कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना नदेखिएका राष्ट्र

राष्ट्रसंघको तथ्याकंलाई हेर्ने हो भने विश्वभर बाहिरका मानिस कम भ्रमण गर्ने १० मध्ये ७ राष्ट्र कोभिड–१९ मुक्त छन् ।
एजेन्सी

चीनको वुहानबाट फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) महामारीले विश्व नै आक्रान्त छ । डिसेम्बर अन्तिममा पहिलो पटक संक्रमण देखिएपछि झन्डै तीन महिनाअघि जनवरी १२ सम्म यो भाइरस चीनमा मात्र सीमित थियो । चीनबाहिर कुनै पनि देशमा संक्रमित भेटिएका थिएनन् । 

कोरोना नदेखिएका राष्ट्र

जनवरी १३ देखि यो भाइरस विश्व समस्याका रूपमा देखा पर्‍यो । चीनबाहिर सबैभन्दा पहिले थाईल्यान्डमा भाइरस संक्रमित भेटिए । त्यसपछि, जापान, दक्षिण कोरिया र अमेरिका हँुदै विश्वभर संक्रमण फैलियो ।

विश्वका कैयौं राष्ट्रमा एकैपटक एउटै भाइरस वा विरामीले प्रभाव पार्छ भने विश्व स्वास्थ्य संगठनले त्यसलाई ‘प्यान्डेमिक’ अर्थात् विश्व महामारीको रूपमा घोषणा गर्ने गर्छ । सुरुमा कोरोना भाइरसको प्रभावलाई लिएर ‘आपत्काल’ मात्र घोषणा गरेको विश्व स्वास्थ्य संगठनले मार्च ११ मा ‘प्यान्डेमिक’ घोषणा गरिसकेको छ ।

अप्रिल ३ सम्म आइपुग्दा विश्वभर १० लाख १५ हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भइसकेका छन् । मृतक संख्या ५३ हजारभन्दा बढी भइसकेको छ । संक्रमित र मृतक संख्या बढ्दो क्रममा छ । विश्वका कैयौं देशका अस्पताल संक्रमितले भरिएका छन् । विश्वनै संक्रमणका कारण प्रभावित भइरहँदा केही राष्ट्र भने अझैयसबाट मुक्त छ ।

जोन हप्किन्स विश्वविद्यालयको अप्रिल २ सम्मको तथ्यांक हेर्ने हो भने संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेका विश्वका १ सय ९३राष्ट्र मध्ये १९ राष्ट्रले कोभिड–१९ संक्रमितको विवरण पुष्टि गरेका छैनन् ।

कोभिड–१९ नदेखिएका १९ राष्ट्र

कोमोरोस, किरीबाटी, लेसोथो, माल्वी, मार्सल आइल्यान्ड्स, माइक्रोनेसिया, नाउरू, उत्तर कोरिया, पालाऊ, सामोआ, साओ टोम र प्रिन्सिपी, सोलोमन आइल्यान्ड्स, दक्षिणी सुडान, ताजिकिस्तान, तोंगा, तुर्केमेनिस्तान, तुभालु, भानुआटु र यमन

उत्तर कोरियाले बिहीबार मात्र आफू कोरोनामुक्त राष्ट्र भएको घोषणा गरेको थियो । संक्रमण फैलिएको तीन महिनाभन्दा बढी भइसक्दा पनि आफ्नो देशमा एकजना पनि संक्रमित फेला नपरेको भन्दै उसले कोरोनामुक्त राष्ट्र घोषणा गरेको हो ।

केही विज्ञको विचारलाई मान्ने हो भने उत्तर कोरियाको भनाइ सत्य हुन सक्छ, किनभने विश्वबाटै अलग रहेको र संयुक्त राष्ट्र संघसहितका विकसित राष्ट्रबाट प्रतिबन्ध खेपिरहेका कारण त्यहाँ अन्यत्रबाट आवतजावत निकै कम हुन्छ । यसो त उसले छिमेकी चीनमा संक्रमण फैलिएसँगै आफ्नो सीमानाका बन्द गरेको थियो भने देशमा रहेका विदेशी कूटनीतिज्ञ र अधिकारीलाई दुई साता क्वारेन्टाइनमा राखेको थियो । कतिपयले भने उत्तर कोरियाले संक्रमितको तथ्यांक लुकाएको हुनसक्ने दाबी पनि गर्दै आएका छन् । यस्तै आरोप युद्धग्रस्त यमनलाई पनि लागेको छ । यद्यपि कतिपयले युद्धग्रस्त राष्ट्रमा अन्य क्षेत्रबाट जाने मानिसको संख्या अत्यन्त न्यून हुने वा हुँदै नहुने भएकाले पनि यमनी दाबी सही हुनसक्ने तर्क पनि प्रस्तुत गर्दै आएका छन् ।

बाँकी १७ राष्ट्र, जहाँ संक्रमित भेटिएका छैनन् भनिएका छन् ती पनि साना टापु राष्ट्र छन्, जहाँबाहिरका मानिसको आवतजावत निकै कम हुने गर्छ । राष्ट्रसंघको तथ्याकंलाई हेर्ने हो भने विश्वभर बाहिरका मानिस कम भ्रमण गर्ने १० मध्ये ७ राष्ट्र कोभिड–१९ मुक्त छन् । टापु राष्ट्रका ग्रामीण जटिलता आफ्ना ठाउँमा होलान्, तर कोरोना भाइरस महामारीकै बीच सामाजिक दूरीका कुरा चलिरहँदा ती राष्ट्र वास्तवमै ‘सेल्फ आइसोलेटर’ देखिएका छन् । अन्यत्रबाट निकै कम मानिसको आवतजावत हुने भएकाले पनि ती राष्ट्र कोभिड–१९ मुक्त भएका हुन् भन्ने तर्क पनि पेश गरिएका छन् । राष्ट्र संघको तथ्यांकलाई हेर्ने हो भने मात्र केही सयको हाराहारीमा यी टापु राष्ट्रमा पर्यटकको आवतजावत हुन्छ । विशेष गरेर कोरोना संक्रमण फैलिएका विश्वका अन्य राष्ट्रका सम्पर्कबाट टाढै भएकाले पनि यी साना टापु राष्ट्र पछिल्लो महामारीबाट मुक्त भएका हुन् ।

भूगोलका आधारमा राष्ट्र संघको सदस्य राष्ट्रमध्ये मोनाकोपछि नाउरू विश्वकै सबैभन्दा सानो राष्ट्र हो । यो जनसंख्याका आधारमा पनि विश्वकै दोस्रो सानो राष्ट्र हो । मात्र १० हजार जनसंख्या रहेको नाउरु विश्वमा कम पर्यटकले घुम्ने राष्ट्रमध्येको एक हो । राष्ट्र संघका अनुसार यहाँ गत वर्ष मात्र १ सय ६० जनाले भ्रमण गरेका थिए ।

विश्वका अन्य राष्ट्रबाट अलि पर र समुद्र नै सीमा भए पनि नाउरूजस्ता अन्य साना टापु राष्ट्रले पनि सुरक्षात्मक उपाय भने अपनाइरहेका छन् । नाउरूका राष्ट्रपति लियोनल एन्गिमियाका अनुसार कोभिड–१९ ‘राष्ट्रिय संकट’ भइसकेको छ । एउटा मात्र अस्पताल, स्वास्थ्यकर्मीको न्यून उपलब्धता र केही संख्यामा मात्र भेन्टिलेटर सुविधाका कारण पनि जोखिम मोल्न नचाहेको उनको भनाइ छ । विश्वबाट टाढै भए पनि नाउरूले देशभित्र कैयौं प्रतिबन्ध लागू गरेको छ ।

उसले मार्च पहिलो साताबाट चीन, दक्षिण कोरिया, इटाली र इरानबाट आउनेलाई यात्रामा प्रतिबन्ध लगाएको छ । मार्चको दोस्रो साता फिजी, किरीबाटी र मार्सल आइल्यान्ड्सको उडान स्थगन गरेको छ भने सातामा तीनपटक उडान भर्दै आएको एउटा मात्र अन्तराष्ट्रिय रूट ब्रिसबेनमा प्रत्येक १५ दिनमा एउटा उडान भर्ने निर्णय गरेको छ । छ अस्ट्रेलिया हुँदै देश फर्कनेलाई स्थानीय होटलमा कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आदेश दिइएको छ ।

क्वारेन्टाइनमा राखिएका सबैको प्रत्येक दिन स्वास्थ्य जाँच गर्ने गरिएको छ । कसैमा ज्वरो देखिए उसलाई थप ‘आइसोलेटेड’ गरेर कोभिड–१९ परीक्षण गरिन्छ । विरामीको नमूना संकलन गरेर अस्ट्रेलिया पठाइन्छ । हालसम्म कसैमा पनि कोरोना ‘पोजेटिभ’ देखिएको छैन ।

नाउरू मात्र नभई किरीबाटी, तोंगा, भानुआटा र अन्य साना प्यासेफिक राष्ट्रले पनि ‘राष्ट्रिय आपत्काल’ घोषणा गरिसकेका छन् ।

शून्य संक्रमित भएका अधिकांश राष्ट्र टापु भए पनि केही भूपरिवेष्ठित राष्ट्र पनि छन् । १ करोड १० लाख जनसंख्या रहेको पूर्वी अफ्रिकी राष्ट्र मलावीमा पनि हालसम्म कसैमा कोभिड–१९ को संक्रमण देखिएको छैन । तथापि मलावी पनि चुप भने बसेको छैन । उसले ‘प्रकोपको अवस्था’ घोषणा गर्दै सबै विद्यालय बन्द गरेको छ भने मार्च २० भन्दाअघि जारी गरिएको भिजा रद्द गरेको छ । पछिल्लो ३० वर्ष ‘एचआईभी’ र क्षयरोग महामारीबाट प्रभावित मलावीले कोभिड–१९ संक्रमण नफैलियोस् भनेर कडा कदम चालेको हो ।

नाउरू र मलावीजस्ता स्वास्थ्य प्रणाली कमजोर भएका राष्ट्रसँग संक्रमण रोकथामको विकल्प छैन । यद्यपि सधैं आयातमै भर पर्ने यस्तादेशले ‘लकडाउन’ कति समयसम्म थेग्न सक्छ भन्ने प्रश्न पनि उब्जिएका छन् । यसअर्थ, विश्वबाट कोभिड–१९ संक्रमणदर घटे वा अन्त्य भए मात्र यस्ता राष्ट्रलाई राहत मिल्ने देखिन्छ ।


(बीबीसीमा प्रकाशित आवेन एमोसको यो लेख अशोकराज पाण्डेले भावानुवाद गरेका हुन् ।)

प्रकाशित : चैत्र २१, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?