मकवानपुर — संघीय सकारले कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको बताइरहेको समयमा वाग्मती प्रदेशको राजधानी हेटौंडामा कोरोना (कोभिड-१९) को संक्रमणको परीक्षण सुस्त देखिएको छ ।
परीक्षण सुरु गरेको चौथो दिनसम्ममा हेटौंडामा २५ जनाको मात्र कोरोना संक्रमणको परीक्षण भएको छ । हालसम्म गरिएको सबै नमुना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए ।
उनका अनुसार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन तथा मकवानपुर र अन्य जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका बिरामीको प्राप्त स्वाबबाट कोरानाको परीक्षण गरिएको हो । प्रयोगशालामा नमुना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टोली परिचालन गरिएको छ ।
चितवनमा पनि कोरोना भाइरसको संक्रमणको परीक्षण गर्न मिल्ने पीसीआर मेसिन जडान भएको कारण अब हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहट जिल्लाको बिराकीको स्वाब परीक्षण हुनेछ । ‘अन्य जिल्लाबाट परीक्षणका लागि स्वाब प्राप्त भएमा त्यो पनि हुनेछ । तर, अहिलेलाई ५ जिल्लालाई लक्षित गरेर परीक्षण भइरहेको छ’, सवेदीले भने ।
उनले उपत्यकामा पनि दैनिक मुस्किलले १२ जनाको परीक्षण भइरहेको अवस्थामा हेटौंडामा सुस्त भयो भन्न नमिल्ने तर्क गरे । ‘र्यापिड परीक्षण गर्ने विषयमा हामी छलफलमै छौं’, उनले भने । मन्त्रालयले हाल प्रदेशभर निर्माण भएको आइसोलेसन तथा क्वारेन्टाइनको निरीक्षण गरिरहेको र यसको प्रतिवेदन तयार भएपछि अन्य विषयमा छलफल हुने बताए ।
उनका अनुसार एकपटकमा ६० वटा नमुना परीक्षण गर्न मिल्ने र त्यसको रिपोर्ट आउन सवा दुईघण्टा समय लाग्छ । उनले भने, ‘हामीले हाल विभिन्न स्थानमा क्वारेन्टाइन र आइसोलेसनमा रहेका र अस्पतालबाट सिफारिस भएर आएकाहरूको मात्र परीक्षण गरेका कारण त्यसो भएको हो ।’, ५ सय जनाको मात्र परीक्षण गर्न मिल्ने सामग्री संघीय सरकारबाट प्राप्त भएको कारण र्यापिड परीक्षण गर्न नसकिएको उनले बताए । ‘हाम्रो प्रदेशको उपत्यका, काभ्रे, चितवनमा पनि परीक्षण गर्ने तयारी भइरहेको छ । त्यसकारण पनि धेरै परीक्षणका लागि स्वाब प्राप्त भइरहेका छैनन्’, उनले भने ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले र्यापिड परीक्षण गर्ने विषयमा मन्त्रालयमा निर्णय भइनसकेको बताए । ‘हामी छलफलका क्रममा रहेका छौं । विदेशबाट फर्किएका र हाल क्वारेन्टाइनमा रहेकाहरूको तत्काल परीक्षण गर्नुपर्ने विषयमा सबैको सहमति रहेको छ’, उनले भने । संघीय र स्थानीय सरकारसँग समन्वय गरेर यस विषयलाई अगाडि बढाइने उनले स्पष्ट पारे ।
