कोराेना भित्रिन नदिन पहरा 

अटेरी गर्नेलाई ५ देखि २५ हजारसम्म जरिवाना 

चैत्र २१, २०७६

छपाल लामा

हुम्ला — कोरोना संक्रमण भित्रिन नदिन लामा बस्तीहरूमा पहरा दिन थालिएको छ । वडा कार्यालयको पहलमा पालो लगाएर पहरा दिन थालिएको हो । 

नाम्खा गाउँपालिका–१, हेप्कामा शनिबारदेखि बाहिरका मानिसलाई गाउँ पस्न निषेध गरिएको छ । स्थानीय लाल लामाले अटेर गरी गाउँ पस्नेलाई १५ हजारदेखि २५ हजारसम्म जरिवाना गर्ने निर्णय गरिएको बताए । उनका अनुसार शनिबारदेखि गाउँ पसेकालाई वडाले तयार गरेको क्वारेन्टाइनमा राखिनेछ । बस्तीका मानिस हिउँदे व्यापारमा जाने भएकाले फर्कंदा सजगता अपनाउन गाउँमा पहरा दिन थालिएको उनको भनाइ छ । 

हिमालपारिको बस्ती लिमीमा पनि बाहिरबाट आएका व्यक्तिलाई गाउँ पस्न रोकिएको छ । मूल बाटोमा युवाले पहरा दिन थालेको स्थानीय मिगिर लामाले बताए । ‘पालो लगाएर एक दिन एक घरबाट पहरा बस्न थालेका छौं,’ उनले भने, ‘कोरोना भाइरसको जोखिम बढेपछि एक सातायता नियमित पहरा दिइरहेका हौं ।’

नाम्खा गाउँपालिका–३, खंगलगाउँ पुग्ने नयाँ व्यक्तिलाई राख्न टुलुङबामा क्वारेन्टाइन निर्माण गरिएको छ । ‘अब आउने जोकोहीले १४ दिन क्वारेन्टाइनमा बसेर मात्र घर जान पाउनेछन्,’ वडाध्यक्ष छेपाल लामाले भने, ‘अटेरी गर्नेहरू जरिवानाको भागीदार हुनेछन् ।’ उनले जथाभाबी गाउँ पस्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरिने बताए । २ नम्बर वडाको केर्मीमा पहरा दिन थालिएको छ । 

सिमकोट गाउँपालिकाका १, ३ र ४ नम्बर वडास्थित लामा बस्तीमा पनि गाउँ पस्न रोकिएको ३ नम्बर वडाध्यक्ष ताक्लाजिक्मेत लामाले बताए । ‘जरिवानाको व्यवस्था नहुँदा मानिसले अटेर गर्न थाले,’ उनले भने, ‘सर्वपक्षीय बैठकले निर्णय गरेसँगै गाउँगाउँमा जनचेतनामूलक घरदैलोमा पनि जोड दिएका छौं ।’ 

छपाल

Link copied successfully