कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोभिड-१९ संक्रमण दोस्रो चरणमा

विदेशबाट आएका व्यक्तिको आफन्तमा सर्‍यो भाइरस
कुल संक्रमित ९ पुगे । विदेशबाट फर्केका आठ र संक्रमितबाट सरेका एक
अतुल मिश्र

काठमाडौँ — विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोभिड–१९ को संक्रमण भएको पाइएको छ । यससँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो । दुबईबाट भारत हुँदै फर्किएका कैलालीका संक्रमित एक युवकबाट उनकी ३४ वर्षीया आफन्तमा संक्रमण सरेको शनिबार पुष्टि भएको हो ।

कोभिड-१९ संक्रमण दोस्रो चरणमा

‘यो पुष्टिसँगै नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने ।


नेपालमा यसअघि विदेशबाट आएकामा मात्र संक्रमण देखिएको थियो । पहिलोपटक पुष्टि भएको ७३ दिनपछि नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो चरण नियन्त्रणका लागि पहिलोभन्दा जटिल हुने विज्ञहरू बताउँछन् । रोकथाम र उपचारमा तेस्रो र चौथो चरण झन् जटिल हुने भएकाले लकडाउनको समय बढाउन उनीहरूले सुझाव दिएका छन् ।

कोभिड–१९ प्रभावित राष्ट्रहरूबाट आएकाहरूमा संक्रमण देखिनुलाई पहिलो चरण भन्ने गरिन्छ । उनीहरूबाट संक्रमण नजिकको सम्पर्कमा रहेका वा आफन्तमा देखिन थाल्नुलाई दोस्रो चरण मानिन्छ । दोस्रो चरणमा केही व्यक्ति संक्रमित भएको अवस्थामा कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कलाई पछ्याउनु) गर्न सजिलो हुन्छ । ‘यो स्थितिमा आइसोलेसन, सेल्फ क्वारेन्टाइन, उपचार प्रक्रियाले संक्रमण थप फैलिनबाट जोगाउन सकिन्छ,’ निर्देशक डा. पाण्डेले भने ।


संक्रमणको दोस्रो चरण रोक्न नसके समुदायमा फैलन्छ जसलाई तेस्रो चरण भनिन्छ । तेस्रो चरणमा मुलुक गयो भने ठूलो जनसंख्या संक्रमित हुन सक्छ । चौथो चरण संक्रमणको सबैभन्दा नराम्रो अवस्था हो । यस अवस्थामा संक्रमणले महामारीको रूप धारण गर्छ जसलाई नियन्त्रण गर्न अत्यन्त गाह्रो हुन्छ । ‘हामीले जे, जसरी, जुन प्रकारले भए पनि संक्रमणको विस्तारलाई दोस्रो चरणबाट तेस्रोमा जान दिनु हुँदैन, नत्र हामी महामारीको भुमरीमा फस्छौं,’ डा.पाण्डेले भने । विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका सबै व्यक्तिको सम्पर्क पछ्याउँदै परीक्षण, क्वारेन्टाइन, उपचार गरेर यो चरणलाई नियन्त्रण गर्न सकिने उनले बताए ।

नेपालमा पहिलोपटक चीनको वुहानबाट फर्किएका ३२ वर्षीय नेपाली विद्यार्थीमा गत माघ ९ मा संक्रमण देखिएको थियो । शनिबार भने तीन जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलालीकी ती ३४ वर्षीया महिलाबाहेक भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक र उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमित भएकाको संख्या ९ पुगेको छ । डा. देवकोटाले संक्रमण दोस्रो चरणमा गइसकेको अवस्थामा क्वारेन्टाइन अनिवार्य रहेको बताए ।


संक्रमण देखिएका दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । धनगढी अस्पतालमा ३ जना र बाग्लुङस्थित अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको छ । शनिबार स्थानीय रूपमा संक्रमित महिलासहित भारतबाट फर्किएर संक्रमण देखिएका ३ जना सेती प्रदेश अस्पताल धनगढीको आइसोलेसन कक्षमा छन् । आठै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको डा. देवकोटाले बताए । सुरुका संक्रमित भने निको भइसकेका छन् ।

भाइरोलजिस्ट डा. पाण्डेले धेरैतिर क्वारेन्टाइनमा व्यक्तिबीच हुनुपर्ने दूरी कायम नभएको बताए । ‘क्वारेन्टाइनमा एकबाट अर्को व्यक्तिबीच तीन फिटभन्दा बढी दूरी कायम राख्नुपर्छ, खानपानको व्यवस्था हुनुपर्छ, क्वारेन्टाइनको गुणस्तर कायम राख्नुपर्छ,’ उनले भने ।


परीक्षण नबढाए झन् जोखिम

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माघ १३ गतेदेखि कोभिड–१९ को परीक्षण गर्दै आएको छ । शुक्रबारसम्ममा १ हजार २ सय ४१ जनाको संक्रमणको स्थिति थाहा पाइएको छ । त्यसबाहेक चीनको वुहानबाट ल्याइएका १७५ नागरिक, उनीहरूलाई ल्याएको विमानका १८ जना कर्मचारी र ७ जना स्वास्थ्यकर्मीको पनि दुईपटक कोभिड–१९ भए–नभएको परीक्षण गरिएको थियो ।


विशेषज्ञहरूले परीक्षण दायरालाई व्यापक नबनाए संक्रमणले महामारी लिने चेतावनी दिएका छन् । लकडाउनको समय सदुपयोग गरेर संक्रमित पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ‘गाइडलाइन’ अनुसार जति सक्यो धेरै नमुना परीक्षण गर्न उनीहरूले सुझाव दिए ।

आम मानिसले घरमै रहेर संक्रमण रोक्न सघाइरहेको समयमा परीक्षणको दायरामा व्यापक बनाउँदै रोगी पत्ता लगाएर आइसोलेसनमा उपचार गर्नुपर्ने विशेषज्ञहरूले बताए । उनीहरूले अब संक्रमितको संख्या अझ बढ्न सक्ने भएकाले प्रयोगशाला परीक्षणको दायरा विस्तारमा ढिलाइ गर्न नहुने बताए ।


हाल जनकपुर, धरान, हेटौंडा, पोखरा, धनगढी, सुर्खेत गरी ६ ठाउँबाट पनि परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए । उनका अनुसार आइतबारबाट चितवन र बुटवलमा समेत कोभिड–१९ को परीक्षण हुनेछ ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले सरकारले परीक्षणको दायरा विस्तार गर्नुपर्ने कुरा नीति गत रूपमा स्वीकार गरे पनि कार्यान्वयन नगरेको बताए । ‘सरकारले कोभिड–१९ विरुद्ध ठीकै रणनीति बनायो, यो जसरी कार्यान्वयन हुनुपर्ने हो भएन,’ उनले भने, ‘न्यून परीक्षणले संक्रमण स्थानीय वा समुदायमा फैलिएको थाहा हुँदैन ।’


डा. वन्तले शंकास्पदलाई राख्न भनी बनाइएका अधिकतर क्वारेन्टाइन मापदण्डअनुसार नभएको बताए । ‘क्वारेन्टाइनमा व्यक्तिलाई राख्दा आवश्यक पर्ने प्रावधान लागू गरिएको देखिँदैन,’ उनले भने, ‘आइसोलेसन वार्ड पनि जस्तो हुनुपर्ने हो, त्यस्तो देखिँदैन ।’

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले पनि कोभिड–१९ परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिए । परीक्षण, संक्रमण पहिचान, अन्य व्यक्तिमा फैलिन नदिने लगायतका प्रक्रिया अपनाउँदै लकडाउनलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ ।


डा. वन्तले अहिले नेपाल र भारतमा देखिएको संक्रमणको अवस्थालाई हेरेर लकडाउन यति गते खोल्न उपयुक्त हुन्छ भनी तोक्न नसकिने बताए । ‘भारत र नेपाल भूगोल र समाजका दृष्टिले एउटै क्षेत्र हो, दुवैको जोखिम उस्तै छ,’ उनले भने, ‘भारतमा समुदायमा संक्रमण भएको छ, भोलि संक्रमणको दर अझ बढ्न सक्ने देखिएको छ । त्यसैले हामीले समेत त्यही स्तरको सतर्कता अपनाउनुपर्छ ।’

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले दिनमा कम्तीमा एक हजारको नमुना परीक्षण नभएसम्म संक्रमणको वास्तविक स्थिति थाहा नहुने बताए । ‘परीक्षण सुरु भएको दुई महिना भइसक्यो, परीक्षण गर्ने प्रयोगशालाको विस्तार गरियो । तर दिनमा सयभन्दा बढीको परीक्षण नहुने स्थिति हुनु दु:खद हो,’ उनले भने ।


अब क्वारेन्टाइन १४ दिनभन्दा बढी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टाइनमा बस्ने समय १४ दिनबाट बढाउने बताएका छन् । १४ दिन बित्दासमेत केहीलाई संक्रमण देखिएकाले क्वारेन्टाइनको सीमा बढाउन जरुरी रहेको बताए । विभिन्न ठाउँमा विदेशबाट आएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरिएको थियो ।

प्रकाशित : चैत्र २३, २०७६ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?