मोरङ — भारतको दिल्लीमा चार्टर्ड एकाउण्टेण्ट अध्ययनरत दुइ युवती कोरोना प्रकोपले कलेज बन्द भएपछि रेलमार्गबाट मंगलबार सीमावर्ती भारतीय बजार जोगबनी आइपुगे । जनकपुर र काठमाडौं घर भएका उनीहरू दुवैलाई कोरोना संक्रमणको आशंकामा प्रहरीको सहयोगमा अहिले विराटनगर महानगरपालिकाले बैजनाथपुर स्वास्थ्य चौकीमा स्थापना गरेको क्वारेन्टाइनमा पुर्यायो ।
उनीहरुसँगै भारतको दिल्लीस्थित एक उद्योगमा काम गर्ने पाँच जना र रेष्टुरेन्टमा काम गर्ने एक जना पनि त्यही क्वारेन्टाइनमा छन् । उनीहरुसँगै दुबइबाट आएका विराटनगर-१५ का एक जना युवक पत्नी र छोरीसहित त्यही क्वारेन्टाइनमा बसिरहेका छन् । चैत १४ मा दुबईबाट फलाइ इमिरेट्स फ्लाइटबाट बिहान ९ बजे दिल्ली आएका उनी ६ घण्टाको ट्रान्जिटपछि भिस्तारा एयरलाइन्सको उडानबाट काठमाडौं उत्रिए । त्यही दिन बेलुका यति एयरलाइन्सको उडानबाट विराटनगर आइपुगेका हुन् ।
विराटनगर आएपछि उनीसँगै दुबइबाट आएका धनगढीका एक युवकमा कोरोना पोजिटिभ भेटिएपछि उनले विराटनगर-१५ अध्यक्ष अस्लम आलमलाई फोन गरेर आफू घर आएको जानकारी गराए । अस्लमले महानगर प्रमुख भीम पराजुलीलाई खबर गरेपछि तत्काल प्रहरीको समन्वयमा शनिबार क्वारेन्टाइनमा ल्याएर राखेको थियो ।
उनले पहिलो दिन बसाइ व्यवस्थापन नमिलेर केही समस्या भएको तर त्यसपछि सबै मिलेको र अहिलेको बसाइ रमाइलै रहेको बताए । उनको स्वाब परीक्षणमा पनि नेगेटिभ आइसकेको छ ।
उक्त क्वारेन्टाइनको तीनवटा कोठामा महानगरले ३/३ फिटको दुरीमा ११ वटा बेड राखेर उनीहरुको बर्साई व्यवस्थापन मिलाएको छ । भुइँ तल्लामा दुबईबाट आएका युवासहित उनकी पत्नी र ६ वर्षीया छोरी बसिरहेका छन् भने माथिल्लो तल्लामा एउटामा चार्टर्ड एकाउण्टेण्ट अध्ययनरत दुइ युवती र अर्को कोठामा दिल्लीबाटै आएका ६ जनाको बसाइ व्यवस्थापन मिलाइएको छ ।
उनीहरुको चिया, खाना, नास्ता र सुरक्षाका लागि महानगरले नगर प्रहरी हवल्दार रमेश निरौलाको नेतृत्वमा दुइ जना खाना पकाउनेसहित ११ जनालाई खटाएको छ ।
चार्टर्ड एकाउण्टेण्ट अध्ययनरत काठमाडौंकी युवतीले बिहान सबेरै दुवै जना उठेर नुवाइधुवाइगरेपछि शारीरिक अभ्यास गर्ने, चिया ने बताइन । 'क्वारेन्टाइनमा काम गर्ने दाइहरुले भर्याङ नजिक कपमा चिया र प्लेटमा बिस्कुट ल्याएर राखिदिनु हुन्छ, हामी कोठामा ल्याएर खान्छौं,' उनले भनिन्, 'त्यसपछि साथीसँगै छलफल गर्दै पढ्छौं र १० बजे दाल, भात, तरकारी, साग, सलाद होम प्याक ल्याइदिएपछि त्यो कोठामाल्याएर खान्छौं ।' परिवारका सददस्यका साथै साथीभाइसँग फोनमा कुरा गरेर एकछिन नेट चलाएर समाचारकासथै सामाजिक सञ्जालमा पनि समय बिताउने गरेको उनले सुनाइन् ।
बिहानको खाना खाएपछि एकछिन आराम गरेपछि पुनः अध्ययन गर्ने गरेको र दिउँसो ३ बजेतिर नास्ता खाने गरेको उनले सुनाइन् । त्यसपछि साथीसँग कुराकानी गर्दै बेलुका पनि साकाहारी खाना खाएपछि सुत्ने गरेको उनले बताइन् । प्रत्येक दिन बिहान ९ देखि ११ बजेसम्ममा चिकित्सकको टोली आउने गरेको र आँगनबाटै स्वास्थ्यसम्बन्धी जानकारी लिने गरेको उनले सुनाइन् ।
विराटनगर महानगरपालिकाले बैजनाथपुर स्वास्थ्य चौकीमा स्थापना गरेको क्वारेन्टाइनका कर्मचारीले रेनकोट लगाएकाले अनुहारमा आएको पसिना ।
'क्वारेन्टाइनमा कार्यरत कर्मचारीका साथै चिकित्सक टोलीले पनि हामीसँग टाढै बसेर व्यवहार गर्दा अलि नरमाइलो लाग्छ, तर त्यो आवश्यक पनि छ,' उनले भनिन्, 'अहिलेको समय भनेको आफू पनि जोगिएर अरुलाई पनि जोगाऔं भन्ने भावनाका साथ सकारात्मक सोच राख्नु सबैका लागि आवश्यक छ ।'
यस्तै, दुबइबाट आएका युवाको पनि क्वारेन्टाइनमा दिनचर्या यसरी नै बित्ने गरेको छ । उनले परिवारसहित क्वारेन्टाइनमा बसेकोले कुनै समस्या नभएको र रमाइलै दिन बितिरहेको बताए । फोनमा पनि परिवारका अन्य सदस्यलगायत साथीभाइसँग कुराकानी गर्ने गरेको र नेट चलाएर समाचार हेर्नुका साथै सामाजिक सञ्जालमा समेत एकछिन रमाउने गरेको उनले सुनाए ।
सुरुमा केही समस्या भएपछि बिस्तारै अभ्यस्त हुँदै गएपछि अहिले रमाइलै भइरहेको उनले बताए । क्वारेन्टाइनमा बस्ने सबै जनाले चिया, नास्ता, खाना खाएको प्लेटलगायतका फोहोर आफैंले खेतमा लगेर जलाउने गरेको उनले सुनाए ।
प्रदेश १ का २ सय १५ स्थानमा स्थापना गरिएका ३ हजार ४ सय ५४ शय्याको क्वारेन्टाइनमा हालसम्ममा १ सय ४४ महिला र ३ सय ९२ पुरुष गरी कूल ५ सय ३६ जना रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय जनाएको छ । यस्तै, भारतलगायत विदेशबाट आएका २ सय ५७ महिला र ७ सय ७८ पुरुष गरी १ हजार ३५ जना होम क्वारेन्टाइनमा बसिरहेका छन् ।
क्वारेन्टाइनको सुरक्षार्थ खटिएका हवल्दार निरौलाले सुरक्षात्मक सामग्रीबिनै काम गर्नुपर्दा डर लाग्ने गरेको बताए। सेनिटाइजर, पञ्जा, मास्क भने उपयोग गरिरगेको उनले सुनाए ।
क्वारेन्टाइनमा बस्नेहरुलाई चिया, नास्ता, खाना पुर्याउन जाँदा रेनकोट लगाएर जाँदा तुरुन्तै पसिनाले निथ्रुक्क भिजने गरेकाले केही समस्या भइरहेको उनले सुनाए । खाना, नास्ता दिएर फर्किने बित्तिकै रेनकोट, जुत्ता धुने गरेको उनले सुनाए ।
