गोदाममा थन्‍कियो ७५ हजार थान परीक्षण किट

अतुल मिश्र

काठमाडौँ — सरकारले कोभिड–१९ परीक्षण गर्न भनी प्रतिथान ८ अमेरिकी डलरमा किनेको ७५ हजार थान किट गोदाममा थन्‍किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म मान्यता नदिएको द्रुत परीक्षण किट थन्‍किएको हो ।

सरकारले उक्त खरिद प्रक्रिया रद्द गरेको जनाए पनि द्रुत परीक्षण किटको विश्वसनीयता स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण गर्ने बताएको थियो ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले उक्त द्रुत परीक्षण किटको गुणस्तर जाँच्न परिषद्सँग अनुरोध गरिएको प्रेस विज्ञप्ति जारी गरेका थिए । परिषद्ले प्रयोग गर्न योग्य भनेर सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोग गरिनेसमेत उनले उल्लेख गरे ।

तर परिषद्का उच्च अधिकारीहरूले आफूसँग द्रुत परीक्षण किटको गुणस्तर जाँच्ने क्षमता नरहेको बताएका छन् । ‘हालसम्म परिषद्को आफ्नो कुनै प्रयोगशाला छैन, न त हामीले नेपालमा कुनै प्रयोगशालालाई मान्यता दिन सकेका छौं,’ परिषद्का एक अधिकारीले भने, ‘किटको विश्वसनीयता जान्न सरकारले डब्लूएचओसँग समन्वय गर्नुपर्छ ।’

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले प्रविधि (द्रुत परीक्षण किट) धेरै संवेदनशील भएकाले विश्वसनीय भए मात्र प्रयोग गर्नुपर्ने बताए । ‘हामीले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको प्रविधि र स्वास्थ्य सामग्री मात्र प्रयोग गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : चैत्र २३, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फ्रान्सका ६ सय सैनिकमा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

फ्रान्स — करिब ६ सय जना फ्रान्सेली सैनिकमा कोरोना भाइरस संक्रमण भएको छ । फ्रान्सकी रक्षामन्त्री फ्लोरन्स पार्लीले शनिबार इब्रा रिजनल डेली अखबारलाई अन्तर्वार्ता दिँदै त्यसको पुष्टि गरेकी हुन् ।

मन्त्री पार्लीका अनुसार मार्च महिनाको अन्तिमसम्ममै करिब ४ सय सैनिकमा कोरोना भाइरस देखिएको थियो । त्यसयता लगभग २ सय जनामा थप संक्रमण भएको हो । 'हाम्रा ६ सय सैनिकमा कोरोना भाइरस संक्रमण भएको छ । तर फ्रान्सेली सेनाको आफ्नो लक्ष्य पूर्ति गर्ने क्षमतालाई यसले कमजोर बनाउने छैन,' उनले भनिन् ।

फ्रान्सेली सेनाको सुरक्षा पूर्वाधार सेवामा संलग्न एक सैनिकको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको पनि उनले जनाएकी छन् । फ्रान्सेली सेनामा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । त्यस अनुरुप फ्रान्सेली सेनाले निकटतापूर्वक अनुगमन गर्ने र त्यस अनुरुप चल्न अनुकूलित गरिरहेको छ ।

फ्रान्स, लक्जमवर्ग, जर्मनी लगायतका मुलुकमा फ्रान्सेली सेनाले कोरोना भाइरस संक्रमित बिरामीको उद्दार, स्थानान्तरण र उपचारमा महत्त्वपूर्ण भूमिका खेलेको पनि रक्षामन्त्री पार्लीले उल्लेख गरेकी छन् । सेनामा कोरोना भाइरस संक्रमित भएपनि राष्ट्रलाई संकट परेको यो घडीमा बिरामीहरूको उपचार, सुरक्षा, स्थानान्तरण र आपतकालीन सेवामा कुनै कमी आउन नदिने उनले जनाएकी छन् ।

प्रकाशित : चैत्र २३, २०७६ ०७:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×