१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

धमाधम आकस्मिक कोष

स्वास्थ्यकर्मीलाई दैनिक ५ सय प्रोत्साहन भत्ता, मासिक २५ लिटरका दरले इन्धन
सीमा तामाङ

ललितपुर — कोरोना भाइरसको संक्रमणविरुद्धको सतर्कताका लागि गतिविधि गर्न स्थानीय तहहरूले छुट्टै कोष बनाउन थालेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये अधिकांशले यस्तो गरेका हुन् ।

धमाधम आकस्मिक कोष

ललितपुर महानगरपालिकाले आकस्मिक कोष नछुट्याए पनि विपद् व्यवस्थापन समितिमार्फत काम गर्दै आएको जनाएको छ । प्रवक्ता राजु महर्जनले नगरस्तरीय समितिको कोषमा १ करोड ५० लाख र २९ वटै वडाको विपद् व्यवस्थापन समितिमा पनि १/१ लाख रुपैयाँ रहेको बताए । ‘वडाले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन्, मास्क, स्यानिटाइजर वितरण र किटनाशक औषधि छर्किने काम भइरहेको छ,’ उनले भने, ‘विदेशबाट आएका र मजदुरहरूको तथ्यांक संकलन भइरहेको छ ।’ दैनिक ज्याला तथा मजदुरी गर्नेलाई राहत वितरण गर्न संघीय सरकारले २५ लाख रुपैयाँ दिने जानकारी प्राप्त भएको उनले बताए ।


काठमाडौं महानगरपालिकाले भने १० करोड रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । वडाअनुसार २ देखि ४ लाख रुपैयाँ बजेट पठासइकेको छ भने पुन: अर्को किस्ता पठाउने तयारी छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले कोषबाटै कोरोना भाइरस रोकथामका लागि आवश्यक पर्ने सामग्रीदेखि व्यवस्थापनसम्म खर्च गरिरहेको बताए । ‘चेतनामूलक पम्प्लेट, ब्यानर र पर्चादेखि मास्क वितरण र किटनाशक औषधि छर्किंने काम गरिरहेका छौं,’ उनले भने, ‘अब क्वारेन्टाइन तथा आइसोलेसन वार्ड बनाउने तयारी छ ।’


ललितपुरको गोदावरी नगरपालिकाले ५१ लाख रुपैयाँको आकस्मिक कोष बनाएको छ । उक्त कोषबाटै स्वास्थ्यकर्मीलाई दैनिक ५ सय रुपैयाँ प्रोत्साहन भत्ता दिइरहेको मेयर गजेन्द्र महर्जनले बताए । ‘नगरबाट परिचालित स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा कर्मचारी संक्रमित भई उपचार गर्नुपरेमा नि:शुल्क गरिने र संक्रमणबाट मृत्यु भएमा तिनका परिवारलाई १० लाख रुपैयाँ पनि कोषबाटै उपलब्ध गराउँछौं,’ उनले भने । नगरपालिकाले लकडाउनको अवधिभर स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीलाई मासिक २५ लिटरका दरले इन्धनसमेत उपलब्ध गराउने भएको छ । गोकर्णेश्वर नगरपालिकाले पनि ५० लाख रुपैयाँको आकस्मिक कोष बनाएको नगरप्रमुख सन्तोष चालिसेले बताए ।


भक्तपुरको मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाले पनि विपद् कोष स्थापना गरेका छन् । मध्यपुर थिमिले ३ करोड र चाँगुनारायणले २ करोड ५० लाख रुपैयाँको कोष खडा गरेका हुन् । मध्यपुर थिमिका नौवटै वडामा वडाध्यक्षको संयोजकत्वमा ५/५ लाखका दरले वडा विपद् कोषसमेत स्थापना गर्ने निर्णय भएको छ । नगरपालिकाले खाद्यान्न आपूर्ति, राहत व्यवस्थापन तथा वितरण समिति गठन गरेर वडामार्फत वितरण थालेको छ । मध्यपुर थिमि नगरद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ का संक्रमितलाई सेवा दिन चिकित्सकसहित स्वास्थ्यकर्मी र आइसोलेटेड एम्बुलेन्स तयारी अवस्थामा राखेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए

चाँगुनारायणले कोषमा तत्कालका लागि ३० लाख रुपैयाँ जम्मा गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरपालिकाले लकडाउन अवधिमा काममा खटिएका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत थप प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाले पीपलबोटस्थित खानेपानी सरसफाइ तालिम केन्द्र र नेपाल इन्जिनियरिङ कलेजमा क्वारेन्टाइन कक्ष बनाउने तयारी गरेको छ । दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजलाई कोभिड–१९ संक्रमितको उपचारका लागि सात वटा भेन्टिलेटरसहितको आइसोलेसन वार्ड बनाइएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?