कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुदूरपश्‍चिममा कोरोना संक्रमण तीव्र

शनिबार कोरोना संक्रमण देखिएका तीन जनामध्ये स्थानीय एक महिला हुन् भने बाँकी दुई जना भारतबाट आएका हुन्
अर्जुन शाह, भवानी भट्ट

कैलाली, कञ्‍चनपुर — सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप ३ जना संक्रमित भएको शनिबार पुष्टि भएको छ । भारतबाट आएका दुई र स्थानीय एक महिलामा कोरोनाको संक्रमण देखिएको हो । यसअघि धनगढीका एक जनामा कोरोना संक्रमण भएको थियो ।

सुदूरपश्‍चिममा कोरोना संक्रमण तीव्र

संक्रमित महिला तिनै व्यक्तिका भाउजू हुन् । अरू दुई युवाचाहिँ भारतको महाराष्ट्र र उत्तराखण्डबाट गत चैत १० गते नेपाल आएका थिए । यससँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।


थप व्यक्तिमा संक्रमण फैलिएको खबरले सुदूरपश्चिममा त्रास बढेको छ । सुदूरपश्चिमबाट भारतमा रोजगारीका लागि गएकाहरू ठूलो संख्यामा फर्केकाले कोरोना संक्रमण भयावह बन्ने आशंकाले जनमानसमा त्रास बढेको हो ।


फागुन तेस्रो सातायता कैलालीको गौरीफन्टा नाकाबाट मात्रै १ लाख २४ हजार र कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७५ हजारभन्दा बढी व्यक्ति नेपाल फर्केका थिए । नाकाको हेल्थ डेस्क र सुरक्षा निकाय सम्बद्ध स्रोतका अनुसार उनीहरूमध्ये अधिकांश सुदूरपश्चिमका छन् ।


सुदूरपश्चिममै पहिलो संक्रमित देखिएका युवा दुबईबाट चैत ८ गते धनगढी आएका थिए । उनी तीन दिन ९ जना परिवारसँगै घरमै बसेका थिए । संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका सदस्यहरूको बिहीबार सेती प्रादेशिक अस्पतालमा थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार भाउजूको बाहेक परिवारका अन्य सदस्यहरूको रिपोर्ट प्राप्त भइसकेको छैन । धनगढीमा ११० जनाको स्वाब पठाइएकोमा ६९ जनाको मात्रै रिपोर्ट आएको निर्देशनालयका हेमराज जोशीले बताए ।


जोशीका अनुसार घरमै पुगेर संक्रमण पहिचान भएकी महिलालाई एम्बुलेन्सले अस्पताल ल्याएको थियो । हाल उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमित ३४ वर्षीय युवाको सुरुदेखि नै सोही अस्पतालमै उपचार भइरहेको छ ।


दुबईमा काम गर्दै आएका ती युवा चैत ७ गते फ्लाइट इमरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए । दिल्लीबाट उनी त्यही दिन एयर बिस्ताराको उडानबाट दिउँसो २ बजे काठमाडौं आएका थिए । दोस्रो दिन दिउँसो १२ बजे बुद्ध एयरको उडानमा नेपालगन्ज आएका हुन् । नेपालगन्जबाट उनी महेन्द्रनगर जाने हाइसमा अत्तरिया झरेर घर आएका थिए । ‘घरमा बस्दा परिवारसहित थुप्रै नातेदार र आफन्तसँग उनले भेटघाट गरेका थिए,’ एक नातेदारले भने ।


चैत १४ गते उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि अस्पताल पुर्‍याउने नातेदार भाइसहित परिवारका ९ जना सबैलाई दोस्रो दिन जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा लिइएको थियो । परिवारका सबै सदस्य क्वारेन्टाइनमा गएपछि घरमा पशु चौपाया अलपत्र परेका थिए । पछि उनीहरूकै अनुरोधमा होम क्वारेन्टाइनमा बस्ने सर्तमा उनीहरूलाई चौथो दिन घर फर्काइएको थियो । घरमा बस्दा पनि उनीहरूमा कुनै लक्षण भने नदेखिएको परिवारका सदस्यहरूले बताएका छन् । ‘कुनै पनि लक्षण नदेखिएर पनि कोरोना संक्रमण भएको सुनेर हामी अचम्म परेका छौं,’ परिवारका सदस्यले भने ।


कैलालीको लम्कीचुहा नगरपालिका घर भएका अर्का कोरोना संक्रमित २१ वर्षीय युवा भारतको मुम्बईबाट १२ गते धनगढीको गौरीफन्टा नाका हुँदै त्यसै दिन घर पुगेका थिए । घर पुगेर आधा घण्टाजति बस्न नपाउँदै छिमेकीहरूले उनलाई जोडबल गरेर प्रतापपुर क्वारेन्टाइनमा पुर्‍याएका थिए । गौरीफन्टा नाकामा उनी दिनभर अन्य एक हजारसँगै रोकिएका थिए ।


महाकालीमा ट्युवबाट तरेका थिए संक्रमित

सुदूरपश्चिममा शनिबार कोरोना संक्रमित तेस्रा युवा अवैध नाकाबाट नेपाल छिरेको खुल्न आएको छ । उनका साथमा ११ जनाको टोलीले लोहाघाट हुँदै खल्लाबाट नेपाल प्रवेश गरेको थियो । भारतसँगको नाका बन्द भएपछि लकडाउनको अवधिमा उनी उत्तराखण्डको लुहाघाटबाट हिँडेर चैत १३ गते राति टनकपुर पुगेका थिए । दोस्रो दिन चैत १४ मा बिहानै भीमदत्त नगरपालिका–९ को खल्ला क्षेत्रबाट ट्युबबाट तरेर संक्रमित सँगै ११ जना नेपाल प्रवेश गरेका हुन् ।


उनीहरूलाई नदी तर्दै गर्दा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकी पुर्‍याएको थियो । गड्डाचौकीस्थित हेल्थ डेस्कमा जाँचपछि सार्वजनिक गाडीमा राखेर वेदकोट नगरपालिका–१० सुन्दरपुरको कृषि पाइलट फर्ममा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । ‘ट्युबबाट तरेर वारि पुग्दै थिए, हाम्रो टोलीले देखिहाल्यो,’ सशस्त्र प्रहरीको ३५ नं. गणका एसपी वीर सिंह साहुले भने, ‘त्यसपछि हामीले नियन्त्रणमा लिएर गड्डाचौकी पुर्‍यायौं, त्यहाँ जाँचपछि क्वारेन्टाइनमा पठाइएको हो ।’


एसपी साहुका अनुसार उनीहरूलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीलाई पनि शनिबारदेखि नै क्वारेन्टाइनमा राखिएको छ । संक्रमितसँग जोडिन पुगेका १५ जना जतिको थ्रोट स्वाब संकलनको तयारी भइरहेको छ । महाकाली अस्पतालसँग स्वाब संकलनका लागि आग्रह गरिएको उनले जानकारी दिए ।


‘ब्रह्मदेव नाकाबाट सशस्त्र प्रहरीले ल्याएका ११ जना सबैलाई चैत १४ गतेदेखि क्वारेन्टाइनमा राखिएको हो,’ वेदकोट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिसा पालले भनिन्, ‘तिनै मध्येका एकजनामा संक्रमण देखिएको सुनिएको छ, तर आधिकारिक जानकारी भने आएको छैन ।’ उनका अनुसार संक्रमतिसँगै आएका ११ जना सबै वेदकोट नगरपालिका भित्रकै हुन् । उनीहरू लुहाघाटबाट सँगै आएका हुन् ।


संक्रमित भएका ४२ वर्षीय व्यक्तिलाई शनिबार बिहानै धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ । संक्रमित र एक अर्का व्यक्ति क्वारेन्टाइनमा एउटै कोठामा बस्थे । ११ जनामध्ये ९ जना एउटै वडाका एकै कोठामा बसेका थिए भने २ जना फरक वडाका एउटै कोठामा बसेका थिए ।


चैत २० गते नेपाली सेनाको छाउनी अस्पतालका स्वास्थ्यकर्मीको टोलीले लुहाघाटबाट आएका ११ जनासँगै त्यसपछि क्वारेन्टाइनमा आएका अन्य २ गरी १३ जनाको थ्रोट स्वाब संकलन गरेर लगेको थियो । कृषि पाइलट फार्मको क्वारेन्टाइनमा अहिले १७ जना राखिएका छन् । यहाँ रहेका सबै वेदकोट नगरपालिका क्षेत्रकै हुन् । यसैगरी भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारमै रहेका वैजनाथ माविमा राखिएका १० जनाको पनि सेनाको टोलीले स्वाब संकलन गरेको थियो ।


‘हामीले नदेखेर उनीहरू सिधै गाउँ पसेको भए, अवस्था फरक हुन्थ्यो,’ एसपी साहुले भने, ‘नाका बन्द सँगै लकडाउन भएपछि हामीले करिब तीन हजारलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएका छौं ।’ उनका अनुसार यो अवधिमा आएका अधिकांशले अवैध नाका प्रयोग गरेका छन् ।


चैत २३ देखि लकडाउन हुँदासम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ७५ हजार बढी नेपालीहरू भारतका विभिन्न ठाउँबाट आएका छन् । लकडाउन सुरु भएपछि मात्रै विभिन्न नाकाबाट ३ हजार नेपालीहरू दोधारा चांँदनी, गड्डाचौकी र ब्रह्मदेव क्षेत्रबाट नेपाल प्रवेश गरेका छन् । यसमा कतिपय ट्युबबाटै नेपाल प्रवेश गरेका पनि छन् । ‘लकडाउनको अवधिमा आएकाहरूबाट बढी जोखिम हुन सक्ने देखिन्छ,’ एसपी साहुले भने, ‘हामीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने सर्तमा मात्रै छाडेका छौं, उनीहरू क्वारेन्टाइनमै भए संक्रमण बढ्दैन ।’


कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले संक्रमित व्यक्ति नेपाल प्रवेश गरेदेखि नै क्वारेन्टाइनमा भएकाले धेरै अन्य व्यक्तिमा संक्रमणको जोखिम कम रहेको बताए । आधिकारिक रूपमा रिपोर्ट आइनसकेकाले अहिले नै केही गर्न सकिने अवस्था नरहेको उनले बताए ।


धनगढीमै परीक्षण सुरु

उच्च जोखिम देखिएपछि कोरोना भाइरसविरुद्धको परीक्षण बिहीबारदेखि धनगढीको सेती प्रादेशिक अस्पतालमा सुरु भएको छ । एकजना विशेषज्ञ सहित ४ जनाको टोलीबाट अस्पतालमा स्थापना गरिएको प्रयोगशालामा परीक्षण सुरु भएको हो । तर हालसम्म परीक्षण भएका पोजेटिभ केसहरू राष्ट्रिय प्रयोगशाला टेकु र नेपाली सेनाको छाउनी अस्पतालमा परीक्षण गरिएको हो ।

प्रकाशित : चैत्र २३, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?