१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

र्‍यापिड र पीसीआर दुवै किटबाट कोरोना परीक्षण गरिने

‘अब द्रुत परीक्षण र पीसीआर दुवै गरिनेछ, परीक्षण किट र पीसीआरको संवेदनशीलता मिल्यो भने सामूहिक स्तरमा पनि प्रयोग गर्न सकिन्छ ।’ – डा. वासुदेव पाण्डे
‘क्वारेन्टाइनबाट निस्किँदा संक्रमण नभएको सुनिश्चित हुनुपर्छ, त्यसैले २१ दिनसम्म बस्नु सबैभन्दा सुरक्षित’
अतुल मिश्र

काठमाडौँ — सरकारले क्वारेन्टाइनमा राखिएकाहरूलाई परीक्षण गरेर कोरोना भाइरस (कोभिड–१९) संक्रमण नरहेको सुनिश्चित भएपछि मात्र सामान्य जीवनमा फर्काउने नीति लिएको छ । यसअन्तर्गत हाल क्वारेन्टाइनमा रहेकाको संक्रमणको स्थिति र्‍यापिड परीक्षण किट (आरडीटी) बाट पोजेटिभ देखिए पुन: पोलिमर चेन रियाक्सन (पीसीआर) प्रविधिबाट परीक्षण गरी संक्रमण यकिन गर्ने भएको छ ।

र्‍यापिड र पीसीआर दुवै किटबाट कोरोना परीक्षण गरिने

हाल कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका तथा बागलुङका संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको द्रुत परीक्षण किटबाट कोभिड–१९ परीक्षण गरिने भएको हो । उनीहरूमा कोरोना पोजेटिभ देखिए पुन: पीसीआर प्रविधिबाट परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कान्तिपुरलाई बताए । उक्त क्षेत्रमा कोभिड–१९ परीक्षणका लागि आइतबारै टोली हिँड्ने जानकारी उनले दिए ।


चीनबाट आयात गरिएको किट डब्लूएचओको मापदण्डमा नपरेकाले हाल त्यत्तिकै थन्किएको छ । प्रवक्ता देवकोटाका अनुसार पीसीआर १० हजार जनालाई पुग्ने छ भने द्रुत परीक्षण किट ७५ हजार वटा छन् । द्रुत परीक्षण किटबाट कोभिड–१९ परीक्षण गर्ने मन्त्रिपरिषद्को निर्णयपछि आइतबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा यसबारे बैठक भएको थियो । बैठकमा विज्ञहरूले उक्त परीक्षण किट ‘एन्टिबडी’ आधारित भएको र रोगको लक्षण देखिएको १० दिनपछि मात्र पत्ता लगाउन सक्ने भएकाले पीसीआरको उपयोगसँग भ्यालिडेसन (मान्यता) दिन सल्लाह दिएका थिए । ‘अब द्रुत परीक्षण र पीसीआर दुवै गरिनेछ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा.वासुदेव पाण्डे भन्छन्, ‘परीक्षण किट र पीसीआरको संवेदनशीलता मिल्यो भने सामूहिक स्तरमा पनि प्रयोग गर्न सकिन्छ ।’


हाल क्वारेन्टाइनमा राखिएकालाई १४ दिनपछि परीक्षण गर्दा कोभिड–१९ नदेखिएपछि घर फर्काइने उनले बताए । ‘कुनै कुनै देशमा २१ दिनपछि समेत कोरोना पोजेटिभ देखिएको छ, यसैले परीक्षण परिणाम नेगेटिभ आए पनि केही दिन (एक साता) घरमै सुरक्षा उपायसाथ बस्नु राम्रो हुन्छ,’ उनले भने ।


सरकारले निर्धारण गरेको गुणस्तरअनुसार प्रदेश र स्थानीय तहबाट क्वारेन्टाइन सञ्चालन हुनुपर्ने डा.देवकोटाले बताए । उनले क्वारेन्टाइनमा १४ दिन बित्दासमेत केहीलाई संक्रमण देखिएकाले उक्त समयसीमा बढाउनुपर्ने औंल्याएका छन् । विज्ञहरूका अनुसार हालसम्म १४ दिन क्वारेन्टाइनमा बस्न भनिए पनि सकेसम्म २१ दिन बस्नु सबैभन्दा सुरक्षित हुन सक्छ । हालसम्मका तथ्यांकअनुसार कोभिड–१९ को लक्षण संक्रमण भएको ११ देखि १२ दिनसम्ममा ९९.५ प्रतिशत व्यक्तिमा देखिएको छ । यसबाहेक अधिकतम १४ दिनसम्ममा यो संक्रमणको लक्षण देखिन्छ । कोभिड संक्रमित युवामा खासै लक्षण नदेखिए पनि उनीहरूले अरूलाई संक्रमित पारिरहेका हुन्छन् ।


क्वारेन्टाइनमा रहेकालाई पीसीआर परीक्षणको माध्यमले संक्रमण नरहेको सुनिश्चित गरेर मात्र समाजमा फर्काउनुपर्ने ईडीसीडीका पूर्वनिर्देशक डा.जीडी ठाकुरले बताए । ‘विश्वव्यापी रूपमा द्रुत परीक्षण किटको गुणस्तर प्रमाणीकरण शंकास्पद छ, यसैले पीसीआरलाई नै प्राथमिकता दिनुपर्छ,’ उनले भने । हाल मुलुकमा कोभिड–१९ संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेकाले अझै सावधानी नअपनाए समुदायमा संक्रमण देखिन थाल्दा (तेस्रो चरण) भयावह अवस्था निम्तिने चेतावनीसमेत उनले दिए ।


‘संक्रमण तेस्रो चरणमा गएपछि चाहिने भेन्टिलेटर, आईसीयू, जनशक्ति, संरचना हामीसँग केही छैन, हामी महामारीले नष्ट पारिरहेको मुलुक हेर्न बाध्य हुन्छौं,’ उनले भने, ‘हामीले समय पाएका छौं, अब युद्घस्तरमा सबै मिलेर सम्पूर्ण शक्ति लगाएर परीक्षण गर्दै संक्रमण देखिए आइसोलेसनमा राख्दै जानुपर्छ ।’


विशेषज्ञहरूका अनुसार आइसोलेसनमा राखिएकाको परीक्षण प्रतिवेदन नेगेटिभ नआएसम्म पुन: घर जान दिनुहँुदैन । हाल उपत्यकामा १२ जना र उपत्यकाबाहिर १०१ जना आइसोलेसनमा छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५२९ कोभिड–१९ परीक्षण भइसकेको छ । राजधानीबाहिर धरान, पोखरा, जनकपुर, सुर्खेत, धनगढी र चितवनमा गरी सात ठाउँमा समेत परीक्षण भइरहेको डा.देवकोटाले बताए ।

प्रकाशित : चैत्र २४, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?