१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खरिपाटी क्‍वारेन्टाइनको किन प्रशंसा हुन्छ ?

चीनको वुहानबाट उद्धार गरिएका १ सय ८० जनालाई राख्नका लागि भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनको व्यवस्थापन सेनाको नेतृत्वमा दुवै प्रहरीले गरिरहेका छन् । अन्य ठाउँमा बनाइएका क्वारेन्टाइनको व्यवस्थापन गर्दा खरिपाटीबाट सिक्नुपर्ने त्यहाँ बसेर निस्किएकाहरूको सुझाव छ ।
लीला श्रेष्ठ

काठमाडौँ — सरकारले प्रतिबन्ध गरेको मुलुकबाट हवाई तथा खुला सीमा नाका भएर भित्रिएका ९६ नागरिकलाई खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको देशबाट थाई एयर र एयर इन्डियामार्फत चैत ८ गते आएकालाई खरिपाटीमा राखिएको हो ।

खरिपाटी क्‍वारेन्टाइनको किन प्रशंसा हुन्छ ?

क्वारेन्टाइनमा राखिएको चौधौं दिन शुक्रबार मात्र उनीहरूको र्‍याल तथा ‘नेजल’ को नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । तीमध्ये ९४ जनाको रिपोर्ट नेगेटिभ आएको आइतबार स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘९६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकामा ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ, दुई जनाको स्वाबको नमुना उपयुक्त नभएकाले पुन: संकलन गर्न लगाइएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भने ।


क्वारेन्टाइन व्यवस्थापनको नेतृत्व वीर दल गण सूर्यविनायकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले सम्हालेका छन् । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्वारेन्टाइनको निगरानी गरिरहेका छन् । प्रमुख सेनानी पौडेलका अनुसार छुट्टाछुट्टै मुलुक र समयमा आएका व्यक्तिलाई छुट्टाछुट्टै भवनमा राखिएको छ । सेनाका चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीको ‘कन्ट्रोल रुम’ स्थापना गरिएको छ । ‘कन्ट्रोल रुम’ बाटै क्वारेन्टाइनमा बसेकाको निगरानी गर्ने गरिएको छ ।


क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई प्राधिकरणको क्यान्टिनबाट सेनाले खाना प्याकिङ गरेर प्रत्येक दिन बिहान नास्ता, खाना, दिउँसो खाजा, साँझ खाना र बोतलको पानी दिने गरेको छ । इन्टरनेटको व्यवस्था छ । विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम क्वारेन्टाइन व्यवस्थापन गरिएको सेनाले जनाएको छ । ‘खाना क्यान्टिनबाट प्याकिङ गरेर पठाइन्छ, खाना लैजाने र भित्र बसेका व्यक्तिको प्रत्यक्ष भेट हुँदैन,’ पौडेलले भने, ‘छुट्टाछुट्टै भवनको आआफ्नै फुड ड्रपिङ प्वाइन्ट छ, त्यहीँ लगेर राखिदिन्छौं र कन्ट्रोल रुमबाट माइकिङ गर्छौं । त्यहीँबाट स्वयंसेवकले खाना कोठाको नजिक लगेर राखिदिने र उनीहरूले आफैं लिने व्यवस्था छ ।’


उनीहरूका लुगा धुन लन्ड्री र तातोपानीका लागि गिजरको सुविधा छ । फोहोर र क्वारेन्टाइनको ढल छुट्टै व्यवस्थापन गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरूले आफ्नो कोठा आफैं सफा गर्छन् । उनीहरूले फोहोर तोकिएका ठाउँमा राखिदिन्छन् । कन्ट्रोल रुमबाट व्यक्तिगत कोठाबाहेकको क्वारेन्टाइन क्षेत्रमा सीसी क्यामरामार्फत निगरानी गर्ने व्यवस्था मिलाइएको छ । चिकित्सकसहित चार जनाको मेडिकल टिम सधैं तयारी अवस्थामा बसेका छन् ।


अन्य स्थानमा क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि खरिपाटी क्वारेन्टाइन नमुना हुन सक्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । रिपोर्ट नेगेटिभ आएकालाई सोमबार घर पठाइने भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले कोरोना भाइरस नदेखिएकाहरूलाई घरसम्म पुर्‍याउने व्यवस्था गरिने जानकारी दिए । कोभिड–१९ संक्रमण रोकथामका लागि अन्य स्थानमा क्वारेन्टाइन निर्माण गर्दा खरिपाटी क्वारेन्टाइनलाई सिकाइका रूपमा लिन सकिने सोही क्वारेन्टाइनमा बसेर घर फर्किएका डा. सुदीप राउतले बताए । ‘खरिपाटी क्वारेन्टाइनको व्यवस्थापन उदाहरणीय छ, यसैगरी क्वारेन्टाइनको व्यवस्थापन गर्न सके कोभिड–१९ को संक्रमणबाट बच्न सकिन्छ,’ उनले भने ।


कसरी बनाइएको थियो ?

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । संघ, प्रदेश, स्थानीय तहलगायतले विभिन्न सरकारी, गैरसरकारी संघसंस्था, व्यक्तिहरूको समन्वयमा क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापन गर्ने प्रयास गरिरहेका छन् ।


विश्वव्यापी महामारीको रूप नलिइसकेकै अवस्थामा कोभिड–१९ को उद्गम चीनको वुहानबाट विदेशी राष्ट्रहरूले विभिन्न प्रयोजनका लागि वुहान पुगेका आफ्ना नागरिकलाई फिर्ता लगे । नेपाल सरकारले पनि वुहानमा भएका आफ्ना नागरिकलाई उद्धार गर्ने निर्णय गर्‍यो । अध्ययनका लागि वुहान पुगेका १ सय ८० जना नागरिक उद्धार गरेर विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम कहाँ, कसरी क्वारेन्टाइन गर्ने भन्ने विषयमा धेरै छलफल भयो ।


क्वारेन्टाइन निर्माणका लागि काठमाडौं उपत्यकाकै विभिन्न ठाउँको नाम आयो । अन्य स्थानको नाम आए पनि सरकारले चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रलाई छनोट गर्‍यो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्युत् प्राधिकरण तालिम केन्द्रका कर्मचारी, सहरी विकासलगायतले चारवटा भवन क्षेत्रलाई जस्तापाताले घेरा हालेर एक सातामै क्वारेन्टाइन तयार गरे । क्वारेन्टाइनमा बस्नेहरूलाई साबुन, सेनिटाइजरदेखि चाहिने सामग्री जुटाए ।


स्थानीय बासिन्दा र स्थानीय तहका जनप्रतिनिधिको चर्को विरोधकै बाबजुद केन्द्रमा क्वारेन्टाइन बन्यो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा सुरक्षा निकायका व्यक्तिले घरघरमा पुगेर सचेतना कार्यक्रम गरे । गत फागुन ४ मा चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १ सय ७५ जना नागरिकलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखियो । दुईपल्ट घाँटीको र्‍याल र ‘नेजल स्वाब’ परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि १७ दिनमा उनीहरूलाई घर पठाइयो । क्वारेन्टाइन बनाउँदा विरोध गर्ने स्थानीय बासिन्दा, जनप्रतिनिधिलगायतले पछि माफी मागे । क्वारेन्टाइनमा बसेकाले सरकार र व्यवस्थापनमा खटिएका सुरक्षा अधिकारीको खुलेर प्रशंसा गरे । खुसीको नारा लगाए । क्वारेन्टाइनको व्यवस्थापनमा खट्ने सुरक्षा अधिकारी, चिकित्सक टोलीलगायतलाई उनीहरूले सम्मान गरे ।

प्रकाशित : चैत्र २४, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?