कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

‘घरपालुवा जनावरबाट मान्छेमा कोरोना भाइरस सरेको प्रमाण छैन’

कुकुर–बिरालोबाट कोरोना भाइरस सर्ने डरले घरबाट निकालिँदै
अतुल मिश्र

काठमाडौँ — कुकुर, बिरालोजस्ता घरपालुवा जनावरबाट कोरोना भाइरस (कोभिड–१९) सर्ने डरले तिनीहरूलाई घरबाट निकाल्ने क्रम सुरु भएको छ । हाल काठमाडौंको सडक, गल्लीमा घरबाट निकालएका कुकुर भौंतारिँदै हिँडेको देख्न सकिन्छ । 

‘घरपालुवा जनावरबाट मान्छेमा कोरोना भाइरस सरेको प्रमाण छैन’

संक्रमणको डरले घरपालुवा जनावरलाई लखेट्ने समस्या नेपालमा मात्र नभई विश्वमै देखिएको छ । यसैले होला, विश्व पशु स्वास्थ्य संगठन (ओआईई) र वर्ल्ड भेटेरिनरी एसोसिएसनले परिपत्र जारी गरी कुकुर, बिरालोजस्ता घरपालुवा जनावरबाट विश्वका कुनै पनि भागमा कोभिड–१९ नफैलिएको बताएका छन् ।

‘विश्व पशु स्वास्थ्य संगठन र वर्ल्ड भेटेरिनरी एसोसिएसनले परिपत्र जारी गरेर हामी (नेपाल) लाई कुकुर, बिरालोजस्ता घरपालुवा जनावरबाट कोभिड–१९ नसर्ने जानकारी जनसाधारणमा प्रवाह गर्न भनेका छन्,’ नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले भने, ‘घरधनीले कुकुरलाई घरबाट बाहिर निकाल्नेलगायतका धेरै नराम्रो व्यवहार गरेको पाइएको छ, कुकुरबाट कोभिड–१९ हैन, माया सर्छ ।’

विश्व पशु स्वास्थ्य संगठन र वर्ल्ड भेटेरिनरी एसोसिएसनको निष्कर्षअनुसार हालसम्म काेिभड–१९ पशुबाट मानवमा र पशुबाट पशुमा सरेको छैन । ओआईईका अनुसार पशुबाट यो रोग मनुष्यमा नसर्ने भए पनि संक्रमित मनुष्यले भने पशुलाई प्रभावित गर्न सक्छ ।

धेरैजसो कुकुर, बिरालो जो आफ्नो संक्रमित धनीको निकट सम्पर्कमा थिए तिनीहरूमा ‘कोभिड–१९’ पोजेटिभ देखिएको छ । तर हालसम्म रोग लागेका मान्छेबाट संक्रमित भएका घरपालुवा जनावरले पुन: अन्य व्यक्तिमा रोग सारेको कुनै प्रमाण छैन । मान्छेमा देखिएको कोभिड–१९ को महामारी मान्छेबाट मान्छेमा सरेर भएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पशु, घरपालुवा जनावरहरू कुकुर, बिरालोबाट मान्छेमा कोभिड–१९ भाइरस संक्रमण हुनसक्ने हालसम्म कुनै प्रमाण छैन । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार घरपालुवा जनावरले कोभिड–१९ सारेको प्रमाण छैन ।

राजधानी मात्र नभई मुलुकको विभिन्न भागबाट घरपालुवा कुकुरलगायतका पशुले कोभिड १९ सार्न सक्ने हल्लाबारे थुप्रै जनाले चासो राखेको एडभान्स पेट हस्पिटल एन्ड रिसर्च सेन्टरका डा.शरदसिंह यादव बताउँछन् ।

भेटेरिनरी एसोसिएसनका चिकित्सकको अनुमानअनुसार राजधानीमा करिब ३ लाख घरपालुवा कुकुर, बिरालो र ३० हजार सामुदायिक कुकुर छन् ।

प्रकाशित : चैत्र २१, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?