको निर्णयअनुसार स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाएको छ । सेनाले जीटूजी माध्यमबाट सामान खरिद गर्दा बढी मूल्य नहोस् भनेर विभिन्न मुलुकमा रहेका राजदूतावासलाई त्यहाँको मूल्यबारे बुझ्न पत्र पठाएको छ ।

सेनाले अघि बढायो स्वास्थ्य सामग्री खरिद प्रक्रिया

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दूतावासहरूलाई पत्राचार गरी जानकारी लिन थालेको बताए । ‘प्रधानसेनापतिले अबदेखि जीटूजी प्रक्रियामार्फत सामग्री खरिद गर्न र कुनै पनि एजेन्टमार्फत नल्याउन निर्देशन दिनुभएको छ, त्यसैले हामीले विदेशमा रहेका हाम्रा दूतावासको सहयोगमा खरिद प्रक्रियालाई अघि बढाउन भनेका छौं,’ उनले भने ।


प्रवक्ता पाण्डेका अनुसार विदेशस्थित नेपाली दूतावासहरूलाई पठाइएको पत्रमा उक्त मुलुकमा खरिद गर्दा पर्ने सामग्री र ढुवानी मूल्यको जानकारी पठाउन भनिएको छ । ‘हाम्रा केही सैनिक सहचारीमार्फत पनि दूतावासहरूमा सामग्री खरिद सम्बन्धमा कुरा अघि बढाइएको छ,’ पाण्डेले भने । उनले सेनाले गुणस्तरमा सम्झौता नगरीकन कम मूल्यमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याउने योजना बनाइरहेको बताए । पाण्डेले विदेशस्थित नेपाली दूतावासहरूले यसपटक सामान खरिदमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने जनाए । जुन मुलुकबाट सहज र कम मूल्यमा खरिद गर्न सकिन्छ, त्यहींबाट ल्याउने योजना छ ।


नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सर्वपक्षीय औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरिद व्यवस्थापन र गुणस्तर नियन्त्रण समिति गठन गर्ने भएको छ । सम्भाररथीको नेतृत्वमा छुट्टै खरिद व्यवस्थापन समिति गठन हुनेछ । यो समितिमा रक्षा, स्वास्थ्य तथा जनसंख्या, अर्थ, वाणिज्य तथा आपूर्ति, संसदीय मामिला तथा कानुन र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहनेछन् ।


प्रवक्ता पाण्डेले सार्वजनिक खरिद ऐनअनुसार खरिद व्यवस्थापन समितिले स्वास्थ्य सामग्री जीटूजी प्रक्रियामार्फत किन्ने जानकारी दिए । उनले सामग्री ल्याउँदा गुणस्तरमा हुन सक्ने समस्यालाई मध्यनजर राखेर विज्ञहरूको समिति बनाइने जानकारी दिए । उनका अनुसार विज्ञहरू सम्मिलित गुणस्तर मापन समितिले ठीक छ भनेपछि मात्र स्वास्थ्य सामग्री ल्याइनेछ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड नपुगेका सामान नल्याइने सेनाले जनाएको छ ।


अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको नेतृत्वमा रहेको कोडिभ–१९ विपत् व्यवस्थापन केन्द्रमा सेना, प्रहरी, सशस्त्र प्रहरी बल, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालयलगायतको टोली मिलेर मुलुकलाई आवश्यक स्वास्थ्य सामग्रीको सूची तयार भइरहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उक्त सूचीमा विदेशबाट ल्याउनुपर्ने र नेपालमा पाइने सामग्री पहिचान गरिनेछ । त्यसपछि आवश्यकता हेरी विदेशबाट तत्काल र केही समयपछि ल्याउन मिल्ने सामग्रीको सूची तयार गरेर ल्याउने योजना भइरहेको पाण्डेले जानकारी दिए ।


छाउनीमा २० आईसीयू बेड तयार

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा सेनाले २० आईसीयू बेड तयार गरेको छ । सरकारको निर्देशनअनुसार उक्त बेडहरू तयार गरिएको सेनाले जनाएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सेनालाई १० करोड रुपैयाँ दिएको थियो साथै सरकारले २० आईसीयू बेड पनि तयार गर्न भनेको थियो । सैनिक प्रवक्ता पाण्डेले सोही रकम प्रयोग गरेर छाउनी अस्पतालमा आईसीयू बेड तयार गरिएको बताए ।

बक्स:


टीकाटिप्पणीबारे जानकार छौं : सेना

सरकारले मन्त्रिपरिषद् बैठकमार्फत कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनालाई आवश्यक स्वास्थ्य सामग्री सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत खरिद गर्न निर्देशन दिएपछि आफूविरुद्ध भइरहेका आलोचनाबारे जानकार रहेको सेनाले जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आइतबार भिडियो कन्फरेन्समार्फत पत्रकार सम्मेलन गर्दै बाहिर भइरहेका टीकाटिप्पणीलाई जानकारीमा राख्दै नजिकबाट अवलोकन गरिरहेको बताएका हुन् ।


‘नेपाली सेना सविधानत: चल्ने संस्था हो । यसले मुलुकका ऐन, नियम र संविधानलाई पालना गर्छ । सरकारले दिएका निर्देशनहरूलाई पालना गर्न सेना तयार छ,’ उनले भनेका छन्, ‘सेना पनि सरकारको एक मुख्य अंग भएकाले सेनाले गरेका काम पनि सरकारले नै गरेको हो ।’


प्रवक्ता पाण्डेले मुलुकमा समस्या पर्दा सेनाले नागरिकको सहयोग गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय सुरक्षाको बृहत् घेराभित्र नागरिकको सुरक्षा पनि रहेको बताए ।

प्रकाशित : चैत्र २४, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?