चीनको सेन्झेनमा कुकुर-बिरालोको मासुमाथि प्रतिबन्ध

एजेन्सी

बेइजिङ — अहिले विश्व नै नोवल कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम तथा नियन्त्रणका लागि संघर्षरत छ । विश्वलाई नै आक्रान्त बनाएको भाइरस गत डिसेम्बर अन्तिममा चीनको हुबेई प्रान्तको राजधानी वुहानस्थित वन्यजन्तुको मासु बजारबाट फैलिएको आरोप लाग्दै आएको छ । 

यही आरोपकै बीच गत फेब्रुअरीमा चीनले वन्यजन्तुको व्यापार र उपभोगमा प्रतिबन्ध लगाइसकेको छ । पछिल्लो पटक चीनको सेन्झेन सहरमा पनि कुकर–बिरालोको मासु बिक्रीवितरण र उपभोगमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्धसँगै सेन्झेन कुकुर–बिरालोको मासु प्रतिबन्ध लगाउने पहिलो चिनियाँ सहर भएको छ । प्रतिबन्धसम्बन्धी कानुन मे १ देखि लागू हुने छ । पशु अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय निकाय ‘ह्युमन सोसाइटी इन्टरनेसनल (एचएसआई) का अनुसार एसियामा मासुका लागि प्रत्येक वर्ष ३ करोड कुकुर मारिने गरिएका छन् ।


‘घर पालुवा जनावरका रूपमा कुकुर र बिरालोको मानवसँग अन्य जनावरको तुलनामा नजिकको सम्बन्ध छ र हङकङ र ताइवानका साथै अन्य विकसित राष्ट्रमा मासुका लागि यिनीहरुसहित अन्य घरपालुवा जनावरको उपभोगमाथि प्रतिबन्ध लगाइएको छ,’ सेन्झेन सरकारलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ– ‘यो प्रतिबन्धले मासुका लागि घरपालुवा जनावरको उपभोग हुनु हुँदैन भन्ने मानव सभ्यताको चाहना र इच्छालाई समेत सम्बोधन गरेको छ ।’


कुकुर–बिरोलोको मासुमा प्रतिबन्ध गर्ने सेन्झेन सरकारको निर्णयको पशु अधिकारवादी संस्था एचएसआईले प्रशंसा गरेको छ । ‘चीनमा प्रत्येक वर्ष मासुका लागि १ करोड कुकुर र ४० लाख बिरालो मारिन्छन् । जीवितै वा मारेर हुने घरपालुवासहित वन्यजन्तुका क्रुर व्यापार अन्त्यका लागि सेन्झेनको पछिल्लो निर्णय एउटा युगान्तकारी अवसर हुनसक्छ,’ एचएसआईका लागि चिनियाँ नीतिका प्रमुख डाक्टर पिटर लीले बताए ।


सेन्झेनले मासुका लागि कुकर र बिरालो मार्न प्रतिबन्ध गरे पनि चीनले कोरोना भाइरसका बिरामीको उपचारका लागि भालुको पित्त प्रयोग गर्न हालै स्वीकृति प्रदान गरेको छ । चीनको परम्परागत औषधोपचारमा लामो समयदेखि भालुको पित्त प्रयोग हुँदै आएको छ । पत्थरी र कलेजोसम्बन्धी रोगको निदानका लागि भालुको पित्त प्रयोग भए पनि कोरोना भाइरस बिरामीमा यसले कतिको काम गर्छ भन्ने अझै पुष्टि भइसकेको छैन । पशु अधिकारकर्मीले भने कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा निर्दोष जनावर वा जनावरको अंग प्रयोग गर्नु नितान्त गलत भएको भन्दै विरोध जनाएका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ ११:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वडैपिच्छे विपद् कोष 

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाले विपद् कोष स्थापना गरेका छन् । कोभिड–१९ को सम्भावित संक्रमण नियन्त्रणका लागि मध्यपुर थिमिले तीन करोड र चाँगुनारायणले दुई करोड ५० लाख रुपैयाँको कोष खोलेका हुन् ।

मध्यपुर थिमिका नौ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा पाँच–पाँच लाख रुपैयाँको वडा विपद् कोष समेत स्थापना गर्ने निर्णय भएको छ । नगरपालिकाले खाद्यान्न आपूर्ति, राहत व्यवस्थापन तथा वितरण समिति गठन गरेर वडामार्फत वितरण थालेको छ । नगर क्षेत्रभित्र एकद्वार प्रणालीमार्फत राहत बाँड्ने जनाएको छ ।

मध्यपुर थिमि नगरद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ का संक्रमितलाई सेवा दिन चिकित्सकसहित स्वास्थ्यकर्मी र आइसोलेटेड एम्बुलेन्स तयारी अवस्थामा राखेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

चाँगुनारायणले कोषमा तत्कालका लागि ३० लाख रुपैयाँ जम्मा गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । उनका अनुसार नगरपालिकाले प्रदेश तथा संघीय सरकारबाट प्राप्त हुने रकम, नगरमा कार्यरत शिक्षक, कर्मचारीको आधा महिनाको तलब (स्वास्थ्य सेवामा कार्यरत कर्मचारी बाहेक), सम्पूर्ण जनप्रतिनिधिको प्रदेश सभाबाट पारित ऐनले तोकेबमोजिम हुन आउने दुई महिना बराबरको सुविधा रकम कोषमा जम्मा गर्ने भएको छ । चाँगुनारायण नगरभित्रका उद्योगी, व्यवसायी, संघसंस्था, संस्थागत विद्यालयलगायत इच्छुक व्यक्तिहरुलाई उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरिएको छ ।

नगरपालिकाले लकडाउन अवधिमा काममा खटिएका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत थप प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाले पीपलबोटस्थित खानेपानी सरसफाइ तालिम केन्द्र र नेपाल इन्जिनियरिङ कलेजमा क्वारेन्टाइन कक्ष बनाउने तयारी गरेको छ ।

दुवाकोटस्थित काठमाडाैं मेडिकल कलेजलाई कोभिड–१९ संक्रमितको उपचारका लागि सात वटा भेन्टिलेटर सहितको आइसोलेसन वार्ड बनाइएको छ ।

प्रकाशित : चैत्र २१, २०७६ ११:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×