१४ दिन पुग्यो, परीक्षण भएन

क्वारेन्टाइनमा थप एक साता राख्ने प्रदेश सरकारको निर्णय
प्रदेश ब्युरो

धनगढी — कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन् तर १४ दिन बित्दा पनि उनीहरूको परीक्षण भएको छैन ।

१४ दिन पुग्यो, परीक्षण भएन

मुलुकभर हालसम्म भेटिएका ९ संक्रमितमध्ये चार जना सुदूरपश्चिमकै छन् र दोस्रो चरणको संक्रमण पनि यहीँ सुरु भएको छ । यस्तोमा क्वारेन्टाइनमा बसेकाहरूको सक्दो परीक्षण हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

क्वारेन्टाइनमा बसेको १४ दिनसम्म संक्रमण देखिएन भने घर जान दिनुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशिका छ । यस प्रदेशका क्वारेन्टाइनमा राखिएकामध्ये अधिकांशले आइतबार १४ दिन कटाएका छन् । उनीहरूलाई परीक्षणै नगरी घर जान दिने कि राखिराख्ने भन्ने दोधार रहेका बेला आइतबारै प्रदेश सरकारले थप एक साता राख्ने निर्णय पनि गरेको छ । क्वारेन्टाइनमा बसेकाहरू भने बित्थामा लामो समय दु:ख दिइएको भनेर आक्रोशित र चिन्तित छन् ।


प्रदेशले क्वारेन्टाइन अवधि एक साता लम्ब्याउने भने पनि डोटीका स्थानीय तहहरूले क्वारेन्टाइनमा बसेकाहरूको घाँटीको स्वाब परीक्षण नगरी घर पठाउने भएका छन् । सबैको स्वाब परीक्षण सम्भव नरहेकाले उनीहरूको सामान्य शारीरिक जाँच गरेर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘अहिलेसम्म कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन,’ उनले भने, ‘१५ औं दिनमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास परीक्षण गरेर उनीहरूलाई घर पठाइन्छ ।’


डोटीमा आइतबार भारतलगायत बाहिरबाट आएका ४ सय ५० जनालाई क्वारेन्टाइनमा राखेको १३ दिन भएको छ । उनीहरूलाई जिल्लाका २४ स्थानमा बनाइएका क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । ‘क्वारेन्टाइनको कार्यविधिमा स्वाब परीक्षण गर्ने उल्लेख छैन,’ उनले भने, ‘४ सय ५० मध्ये ४ जनाको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आयो ।’ क्वारेन्टाइनबाट घर पठाइए पनि ७ दिनसम्म बेग्लै बस्ने सर्त राखिएको छ ।


भारतलगायत बाहिरबाट फर्किएकाहरू घरमा बस्न नमान्ने भएकाले चिन्ता बढेको जनप्रतिनिधिहरूले बताए । फागुन अन्तिम सातायता झन्डै डेढ लाख मानिस भारतसहित विभिन्न मुलुकबाट सुदूरपश्चिममा भित्रिएका छन् ।

जति अनुरोध गर्दा उनीहरू पसलमा जम्मा हुने, तास खेल्ने, भेटघाट गर्ने गरेपछि प्रहरीको गस्ती बढाएको केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताए । ‘प्रहरीको गस्तीपछि भने त्यस्ता गतिविधिमा कमी आएको छ,’ उनले भने ।


यस प्रदेशमा सरकारले द्रुत परीक्षण गर्ने भने पनि त्यसका लागि किट छैन न पर्याप्त ल्याब टेक्निसियन छन् । ‘यसबारे संघीय स्वास्थ्य मन्त्रालयमा विज्ञहरूको छलफल चलिरहेको छ,’ सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले आइतबार कान्तिपुरसँग भने, ‘सोमबार वा ढिलोमा मंगलबारदेखि र्‍यापिड परीक्षण हुने प्रारम्भिक जानकारी आएको छ ।’


यसका लागि काठमाडौंबाट ७ जनाको विज्ञ टोली धनगढी आउने र कार्ययोजना बनाएर काम अघि बढाउने उनले जानकारी दिए । लामो समयदेखि क्वारेन्टाइनमा रहेकाहरूको परीक्षण पहिलो प्राथमिकतामा पर्ने उनको भनाइ छ ।


संक्रमितको संख्या बढेपछि तीव्र गतिमा नमुना परीक्षण हुनुपर्ने दबाब बढ्दै गएको छ तर शनिबारसम्म १ सय ६९ जनाको मात्रै नमुना परीक्षण गरिएको छ । एक साताअघि धनगढीमै ल्याब खोलिएको छ । पहिले नमुना प्रदेश स्वास्थ्य प्रयोगशालाले संकलन गरेर काठमाडौं पठाउने गरेको थियो । यस बीचमा सेनाले समेत नमुना संकलन गरेर काठमाडौं लगेको थियो ।


निर्देशनालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी २ हजार ३ सय ८३ जना क्वारेन्टाइमा छन् । क्वारेन्टाइनमा सबैभन्दा बढी बझाङमा ४ सय ६४ जना छन् । त्यसपछि कैलाली, बैतडी र डोटीमा छन् ।


द्रुत परीक्षण किटबारे आफूलाई विस्तृत जानकारी नभएको निर्देशक डा. अवस्थीले बताए । ‘छोटो समयमा धेरैको प्रारम्भिक जाँच गर्ने विधि र्‍यापिड टेस्ट (द्रुत परीक्षण) हो,’ उनले भने, ‘र्‍यापिड टेस्टबाट अन्तिम निक्र्यौल हुने होइन । तर कोरोना संक्रमण रहे, नरहेको प्रारम्भिक पहिचान हुन सक्छ । आशंका भएकाहरूको घाँटीको स्वाब संकलन गरेर ल्याबमा परीक्षण गर्नुपर्ने हुन्छ ।’


निर्देशक अवस्थीका अनुसार गत बिहीबारदेखि धनगढीको सेती प्रादेशिक अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले दिनमा १० जनाको मात्र परीक्षण गर्न सक्छ । ‘बिहानैदेखि साँझसम्म काम गर्दा पनि १० भन्दा बढीको परीक्षण हुन सक्तैन,’ उनले भने । उनले विशेषज्ञ ४ जनासहित ल्याब टेक्निसियनको टोली परीक्षणमा संलग्न रहेको जानकारी दिए ।


कन्ट्याक्ट ट्रेसिङ कसरी हुँदै छ ?

सुदूरपश्चिममा देखिएका संक्रमितहरूको सम्पर्कमा गएकाहरूको जतिसक्दो चाँडो परीक्षण गर्नुपर्ने आवश्यकता स्वास्थ्यकर्मीहरूले औंल्याएका छन् । यहाँ स्थानीयस्तरमै सरेको केस पनि फेला परेकाले जोखिम बढेको छ ।


प्रदेशस्तरमा स्वास्थ्यकर्मीका दुइटा समिति परिचालित छन् । पहिलो केस इन्भेस्टिगेसन समिति र दोस्रो कन्ट्याक्ट ट्रेसिङ । कुनै व्यक्तिमा पोजेटिभ देखिने बित्तिकै केस इन्भेस्टिगेसनका प्रतिनिधिले उसको विस्तृत रिपोर्ट संकलन गर्छन् । ‘विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डअनुसार संक्रमितको ट्राभल हिस्ट्री, सम्पर्क भएको स्थान र व्यक्तिहरूको विवरण पनि लिन्छौं,’ जनस्वास्थ्य निरीक्षक भूपेन्द्र महराले भने ।


केस इन्भेस्टिगेसन फर्मकै आधारमा कन्ट्याक्ट ट्ेरसिङ सुरु हुन्छ । ६ जना स्वास्थ्यकर्मीको समूह यस कार्यमा खटिएको छ । ‘केस इन्भेस्टिगेसनमा आएको सूचनाका आधारमा सम्बन्धित सबै व्यक्ति र स्थानसम्म पुग्छौं र उनीहरूको परीक्षणलगायतका काम अघि बढाउँछौं,’ यस कार्यको नेतृत्व गरिरहेका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले भने । उनका अनुसार शनिबार पहिचान भएका कैलालीका संक्रमित व्यक्ति गौरीफन्टा नाकामा हजार जनाको भीडमा रहेकाले अप्ठेरो छ । ‘तर उनी घर गएको र क्वारेन्टाइनमा बसेको सबै विवरण र उनीहरूको नमुना परीक्षण प्रकृया सुरु भएको छ,’ उनले भने ।


कञ्चनपुरमा ३४ को रिपोर्ट आयो

कोभिड–१९ का संक्रमित पहिचानका लागि सरकारले किटमार्फत द्रुत परीक्षण गर्ने निर्णय गरे पनि सुरु हुन दुई/तीन दिन लाग्ने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताएका छन् । ‘आज बिहानैदेखि फलो गरिरहेको छु,’ उनले भने । उनले हाल क्वारेन्टाइनमा रहेका र त्यसबाहेक अन्य शंकास्पद र संक्रमितको सम्पर्कमा आएकाहरूको र्‍यापिड टेस्ट गरिने बताए ।


र्‍यापिड टेस्टबारे महाकाली अस्पतालका डाक्टरहरू पनि अन्योलमा छन् । सरकारले किटबाट टेस्ट गर्ने भने पनि कस्तो किट हो र कहिले आउने हो भन्ने विषयमा अलमल रहेको उनीहरूले बताए । ‘किटबाट टेस्ट गर्ने भनिएको छ तर त्यो कस्तो हो केही थाहा छैन,’ महाकाली अस्पतालका डा. सरोज आचार्यले भने, ‘संक्रमण दोस्रो चरणमा पुगिसकेपछि परीक्षणको दायरा बढाउनै पर्छ ।’


डा. आचार्यले क्वारेन्टाइनमा रहेका, रिपोर्ट पोजेटिभ आएका वा सम्भावित आउने व्यक्तिको सम्पर्कमा रहेका सबैको परीक्षण गरिने बताए । स्थानीय तहले शंकास्पद भनी पठाएका व्यक्तिको पनि परीक्षण गरिने उनले बताए ।


-धनगढीबाट अर्जुन शाह, कञ्चनपुरबाट भवानी भट्ट र डोटीबाट मोहन शाही

प्रकाशित : चैत्र २४, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?