कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छैटौं दिन पनि उठेन बाबुरामको शव

‘अस्पतालमा भेन्टिलेटर र आईसीयूको अपर्झट व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी भयो : मन्त्री बराल
सन्जु पौडेल

तिलोत्तमा — करिब एकसाता अघि बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देहीको सैनामैनाका बाबुराम थापाको शव अझै परिवारले बुझेका छैनन । गत चैत १६ गते मृत्यु भएका उनको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमै छ । 

छैटौं दिन पनि उठेन बाबुरामको शव

कोभिड–१९ संक्रमणको आशंकामा उक्त अस्पतालमा आइसोलेसनमा राखिएका उनको उपचारमा लापर्बाहीका कारण ज्यान गएको भन्दै बाबुरामकी पत्नी रीताले शव बुझन मानेकी छैनन् ।

स्वाब परीक्षणबाट उनलाई कोरोना संक्रमण नभएको पुष्टि भएको थियो । त्यसपछि परिवारले कोरोना संक्रमणको आशंकामा उपचारमा ध्यान नदिँदा ज्यान गएको आरोप लगाएका छन् । पत्नी रीताले मृत्युको कारण छानबिन, राहत र दुई सन्तानको पढाइलगायत विषयमा आफूले राखेका माग पूरा नभएसम्म शव नबुझ्ने अडान दोहोर्‍याएकी छिन् ।

बाबुरामको मृत्युपछि उनको स्थायी घर रहेको पाल्पाको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसी सैनामैनामा परिवारलाई भेट्न र समवेदना प्रकट गर्न आएका थिए । बीसीले दुखद घटना भएको जनाउँदै अब छोराहरुको भविष्य बनाउन रीताले बलियो भएर अघि बढ्नुपर्ने सुझाव दिएको बताए । उनले अस्पताल र चिकित्सकको लापर्बाही भनेर लामो समय शव बेवारिसे छाड्न नहुने बताए । परिवारका अन्य सदस्यसित बुझ्दा शव रहेको स्थानमा जान केही डराएको बताएको बीसीले जनाए ।

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले मृतकका परिवारसँग सम्पर्क गरिरहेको र शुक्रबार बिहानसम्म आधिकारिक कुरा नआएको बताए । ‘अस्पतालमा भेन्टिलेटर र आईसीयूको अपर्झट व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी भयो,’ मन्त्री बरालले भने, ‘हाम्रो व्यवस्थापनको गल्ती स्वीकार्य छ, तर चिकित्सकको लापर्बाही र अस्पतालको कमजोरी भन्ने कुरा गलत हो ।’

कोरोना संक्रमण आशंका गरिएकालाई स्वाब परीक्षण रिपोर्ट नआउन्जेल श्वासप्रश्वासमा समस्या भयो भनेर अरु बिरामी राखिएको आईसीयूमा राख्न नमिलेको र रिपोर्टको पर्खाई र उपचार हुँदै गर्दा मृत्यु भएकाले परिवारले शव व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

मृतकका केही आफन्तले सरकारी पक्षबाट शवको दाहसंस्कार गर्न आग्रह गरिएको समेत बरालले बताए । श्रीमती रीता र नजिकका आफन्तबाट आधिकारिक कुरा आएमा प्रहरीलाई जिम्मा दिएर शवको दाहसंस्कार गर्ने व्यवस्था मिलाउने उनले बताए ।

यो पनि पढ्नुहोस्ः

‘ज्वरोको उपचार नपाएर श्रीमान्‌को मृत्यु भयो, न्याय नपाएसम्म शव उठाउँदिनँ’

बुटवलको कोरोना अस्पतालमा युवकको मृत्युबारे छानबिन माग

प्रकाशित : चैत्र २१, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?