कोरोना प्रकोप : प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक सूचना जारी गरेर स्थगित

चैत्र २१, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् प्रतिनिधिसभा बैठक  लगातार तेस्रो पटक सूचना जारी गरेर स्थगित भएको छ । २३ गतेका लागि बोलाइएको बैठक पनि सूचना जारी गरेर ३० गतेसम्मका लागि सारिएको छ ।

प्रतिनिधिसभाको यसअघिको बैठक फागुन २९ गते बसेको थियो । त्यसयता चैत ७ गते, १३ गते २३ गतेका लागि बोलाइएका बैठक कोरोना भाइरसको संक्रमण फैलिने डरले सूचना जारी गरेर स्थगित गरिएको हो ।

आइतबार २३ गते १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले शुक्रबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड- १९) को संक्रमणका कारण मुलुकभर अत्यावश्यक सेवा मात्र सञ्‍चालनमा रहेको भन्दै प्रतिनिधिसभा बैठक ३० गतेसम्मका लागि स्थगित भएको सूचना जारी गरेका छन् ।

'कोभिड- १९ भाइरसको सम्भावित संक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेको कारण बस्न नसक्ने भएकाले' २३ गते संसद् बैठक बस्न नसक्ने उक्त सूचनामा लेखिएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गतेका लागि आह्वान गरेको पनि सूचनामा उल्लेख छ ।

राष्ट्रिय सभा बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

कान्तिपुर

Link copied successfully