कोरोना प्रकोप : बेलायती महारानीको दुर्लभ टेलिभिजन सन्देश

चैत्र २४, २०७६

नवीन पोखरेल

लन्डन — बेलायती महारानी एलिजाबेथ द्वितीयले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्धको लडाइँमा ब्रिटेन सफल हुने विश्वास व्यक्त गरेकी छन् ।

ब्रिटेन तथा राष्ट्रमण्डलको नाममा आइतबार साँझ टेलिभिजनमार्फत एक विशेष सन्देश दिँदै ९३ वर्षीया महारानीले एकतावद्ध र दृढ निश्चयी भएमा ब्रिटेनले यो संकटमाथि अवश्य जित हासिल गर्ने बताइन् । 

हामीले अझै बढी पीडा खेप्नुपर्ने हुन सक्छ, तर राम्रा दिन फर्कने छन् । हामी फेरि हाम्रा साथीहरूसँग, परिवारसँग सँगै हुनेछौं, हामी फेरि भेट्ने छौं,' उनले सन्देशमा भनेकी छन्, ‘यदि हामी एकतावद्ध र दृढ निश्चयी भएमा हामीले यो संकटमाथि अवश्य पनि जित हासिल गर्नेछौं ।’ 

महारानीले घरमै बसेर तथा एक अर्कालाई सहयोग गरेकोमा आफ्ना जनतालाई धन्यवाद दिइन् । उनले सबै देशवासीलाई सरकारको निर्देशन पालना गर्न र घरमै बस्न आग्रह पनि गरिन् । 

सन्देशमा महारानीले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लगायत देश बन्द रहेका बेला पनि आवश्यक सेवा सञ्चालन गर्न खटिरहेका कामदार (की वर्कर्स) हरूलाई धन्यवाद दिएकी छन् ।

ब्रिटेनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या झन्डै ५ हजार पुग्नै लाग्दा ब्रिटिस महारानीले देशवासीका नाममा यस्तो सन्देश दिएकी हुन् । ब्रिटिस महारानीले यो सन्देशबाट देशवासीको मनोबल उठाउन खोजेको ठानिएको छ । 

६८ वर्ष लामो शासनकालमा देशवासीका नाममा महारानीले दिएको यो पाचौं विशेष सन्देश हो । 

ब्रिटिस महारानीसँग कुनै राजनीतिक शक्ति नभए पनि धेरैले राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा लिने गर्छन् ।

सम्बन्धित समाचारः

नवीन

Link copied successfully