कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

एजेन्सी

लन्डन — कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइतबार अस्पताल भर्ना गरिएको छ ।

निरन्तर भाइरस लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले विज्ञप्तिमार्फत जनाएको छ । ‘कोरोना भाइरस पुष्टि भएको १० दिनपछि पनि निरन्तर लक्षण देखिएपछि सावधानीका लागि यस्तो कदम चालिएको हो,’ प्रधानमन्त्री कार्यालयले भनेको छ– ‘जोनसनलाई आपत्कालीन अवस्थाका कारण नभई उनकै चिकित्सकको सल्लाहअनुसार थप परीक्षणका लागि सावधानीस्वरुप अस्पताल भर्ना गरिएको हो ।’

जोनसनले गत मार्च २७ मा आफूमा कोरोना भाइरस पुष्टि भएको घोषणा गरेका थिए । त्यसपछि उनी डाउनिङ स्ट्रिटमै आइसोलेसनमा गएका थिए । शुक्रबार जारी गरिएको भिडियो सन्देशमा उनले आफ्नो स्वास्थ्य अवस्था सुध्रिदै गएको भए पनि ज्वरो अझै रहेको बताएका थिए ।

१० दिनको आइसोलेसन बसाइमा पनि जोनसनले कोरोना भाइरस प्रकोपसम्बन्धी बेलायती प्रयासको नेतृत्व गरिरहेका थिए । आइसोलेसेनमै रहँदा उनले दैनिक रूपमा हुने प्रकोप नियन्त्रणसम्बन्धी बैठकको नेतृत्वसमेत गरेका उनले कैयौं भिडियो सन्देशसमेत जारी गरिरहेका थिए । जोनसनलाई अस्पताल भर्ना गरिए पनि सरकारको नेतृत्व उनले नै गर्ने डाउनिङ स्ट्रिटले उल्लेख गरेको छ । सोमबारको कोरोना भाइरस नियन्त्रणसम्बन्धी बैठकको नेतृत्व भने विदेशमन्त्री डोमेनिक राबले गर्ने बीबीसीले जनाएको छ ।

प्रकाशित : चैत्र २४, २०७६ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्

न्युयोर्ककाे चिडियाखानाको बाघमा कोरोना भाइरस देखियो

एजेन्सी

वासिङ्टन —  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ । 

आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ । चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । ‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भाइरस संक्रमणका कारण बाघको आहार घटेको छ । यद्यपि भेटेरिनरी सेवाअन्तर्गत रहेको बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ । विभिन्न जनावरले नयाँ संक्रमणलाई विभिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा बाघ र सिंहजस्ता जनावरमा भाइरस कसरी विकसित हुन्छ भन्ने अझै अज्ञात रहेको भन्दै चिडियाखानाले सबै जनावरलाई नजिकबाट नियाल्ने जनाएको छ । चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

न्युयोर्कमा कोरोना भाइरस संक्रमण फैलिएसँगै वन्यजन्तु संरक्षण समाजद्वारा सञ्चालित ब्रोन्ससहति चारवटै चिडियाखाना मार्च १६ बाट बन्द छन् । मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिएकाले जनावरको संरक्षणका लागि थप कदम चालिने अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : चैत्र २४, २०७६ ०६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×