‘ज्वरोको उपचार नपाएर श्रीमान्‌को मृत्यु भयो, न्याय नपाएसम्म शव उठाउँदिनँ’

कोरोना विशेष अस्पतालमा रहेका बेला उनी भन्थे, ‘डाक्टर आउँदैनन्, आफैंले ज्वरो नापेर आराम गर्ने हो ।’
सन्जु पौडेल

रुपन्देही — बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना भएका बेला बाबुराम थापा छिनछिनमा श्रीमती रीतालाई ‘भिडियो कल’ गर्थे र ‘निको भएर फर्किन्छु’ भन्थे । आफू बसेको शय्या र वरिपरि देखाउँथे । ‘खाना रुच्दैन,’ उनी भन्थे ।

‘ज्वरोको उपचार नपाएर श्रीमान्‌को मृत्यु भयो, न्याय नपाएसम्म शव उठाउँदिनँ’

रीता सोध्थिन्, ‘डाक्टर आउँछन् कि नाई ? एक्लै हो कि साथी छन्, के औषधि चलाएका छन् ?’ बाबुराम भन्थे, ‘डाक्टर आउँदैनन्, आफैंले ज्वरो नापेर आराम गर्ने हो । म रहेको वार्डमा अरू कोही छैनन् ।’


बाबुरामले खाँदै गरेको औषधि घरमै छुटेको थियो । उनले श्रीमतीलाई ‘फोटो खिचेर पठाइदेऊ, यतै किन्छु’ भनेका थिए । उनले गत शनिबार (चैत १५ गते) राति साढे ८ बजे रीतासँग भिडियो कलमा थोरै खाना खाएको र औषधि दिन डाक्टर आएको बताए । उनले पत्नीलाई ‘बाबुहरूलाई खाना खुवाएर सुत, पीर नगर, म निको भएर आउँछु’ भने ।

आइतबार बिहान पौने ७ बजे रीताले फोन गरिन् । फोन उठेन । प्रयास गरिरहँदा साढे ८ बजेतिर फोन उठ्यो । आवाज प्रस्ट थिएन । ‘अहः अहः भनेको सुनियो,’ रीताले कान्तिपुरसित भनिन्, ‘मेरा हातखुट्टा लुला भए ।’


रीताले बुटवलमा रहेका केही साथीलाई फोन गरेर अवस्था बुझ्न लगाइन् । पति गम्भीर बिरामी भएपछि डाक्टरले जाँच गरेर अक्सिजन चढाएको जानकारी उनले पाइन् । त्यसपछि अत्तालिँदै उनी स्थानीय स्वास्थ्य चौकी पुगिन् । स्वास्थ्यचौकी प्रमुख केशवराज भण्डारीलाई श्रीमान्को अवस्था जानकारी गराइन् ।


स्वास्थ्यचौकी प्रमुख भण्डारीका अनुसार रीता ‘श्रीमान्ले श्वास फेर्न सक्नुभएन’ भन्दै रोइन् र ‘यहाँ नभए एम्बुलेन्समा काठमाडौं लैजान्छु’ भनिन् । भण्डारीले नै एम्बुलेन्स खोजेर रीतालाई बुटवल पठाए । स्थानीय बासिन्दा मिलेर बुटवल जाने तयारी भइरहेका बेला आइतबार दिउँसो १ बजे बाबुरामको मृत्युको खबर पाएको उनले सुनाए ।


बुटवल उपमहानगरपालिकाले तयार गरेको कोरोना अस्पतालमा बाबुरामको मृत्यु हुँदासम्म उनलाई लागेको रोग खुलाइएको थिएन । उनको स्वाब परीक्षणका लागि पठाइएको थिएन । उनमा कोभिड–१९ आंशका गरिए पनि पुष्टि भएको थिएन । स्वाब परीक्षणको रिपोर्ट सोमबार अपराह्न आयो जसमा कोभिड–१९ संक्रमण नभएको देखियो ।


बाबुरामलाई लुम्बिनी प्रादेशिक अस्पतालबाट कोभिड–१९ को आंशकामा आइसोलेसनमा पठाइएको थियो । त्यति बेला उनको उपचारमा गम्भीर ध्यान नदिएको पाइएको छ । दुबईबाट फर्किएका श्रीमान्ले ज्वरोको उपचार नपाएर ज्यान गुमाउनुपरेको रीताले दुखेसो गरिन् । ‘न्याय नपाएसम्म शव उठाउँदिनँ,’ उनले भनिन् ।


रीतालाई ढाडस दिन घरका सदस्य र माइतीबाट कोही आएका छैनन् । लकडाउन छ । स्वाबको नमुना परीक्षणमा नेगेटिभ देखिए पनि त्रास छ । ‘मैले त श्रीमान् गुमाएँ,’ रीताले भनिन्, ‘अब यी छोराको पालनपोषण गर्ने आधार चाहिन्छ ।’


पाल्पा रिब्दिकोटका बाबुराम पहिले बुटवलमा अस्पतालकै गाडी चलाउँथे । उनले ०६५ सालमा विवाह गरेका हुन् । थापा दम्पतीका सात र छ वर्षका दुई छोरा छन् । दुवै छोरा बाबा आउने आसमा कोठामा बसेका छन् । बाबुरामसँगै दुबईबाट आएका सालझन्डीका एक जना अहिले सैनामैनास्थित प्राकृतिक चिकित्सालयको कवारेन्टाइनमा छन् ।


कोरोना विशेष अस्पतालका सूचना अधिकृत डा. विष्णु गौतमले रीताले साना छोराको पढाइ र लालनपालनका लागि सरकारबाट राहत पाउने विश्वास राखेको बताए । ‘सरकारी अस्पताल भएकाले सरकारको निर्णय कुर्नुपर्छ,’ उनले भने, ‘छानबिन र पोस्टमार्टम गर्ने कुरामा हामी सकारात्मक छौं ।’ बाबुरामको के कारणले मृत्यु भयो भन्ने पत्ता लाएर न्याय दिनु उचित रहेको गौतमले बताए ।


बाबुराम किन गए अस्पताल ?

रीताका अनुसार बाबुरामले गत चैत ६ गते दुबईबाट फोन गरेर नेपाली समयअनुसार बिहान ४ बजे उड्ने बताएका थिए । उनी त्यही दिन मध्याह्न काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिए । विमानस्थलमा जाँच्दा उनमा ज्वरो देखियो । त्यसपछि उनलाई स्वास्थ्य परीक्षणका लागि राखियो । अर्को पटक जाँच्दा ज्वरो नदेखिएपछि पुनः ज्वरो आए चेकअप गराउने सल्लाह दिएर घर पठाइयो ।


बाबुराम त्यही दिन राति १० बजे बसमा सैनामैना–४ स्थित घर आइपुगे । उनलाई ज्वरो आउँछ कि भन्ने डर थियो । अर्कोतिर छोरा र श्रीमतीसँग रमाउने रहर पनि । घरमा आफैं ज्वरो नापिरहेका उनी चैत ७ गते बिहान स्थानीय आचार्य मेडिकलमा गए । त्यहाँ ज्वरो नपाए र रगत जाँच गराए । रिपोर्टमा टाइफाइड देखिएपछि मेडिकलले औषधि दियो । औषधि सुरु गरेपछि उनलाई खाना रुचेको थिएन ।


बाबुराम रीतासँग चैत १२ गते बिहान सैनामैना–४, स्थित पर्रोहा स्वास्थ्य चौकीमा जँचाउन गए । स्वास्थ्य चौकीका प्रमुख भण्डारीका अनुसार दुई पटक जाँच्दा पनि ज्वरो थिएन । ‘पीपीई लगाएर परीक्षण गरेका थियौं,’ उनले भने, ‘अहिले ज्वरो नआए पनि घरमा सेल्फ क्वारेन्टाइनमा बस्न र १३ गते बिहान आउन सम्झाएर पठायौं ।’


यसबीच टोलमा विदेशबाट आएको बिरामी मान्छे छ, त्यसले डामाडोल पार्ने भयो भन्ने गाइँगुइँ चल्यो । त्यो बाबुराम र रीताको कानमा पनि पर्‍यो । रीताका अनुसार घरबेटीले स्वास्थ्य जाँच भइरहेको र कोभिड–१९ लक्षण नभएको हुनाले त्यस्ता कुरा नगर्न आग्रह गरेका थिए ।


थापा दम्पती चैत १३ गते पुनः स्वास्थ्य चौकी गए । ज्वरो थिएन । छाती दुखेको हुनाले स्वास्थ्यचौकी प्रमुखले प्रहरीको सहायतामा अटोरिक्सामा बुटवल जान सल्लाह दिए । बाबुराम आफैं अटोमा बसेर बुटवल आए । ‘मैले सँगै जान्छु भनेकी थिएँ, उहाँले छोराहरू छन् घरमै बस, म आउँछु भन्नुभयो,’ रीताले सुनाइन् ।


बाबुरामले लुम्बिनी प्रादेशिक अस्पतालमा आएर जाँच गराए । अस्पतालले कोभिड–१९ को आशंकामा त्यसै दिन आइसोलेसन अस्पतालमा पठायो । आइसोलेसनमा राखेको चार दिनसम्म स्वाब परीक्षण गरिएन । जब परीक्षणका लागि स्वाब लगियो, रिपोर्ट नआउँदै बाबुरामले सधैंका लागि आँखा चिम्लिसकेका थिए ।

प्रकाशित : चैत्र १९, २०७६ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?