अमेरिकामा संक्रमित नेपालीको तथ्यांक संकलन कठिन

न्युयोर्क — कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट न्युयोर्क सिटी आक्रान्त छ । इपिसेन्टर भनिएको  ‘बिग एप्पल’ नामले परिचित यो सहरमा सन्नाटा छाएको छ । हरेक दिन कोभिड १९ को संक्रमणले हजारौं थला पर्दैछन्, सयौंले मृत्युवरण गर्दैछन् ।

अमेरिकामा संक्रमित नेपालीको तथ्यांक संकलन कठिन

यो परिदृश्यमा नेपालीहरुको अवस्था भने गुमनाम छ । संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । परिचय खुलाएका आधा दर्जन बिरामीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । तथापि न्युयोर्कमा कति नेपालीहरु संक्रमित छन् ? यसको स्पष्ट उत्तर न नेपाली कुटनीतिक नियोगसँग छ, न त कुनै संघसंस्थासँग । अनुमान गर्नेहरुको आँकडा तीस, चालीसदेखि तीन सयसम्मको छ । कोही त पाँच सय घटी, नेपाली संक्रमित हुनै नसक्ने दावी गर्छन् ।


‘यो निकै चुनौती भएको छ, हाम्रा लागि,’ नेपाली महावाणिज्य दूतावासका प्रमुख (कन्सुलेट) पुष्पराज भट्टराईले भने ‘भनेको, सुनेको भरमा तथ्यांक बनिरहेको छ ।’


न्युयोर्कमा गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका दर्जनौं संघ संस्थाहरु छन् । आ–आफ्नो पहुँचमा रहेका समुदायबाट संस्थाहरुले अनुमानित संख्या पस्किरहेको जानकारहरु बताउँछन् । तथ्यांक नहुँदा, यो संकटमा राहत वा सहयोगका लागि ठोस योजना वा पहल गर्न गाह्रो भइरहेको महावाणिज्य दूतावासकाको भनाई छ । न्युयोर्कमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाख पुग्नै लागिरहेको पृष्ठभूमिमा हजारौं नेपालीहरु रहेको सहरमा अत्याधिक संक्रमित हुनसक्ने आकलन धेरैको छ ।


गैरआवासीय नेपाली संघ (एनआरएनए), न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी आफ्नो संस्थासँग आधिकारिक तथ्यांक नरहेको बताउँछन् । भन्छन्, ‘तथापि हामीले यो संकटको घडीमा एक सय बढीलाई सहयोग पुर्‍याएका छौं । हाम्रो हिसाबमा एक सय घरपरिवार जति संक्रमित हुनसक्छ ।’ न्युयोर्क सहरको पनि क्वीन्स क्षेत्र, कोभिड १९ बाट अत्याधिक प्रभावित क्षेत्र हो । क्विन्समा अत्याधिक नेपालीहरुको बसोबास छ ।


रोगको प्रकृति, संकोच एवं विकल्प नरहेको अवस्थामा संक्रमणमा फसेकाहरु पनि परिचय लुकाउन बाध्य छन् । ज्याक्सन हाइटको एक परिवारसँग दुई बेडरुमको अपार्टमेन्टमा साझेदारीमा बस्दै आएका रुकुमका विश्व घर्तीले कान्तिपुरसँग भने, ‘केही गडबड भए पनि, चुपचाप बस्नुपर्ने सबैको स्थिति छ ।’ उनी प्रतिप्रश्न गर्छन्, ‘अस्पतालमा त्यस्तै भीड छ, डेरामा सबैलाई थाहा दिएर कहाँ जानु ?’


कन्सुलेट भट्टराईका अनुसार संक्रमितहरुले सहयोग वा सुझावका लागि सम्पर्क त गर्छन् तर परिचय गोप्य राख्न चाहन्छन् । नेपाली संक्रमितको तथ्यांकका लागि बिहीबारदेखि महाबाणिज्य दुताबासकाले आफ्नो अनलाइनमा फर्मको व्यवस्था गरेको छ । परिचय गोप्य राखिने भन्दै संक्रमितहरुलाई फर्म भर्न आव्हान गरिएको छ ।

प्रकाशित : चैत्र २१, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?