२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

न्युयोर्ककाे चिडियाखानाको बाघमा कोरोना भाइरस देखियो

एजेन्सी

वासिङ्टन —  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ । 

न्युयोर्ककाे चिडियाखानाको बाघमा कोरोना भाइरस देखियो

आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले बाघमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको चिडियाखानाले जनाएको छ । चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । ‘हामीले अति सावधानीपूर्वक बाघको परीक्षण गरेका छौं र कोभिड–१९ बारे प्राप्त यो ज्ञान नोवल कोरोना भाइरसलाई बुझ्नका लागि विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भाइरस संक्रमणका कारण बाघको आहार घटेको छ । यद्यपि भेटेरिनरी सेवाअन्तर्गत रहेको बाघ तेजिलो र चनाखो नै रहेको चिडियाखानाले बताएको छ । विभिन्न जनावरले नयाँ संक्रमणलाई विभिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा बाघ र सिंहजस्ता जनावरमा भाइरस कसरी विकसित हुन्छ भन्ने अझै अज्ञात रहेको भन्दै चिडियाखानाले सबै जनावरलाई नजिकबाट नियाल्ने जनाएको छ । चिडियाखानाका अन्य ठूला जनावरमा भने भाइरसको कुनै लक्षण नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

न्युयोर्कमा कोरोना भाइरस संक्रमण फैलिएसँगै वन्यजन्तु संरक्षण समाजद्वारा सञ्चालित ब्रोन्ससहति चारवटै चिडियाखाना मार्च १६ बाट बन्द छन् । मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिएकाले जनावरको संरक्षणका लागि थप कदम चालिने अधिकारीहरुले बताएका छन् ।

प्रकाशित : चैत्र २४, २०७६ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?