नेपालमा कोभिड–१९ भाइरस रोगको परीक्षण, रोकथाम तथा उपचारका लागि आवश्यक सामग्री अभाव हुन सक्ने
काठमाडौँ — आन्तरिक र विश्वभर नै कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलन थालेपछि बिरामीको स्वास्थ्य परीक्षणको किटमा दुई छिमेकी मुलुक भारत र चीनले फरक–फरक निर्णय गरेका छन् । आफैंलाई आवश्यक रहेको भन्दै भारतले किट निर्यातमा रोक लगाएको छ । चीनले पनि बिस्तारै कडाइ गर्दै लगेको छ । चिनियाँ किटको गुणस्तरबारे विभिन्न मुलुकमा प्रश्न उठ्न थालेपछि उसले निर्यातमा कडाइ गरेको हो ।
भारत र चीनको निर्णयसँगै नेपालमा कोभिड–१९ भाइरस रोगको परीक्षण, रोकथाम तथा उपचारका लागि आवश्यक सामग्रीको अभाव हुन सक्ने यस क्षेत्रका अधिकारीहरूको चिन्ता छ ।
नयाँदिल्ली– भारतले कोभिड–१९ को संक्रमण बढ्दै गएपछि बिरामीको स्वास्थ्य परीक्षणका लागि प्रयोग गरिने डायग्नोस्टिक किट्सको निर्यातमा समेत रोक लगाएको हो । जबकि करिब दुई साताअघि नै भारत सरकारले अत्यावश्यक भेन्टिलेटर र सेनिटाइजरको निर्यातमा पनि रोक लगाइसकेको छ ।
निर्यातमा रोक लगाइएको परीक्षण किट्स विशेषगरी बिरामीमा देखिएको संक्रमणको पहिचान गर्न प्रयोग गरिन्छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले शनिबार एक सूचना जारी गर्दै त्यस्तो रोक लगाउने निर्णय गरेको हो । ‘परीक्षण किटहरू (परीक्षण वा प्रयोगशालामा प्रयोग गरिने कुनै पनि पदार्थ) को निर्यातमा तत्काल रोक लगाइएको छ,’ महानिर्देशनालयद्वारा जारी सूचनामा भनिएको छ ।
पछिल्लो निर्णयसँगै भारतबाट हुने परीक्षण किटको निकासीमा रोक लागेको छ । नेपालमा प्रयोग हुने डायग्नोस्टिक किट्स बढीजसो जापान, जर्मनी, चीनलगायत मुलुकमा बन्ने गरे पनि तिनको क्षेत्रीय विक्रेता भारतमै केन्द्रित रहेकाले रोक लगाउने पछिल्लो निर्णयले नेपालमा त्यस्ता किट्सको अभाव हुन सक्ने जानकारहरू बताउँछन् । भारत सरकारबाट लाइसेन्सप्राप्त निश्चित व्यवसायी वा कम्पनीले भने सामग्री निर्यात गर्न पाउनेछन् ।
महानिर्देशनालयले नै गत २४ मार्चमा भेन्टिलेटर सेनिटाइजरको निकासीमा रोक लगाउने निर्णय गरेको थियो । भारतमा कोभिड–१९ को प्रकोप बढ्ने यी अत्यावश्यक सामग्रीको माग बढ्दै गएपछि निर्यातमा रोक लगाइएको हो । सँगै भारतीय राष्ट्रिय कंग्रेसलगायत विपक्षी दलले समेत देशभित्रै यी सामग्रीको अभाव भएको हुँदा तत्काल निर्यातमा रोक लगाउनुपर्ने माग गरेका थिए । तर भारतको निर्णयले नेपालका लागि हुने निर्यातलाई प्रभाव नपार्ने दिल्लीस्थित दूतावासका अधिकारीहरूको दाबी छ ।
रोयटर्स (बेइजिङ)– चीनबाट निर्यात भएका कोभिड–१९ परीक्षण किटको गुणस्तरमा केही युरोपेली मुलुकले प्रश्न उठाएपछि चीनले निर्यातमा कडाइ गर्ने निर्णय गरेको छ ।
किट उत्पादन गरी निर्यात गर्ने चिनियाँ कम्पनीले अब नेसनल मेडिकल प्रडक्ट एडमिनिस्ट्रेसन (एनएमपीए) बाट प्रमाणपत्र लिनुपर्नेछ । एनएमपीएले बिहीबार जारी गरेको विज्ञप्तिमा आफूबाट प्रमाणपत्र लिएका कम्पनीका किट मात्रै भन्सार पास हुने जानकारी गराएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना रोग नियन्त्रण गर्न सघाउन आफ्ना देशका कम्पनीलाई किट निर्यातका लागि चीन सरकारले प्रोत्साहन गरिरहेको छ । विश्वभर कोरोना नियन्त्रणका लागि धेरै चिनियाँ कम्पनीहरूले किटसहितका स्वास्थ्य सामग्री निर्यात गरिरहेका छन् ।
केही चिनियाँ कम्पनीले आफ्नो किटसहितका स्वास्थ्य सामग्री बिक्रीका लागि आफ्नो देशमा परीक्षण गरी प्रमाणपत्र नलिई युरोपियन युनियनको खुकुलो नियमको फाइदा उठाइरहेका छन् । गत महिना चिनियाँ शिक्षा मन्त्रालयका एक अधिकारीले आफ्नो देशमा बनेको कोरोना भाइरस परीक्षण किट बेलायत, इटाली र नेदरल्यान्ड्ससहित ११ मुलुकमा निर्यात भइरहेको बताएका थिए । तर चीनमा परीक्षण प्रमाणपत्र नलिई निर्यात भएका केही किटको विश्वसनीयतामाथि युरोपका स्वास्थ्यसम्बन्धी निकायले प्रश्न उठाएका छन् ।
चीनको सेन्जेन बायोइजी बायोटेक्नोलोजी नामक कम्पनीले उत्पादन गरेको किटले कोरोना भाइरसको परीक्षण प्रभावकारी रूपमा गर्न नसकेको भन्दै स्पेनले प्रयोग गर्न रोकेको थियो । बायोइजी कम्पनीले भने गत साता विज्ञप्ति जारी गर्दै आफ्नो किटका कारण नभई नमुना संकलन र परीक्षण प्रक्रिया नमिलेकाले किटले प्रभावकारी काम नगरेको हुन सक्ने दाबी गरेको थियो ।
गत साता चीनको विदेश मन्त्रालयका प्रवक्ताले समेत चीनबाट आयातित किटको विश्वसनीयतामाथि स्लोभाक सरकारले प्रश्न उठाएको बताएका थिए । स्वास्थ्यकर्मीहरूले सही तरिकाले किटको प्रयोग नगरेका कारण यस्तो नतिजा आएको स्लोभाकियास्थित चिनियाँ कन्सुलेटको निष्कर्ष रहेको उनको टिप्पणी थियो ।
भारतबाट कुन–कुन वस्तु आयात गर्ने भन्ने विषयमा मेची भन्सारले आइतबार राजनीतिक दलका अगुवा, नगरपालिका र स्थानीयसँग छलफल गरेको थियो । छलफलमा ग्यास, तेल र औषधिबाहेकका वस्तु आयात नगर्न भन्सारलाई गरिएको आग्रहबमोजिम ती वस्तु मात्रै ल्याइने प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए । यसअघि तरकारी, खाद्यान्नलगायत सामानसमेत आयात हुँदै आएका थिए ।
झापाको धुलाबारीमा स्थानीयले शनिबार प्लाइउड कारखानाको कच्चा पदार्थ बोकेर कोलकाताबाट आएका तीनवटा कन्टेनर नियन्त्रणमा लिएका थिए । धुलाबारीका स्थानीयले यस्ता सामान आयात गरिँदा चालक, सहचालकको स्वास्थ्य जाँच नगरिएको र त्यसबाट कोभिड–१९ भित्रन सक्ने जोखिम रहेको भन्दै भन्सारलाई सचेत गराएका थिए ।
स्थानीयवासी र राजनीतिक दलका अगुवाको आग्रहपछि भन्सारले अत्यावश्यकबाहेक अरू सामान आयात नगर्ने निर्णय लिएको विश्वकर्माले बताए । सरकारले भने नाकाबन्दी र लकडाउनका समयमा समेत आयात नरोक्न पत्राचार गरेको छ । त्यही आधारमा आयात जारी राखिएको विश्वकर्माले जनाए । ‘आयातका विषयमा स्थानीयका माग जायज छन्, मन्त्रालयमा लेखी पठाएको छु ।’
भन्सारबाट लकडाउनयता करिब तीन करोड मूल्यको तरकारी र फलफूल आयात भएको छ । कोइला, क्लिंकर, छोकडा, मरिच, केराउ र सुपारी पनि आएको छ ।
