भारतबाट आएका दुवै संक्रमित आएकै दिनदेखि क्वारेन्टाइनमा

‘दुवैको धेरैतिर सम्पर्क भएको देखिएको छैन’

चैत्र २२, २०७६

अर्जुन शाह

धनगढी — शनिबार स्वास्थ्य मन्त्रालयले थप तीनजनामा कोरोना संक्रमण पुष्टि गरेसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ४ पुगेको छ । सुदूरपश्चिम सबभन्दा धेरै संक्रमित भएको प्रदेश हुनुका साथै विदेशबाट आएकाबाट स्थानीयमा सरेको पहिलो केस पनि यहीं देखिएको छ । 

संक्रमण देखिएका भारबाट आएका दुई युवामध्ये एक कैलालीको लम्कीचुहा नगरपालिकाका  हुन् । यी २१ वर्षीय भारतको मुम्बईबाट १२ गते धनगढी नजिकैको गौरीफन्टा नाका हुँदै आएका थिए । 


उनी त्यसैदिन सोझै घर पुगेका थिए । घर पुगेको आधा घन्टाजतिमा नै उनलाई छिमेकीहरुले प्रतापपुर क्वारेन्टाइनमा पुर्‍याएका थिए ।


अर्का संक्रमित युवा भने कञ्चनपुर वेदकोट नगरपालिका १० का हुन् । ४१ वर्षीय उनी भारतकै उत्तराखण्डबाट १४ गते लोहाघाट ब्रम्ह्रदेव (टनकपुर) हुँदै आएका थिए । उनलाई सशस्त्र प्रहरीले गड्डाचौकी सीमा नाका हुँदै लालपुरमा कृषि फर्ममा बनाइएको क्वारेन्टाइनमा राखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 


‘यी दुवै युवाको धेरैतिर सम्पर्क हुन नपाएको हिस्ट्रि बुझेका छौं,’ निर्देशनालयका एक अधिकृतले भने, ‘भोली विस्तृत थाहा हुन्छ ।’ 


यी दुवैको थ्रोट स्वाब परीक्षका लागि काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । जसको परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको हो । 


दुवईबाट आएका युवा र उनीबाट संक्रमण सरेकी भाउजु दुवैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । यीबाहेक भारतबाट नेपाल आएका अन्य दुई पुरुषमा पनि संक्रमण देखिएको हो ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully