फ्रान्सका ६ सय सैनिकमा कोरोना संक्रमण- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्सका ६ सय सैनिकमा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

फ्रान्स — करिब ६ सय जना फ्रान्सेली सैनिकमा कोरोना भाइरस संक्रमण भएको छ । फ्रान्सकी रक्षामन्त्री फ्लोरन्स पार्लीले शनिबार इब्रा रिजनल डेली अखबारलाई अन्तर्वार्ता दिँदै त्यसको पुष्टि गरेकी हुन् ।

मन्त्री पार्लीका अनुसार मार्च महिनाको अन्तिमसम्ममै करिब ४ सय सैनिकमा कोरोना भाइरस देखिएको थियो । त्यसयता लगभग २ सय जनामा थप संक्रमण भएको हो । 'हाम्रा ६ सय सैनिकमा कोरोना भाइरस संक्रमण भएको छ । तर फ्रान्सेली सेनाको आफ्नो लक्ष्य पूर्ति गर्ने क्षमतालाई यसले कमजोर बनाउने छैन,' उनले भनिन् ।

फ्रान्सेली सेनाको सुरक्षा पूर्वाधार सेवामा संलग्न एक सैनिकको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको पनि उनले जनाएकी छन् । फ्रान्सेली सेनामा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । त्यस अनुरुप फ्रान्सेली सेनाले निकटतापूर्वक अनुगमन गर्ने र त्यस अनुरुप चल्न अनुकूलित गरिरहेको छ ।

फ्रान्स, लक्जमवर्ग, जर्मनी लगायतका मुलुकमा फ्रान्सेली सेनाले कोरोना भाइरस संक्रमित बिरामीको उद्दार, स्थानान्तरण र उपचारमा महत्त्वपूर्ण भूमिका खेलेको पनि रक्षामन्त्री पार्लीले उल्लेख गरेकी छन् । सेनामा कोरोना भाइरस संक्रमित भएपनि राष्ट्रलाई संकट परेको यो घडीमा बिरामीहरूको उपचार, सुरक्षा, स्थानान्तरण र आपतकालीन सेवामा कुनै कमी आउन नदिने उनले जनाएकी छन् ।

प्रकाशित : चैत्र २३, २०७६ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना पुष्टि भएको दिन लामो सुस्केरा लिएको थिएँ

शेरबहादुर पुन

'नमस्ते डा'साब !'भर्खरै बिरामी हेरेर केही सेकेन्डको खाली समयमा थिएँ। मेरो एकाग्रतालाई भंग गर्ने गरी सोध्ने ती व्यक्तिलाई मैले सहजै पहिचान गर्न सकिनँ। अलिकति अलमलिएँ।

नअलमलिनु पनि कसरी, कैयौं बिरामीको आवतजावत भइरहन्छ। त्यसमा पनि उनले टोपी लगाएका थिए, जसले गर्दा आधा अनुहार मात्र देखिएको थियो।

म अलि अलमलमा परेको देखेर होला उनैले आफ्नो परिचय दिँदै भने, 'डा'साब म कोरोनाको उपचार गरेर गएको थिए नि!'

बल्ल मलाई याद आयो। उनी नै पहिलो र हालसम्म पूर्ण रुपमा ठीक भएर गएका कोरोना संक्रमित बिरामी थिए। उनी नेपालको पहिलो कोरोना विजयी थिए। कोरोना संक्रमण हुँदैमा सबै मरिहाल्दैनन् है भन्ने बलियो उदाहरण पनि। नेपालको लागि मात्र होइन विश्वको लागि सकारात्मक सन्देशको संवाहक थिए उनी।

मलाई अर्को कुराको पनि सम्झना आयो। जुन मसँगै सम्बन्धित छ। स्वास्थ्य मन्त्रालयले पहिलोपटक नेपालमा कोरोना देखिएको घोषणा गर्दैगर्दा मैले लामो सुस्केरा लिएको थिएँ। त्यो प्राकृतिक थियो। लामो सुस्केराभित्र केही त्रास तर बढी चाख र जिज्ञासा/खुल्दुली थियो। त्यो बेला छिमेकी देश चीनमा यही भाइरसले हजारौंको ज्यान लिँदै गरेको समाचार भुसको आगोसरि विश्वभर फैलँदै थियो। यस्तो अस्वाभाविक सुस्केरा निकाल्नु पनि स्वाभाविक नै थियो। किनभने यो भाइरसको जन्म हुँदादेखि नै मैले नजिकबाट यसलाई नियालिरहेको थिएँ। हाल पनि पछ्याइरहेको छु।

तर नेपालमा कोरोना भाइरसको प्रकोप देखिनुपूर्व 'काल्पनिक कोरोना' भाइरसको त्रासले समाजमा ठूलो प्रभाव पार्‍यो। सजग र सतर्क हुनु आफैंमा राम्रो कुरा हो तर विदेशका घटनाक्रम हेरेर आफू पनि त्यही अवस्थामा छु कि भनेर सोच्नाले मनोवैज्ञानिक तनाव र त्रास बढाएको छ। यसले रोगसँग लड्ने मनोबललाई गिराउँछ। कोही विदेशबाट आउनेबित्तिकै उसले सबै टोल/गाउँ नै सखाप पार्छ भन्ने सोचले व्यापकता पाएको देखिन्छ। यसले एक-अर्कामा अविश्वासको खाडल बनाएको वा बनाउँदै गएको देखिन्छ।

विदेशबाट आएकाहरुले पनि इमानदारपूर्वक १४ दिने क्वारेन्टाइनमा बस्नैपर्छ। यसको व्यवस्थापन अर्को ठूलो चुनौती भएको देखिन्छ। विशेषगरी पूर्व, पश्चिम र दक्षिणबाट अत्यधिक मानिसको लर्को लागेको र उनीहरुलाई राख्ने ठाउँको अपुग भएको समाचार सार्वजनिक भएका छन्। उनीहरुको सम्पर्क कोसँग, कहिले र कसरी भयो/हुँदै छ भनेर हेर्ने जनशक्तिको समेत अभाव हुँदा भोलि ठूलो दुर्घटना ननिम्तेला भन्न सकिँदैन।

नेपालको पहिलो कोरोना संक्रमित भन्छन्- 'नडराउनुस्, बिस्तारै निको भइन्छ'

हाल कोभिड-१९ ले पूर्व (चीन) बाट सिधै पश्चिममा पुगेर धेरैको ज्यान लिइरहेको छ। सरसर्ती हेर्दा यो भाइरसले पूर्वबाट अपवाद संख्या छाडेर एकैपटक पश्चिमका देशमा ठूलो मानवीय क्षति पुर्‍याइरहेको छ। यस भाइरसको बारेमा विदेशी भाषामा लेखिएको पहिलो लेखमध्ये मेरो नेपालीमा प्रकाशित लेख पनि पर्छ। मध्यरातमा सो लेख लेख्दै गर्दा आजको मितिसम्म यस्तो भयावह स्थिति सिर्जना हुन्छ भनेर कल्पनासमेत गरेको थिइनँ। सिंगापुर, हङकङ, कोरियाजस्ता देशले कोरोना संक्रमित देखिनासाथ नियन्त्रणका उपाय कडा रुपमा अपनाउँदा व्यापक फैलावटबाट रोकेको देखिन्छ। यद्यपि संक्रमितको संख्यामा भने आगामी दिनमा केही घटबढ हुन सक्नेछ। तर यी देशमा एकैदिनमा सयौंको संख्यामा कोरोना भाइरसको कारण मृत्युवरण गर्नुपरेको समाचार सुन्नुपरेको छैन।

नेपालमा पनि आयातित केसहरु बढ्दै गइरहेको अवस्थामा समुदायमा नजाओस् भन्नका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ। 'सोसल डिस्ट्यान्स' कोरोना भाइरसको प्रसारण रोक्नमा सबैभन्दा प्रभावकारी विधि मानिन्छ। हालको लकडाउनले सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको छ। यद्यपि यसको पालनामा भने अझै कडाइ गर्न जरुरी छ।

स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा कवच (पीपीई) कोरोना शंकास्पद वा संक्रमितको उपचार गर्दा सबैभन्दा आवश्यक सामग्री हो। यसको प्रयोगबिना काम गर्दा स्वास्थ्यकर्मी आफैं संक्रमित हुनसक्ने र थप अरुलाई संक्रमण फैलाउन सक्ने सम्भावना रहन्छ। हुन त पीपीई संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीले मात्र लगाए पनि पुग्ने हो। तर जुन अस्पतालमा फिबर क्लिनिक चलाइएको छ, त्यहाँका स्वास्थ्यकर्मीलाई पनि पीपीईको व्यवस्था गरिनुपर्छ।

वैज्ञानिक अनुसन्धानात्मक लेखहरुले लक्षणविहीन संक्रमितबाट पनि अरुलाई कोरोना सर्न सक्छ भनेर देखाएको छ। नेपालमा हालसम्मका कोरोना संक्रमितमा लक्षण कडा भएको देखिएको छैन वा लक्षणविहीन अवस्थामा भेटिएका छन्। यो अवस्था नै हाम्रा लागि सबैभन्दा चुनौतीपूर्ण देखिएको छ। हाम्रो प्रोटोकलमा विदेशबाट आए पनि लक्षण नदेखिए प्रयोगशाला परीक्षण गर्नु पर्दैन भन्ने छ। यदि विदेशबाट आएको व्यक्ति संक्रमित रहेछ र क्वारेन्टाइनमा बसेको रहेनछ भने सो व्यक्तिले अरुलाई सार्ने सम्भावना अत्यधिक हुन्छ। यस्तो अवस्थामा स्थानीय सरकारले कडा अनुगमन गर्न सक्नुपर्छ, नत्र भने ती सबै व्यक्तिको नमुना ( लक्षण भए पनि नभए पनि) संकलन गरी जाँच गर्नुपर्छ। यसले सुरुवाती समयमा संक्रमण पत्ता लाग्नेछ र उपचारमा सहजता ल्याउनेछ।

हालै नेपालमा पहिलोपटक स्थानीयस्तरमा कोरोना संक्रमण देखिएको कुरा सार्वजनिक भएको छ। यो नै ठूलो दुर्घटना नभए पनि हामीले अझै हेलचेक्रयाइँ गर्दै गए अप्रिय घटना हुन सक्नेतर्फ भने यसले संकेत गरेको देखिन्छ। अब स्थानीयस्तरमा कोरोना देखिएको ठाउँमा छिटोभन्दा छिटो 'कन्टयाक ट्रेसिङ' गरेर सबैलाई परीक्षणको दायरामा ल्याउनुपर्छ। यो समुदाय स्तरमा पुग्नु अगावै द्रुत गतिमा गरिसक्नुपर्नेछ।

अब जोखिमको स्तर ह्वात्तै बढेकाले हामीले नयाँ रणनीतिका साथ अगाडि बढ्नुको विकल्प छैन। कोरोनाको संक्रमण फैलिएको पनि तीन महिना पुगिसकेको छ। यस अवधिमा नेपालले युरोप तथा अमेरिका जस्तो नियति भोग्नुपरेको त छैन तर आगामी दिनमा त्यस्तै नियति भोग्नु नपरोस् भन्नाको लागि हाल देखिएको कमीकमजोरीलाई सुधार्दै लैजानुपर्छ। यो विषम घडीमा हामी सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरौं र एकजुट भई कोरोनाविरुद्ध लडौं।

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)

प्रकाशित : चैत्र २३, २०७६ ०६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×