वारि चिन्ता, पारि उस्तै

चैत्र २१, २०७६

जितेन्द्र साह

विराटनगर — सीमापारिका गाउँसहरमा पुग्यौं भन्ने स्थानीयले बेलाबेलामा भारतीय टीभी च्यानल खोलिरहेका हुन्छन् । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दा सीमा क्षेत्रका नेपालीमा त्रास बढ्छ ।

‘खुला सीमा छ, जति छेके पनि उताका यता र यताका उता पुगिहाल्छन्,’मोरंगको रंगेली–७ का व्यवसायी सुभाष शाह भन्छन्,‘विहेबारीका कारण दुवैका दुवैतिर नातागोता छन्, एक अर्काको चासो र चिन्ता भइहाल्छ नि ।’  


नेपाली भाषा बुझ्ने सीमापारी तिरकाले पनि हालखबर बुझनलाई बेलाबेलामा नेपाली टीभी र रेडियो खोल्छन् । ‘नेपालमा बिहे भएको हुनाले पारिवारिक र सामाजिक नाता छ,’ विहारको लेटिका अरुण शाह भन्छन्,‘इन्टरनेटको सहयोगले नेपालका रेडियोटीभी खोलेर जानकारी लिन्छु ।’ रंगेली र लेटीबीच करिब ५ किमीको दुरी होला ।


विहार फारविसगञ्जका हार्डवेयर व्यवसायी गुड्डु गुप्ताले विहार र पारी नेपालमा भाइरस नफैलियोस् भन्ने कामना गरिरहेको बताउँछन् । उनका दुई बहिनी, ज्वाइँहरु र भान्जाभाजी नेपालमै बस्छन् । ‘अरु देश र भारतकै अन्य राज्यको तुलनामा विहार एवं नेपालको अवस्था राम्रो छ,’गुप्ता भन्छन्,‘तर, लकडाउनलाई ठट्टाको रुपमा लिनु भएन, संक्रमित थलो वा विदेशबाट फर्केकाले घरमा नलुकी स्वास्थ्य जाँच गराउनु पर्छ ।’ 


तराई–मधेसबाट धेरै टाढाको दक्षिण भारतमा बसिरहेका नेपालीले पनि आफ्नो मुलुक र गृहनगरमा के भइरहेको छ भन्ने हरक्षण जान्न चाहिरह्को हुन्छन् । कोरोना भाइरस संक्रमणले भयावह रुप लिए पछि भारत एवं नेपालमा बसिरहेकालाई दुवै मुलुकको उत्तिकै चिन्ता हुनु स्वभाविककै भएको युवा सूचना प्रविधि इन्जिनियर आस्मिन भुजेल बताउँछन् ।


विराटनगरका स्थानीय उनी दक्षिण भारतको कर्नाटका राज्यको उत्तरी बैंग्लोरस्थित आईबीएम कम्पनीमा सूचना प्रविधि सुरक्षा विश्लेषक हुन् । ‘भारतमा नियन्त्रण भयो भने नेपाल त उसै पनि धेरै सुरक्षित हुन्छ,’भुजेल भन्छन्,‘भारत र नेपालले सीमामा मिलेर काम गरेमा स्थिति चाँडै सहज हुन्छ ।’ 


मेसेन्जरमा कुराकानी गर्दै उनले भारतको तुलनामा नेपालको स्थिति नीकै राम्रो रहेको हुनाले लकडाउनको राम्रो पालन, सामाजिक (शारीरिक) दूरी कायम गर्दा र शंकास्पदको तीव्र स्वास्थ्य जाँच गरेमा पुग्ने बताउँछन् । 


बंगलादेशको राजधानी ढाकामा नेपालझै सर्वत्र लकडाउन रहेको चिकित्साशास्त्रका छात्रा देवयानी भगत बताउँछिन् । उनी त्यहाँ एमबीबीएसमा अध्ययनरत छिन् । आफ्नो र सबैको सुरक्षाकालागि घरभित्रै संयमित भएर बस्नुको विकल्प नरहेको हाल अमेरिकाको न्यूयोर्कमा रहेकी अनीता परियार बताउँछिन् । कोरानोको लक्षण देखिएमा परीक्षण गराउने र सामाजिक दुरी बनाएर एक अर्काको परिवारको सुवास्थ्यको कामना गर्ने समय भएको उनी सुझाव दिन्छिन् ।

जितेन्द्र

Link copied successfully