कोरोनासँग जुध्‍न खोज्दा भ्रष्टाचारका फेला !

हामीलाई कोरोना भाइरसका मुखमा धकेल्ने दोस्रो भाइरस अर्थात् भष्टाचारसँग लड्न मैले एजेन्ट नराखिकन चीनबाट आयात गरेको अचूक हतियार हो- शासकलाई इमान्दार बनाउनू ! यसो भनौँ न, इमान्दारलाई शासक बनाउनू !
मोहन मैनाली

कोरोना भाइरससँग लड्न चीनमा किनेर ल्याएका हतियार काम लागेनछन् । ती हतियार जसले किनेको थियो उसैले सकारेपछि हामीले पनि मान्नैपर्‍यो । कोरोना भाइरससँग लड्न हतियार ल्याउने प्रक्रियामा अर्को भाइरस लागेकाले ती हतियार काम नलाग्ने भएका रहेछन् । त्यो भाइरसको नाम हो- भ्रष्टाचार । 

अहिले नेपालले कोरोना भाइरससँग लड्नुभन्दा पहिले भ्रष्टाचार भाइरससँग लड्नु परेको रहेछ किनभने पछिल्लो भाइरस बाँचुञ्जेल अघिल्लो भाइरस अर्थात् कोरोनासँग लड्न खोज्यो कि अघिल्लो भाइरसले हामीलाई कमजोर बनाइहाल्दो रहेछ ।


चीनमा बनेका सबै हतियार काम नलाग्ने हुँदैनन् । यो पछिल्लो भाइरससँग लड्नका लागि सम्भवतः संसारको सबैभन्दा उत्तम हतियार चीनले धेरै वर्षअघि बनाइसकेको छ ।


आजभन्दा साढे एक्काइस सय वर्ष जति पहिले चीनको हुवाइनानका राजाले राज्य सञ्चालन, दर्शन र संसारसम्बन्धी सामान्य ज्ञानका बारेमा बुद्धिमान राजाले के के कुरा थाहा पाउनुपर्छ भन्ने कुरा समेटिएको किताब तयार गर्न आफ्ना दरबारका विद्वानलाई लगाएछन् । विद्वानहरूले नौ सय पेजको किताब तयार गरेछन् । त्यसमा भएको एउटा कुरा यहाँ सान्दर्भिक छ । त्यो हो- शासक इमान्दार छ भने दुष्ट मानिसहरू लखेटिन्छन र इमान्दार कर्मचारीले आफ्नो कर्तव्य पालना गर्न पाउँछन् । शासक इमान्दार छैन भने इमान्‍दारहरु आफैं पाखा लाग्छन् र दुष्ट मानिसले आफ्नो स्वार्थ पूरा गर्न पाउँछन् ।


जुन कम्पनीले सक्कली सामग्री ल्याउन सक्ने छेकछन्द कहीँ कतै थिएन उसलाई यो ठेक्का पाउन योग्य ठहर्‍याउने काम त्यसले गर्छ जसका वरिपरि भएका (कुनै बेला थिए भने) इमान्दार मानिस पाखा लागिसकेका हुन्छन् । तिनका वरिपरि इमान्दार मानिस भएका भए दुष्ट मानिसहरू आफैं लखेटिन्थे । ती दुष्टबाट किन घेरिन पुगे भन्ने कुरा माथिको चिनिया भनाइबाट प्रष्ट भइहाल्छ ।


आपत् परेका बेलामा तुरुन्तै चाहिने जरूरी सामान खरिद गर्दा पनि किन यस्तो भयो ? यसको जबाफ सोझो छ- यसबाट ठेक्का लिनेदिनेमध्ये कसै न कसैले अथवा दुवैले नाजायज फाइदा लिन खोजेका थिए । मानिसहरू भन्ने गर्छन् केही मानिसलाई भ्रष्टाचार गर्न गरिबीले प्रेरित गर्छ । यहाँ यो कुरा लागू हुँदैन किनभने यो ठेक्का लिनेदिनेमध्ये कोही गरिब भएजस्ता देखिँदैनन् । त्यसो भए उनीहरूले त्यसो किन गरेका थिए ?


'गरिब [मध्ये केही] ले आफ्ना आवश्यकता पूरा गर्न भ्रष्टाचार गर्छन भने धनीले आफ्नो लगानीलाई कैयौँ गुणा बढाउन त्यसो गर्छन्,' भ्रष्टाचार सम्बन्धमा अनुसन्धान गरेका इन्डोनेशियाका रेभ्रिसोन्ड बस्विरले १९ वर्ष पहिले मलाई भनेका थिए । अहिले लाग्छ, उनले कोरोना भाइरससँग लड्न भनी चीनबाट चिकित्सासामग्री ल्याउने कामको ठेक्कापट्टालाई आजभन्दा १९ वर्ष पहिल्यै हेरेर पो भनेका रहेछन कि क्या हो !


होइन, उनले त आफ्नै देशको अवस्था हेरेका थिए । 'इन्डोनेशियामा क्रोनी क्यापिटालिज्म द्रुत गतिमा बढ्नुको एउटा कारण यही हो,' उनले भनेको यो कुरा मैले त्यतिबेला बुझेको थिइनँ । अहिले नेपालको अवस्था हेर्दा छर्लङ्ग भयो । विकिपेडियाका अनुसार क्रोनी क्यापिटालिज्म भनेको त्यस्तो आर्थिक प्रणाली हो जहाँ व्यापारी र राजनीतिक वर्गले साँठगाँठ गरी कमाएको पैसाका कारणले व्यापार फस्टाउँछ, स्वभाविक तरिकाले (जोखिम उठाएकाले) होइन । काम लिने व्यापारी वर्ग र काम दिने राजनीतिक वर्गका बीचमा साँठगाँठ भयो । काम दिनेले आफ्ना साथीलाई ऊ योग्य भएकाले होइन आफूसँग साँठगाँठ भएकाले काम दियो । अपराध गर्न एकापसमा मिलेका धनी व्यापारी र राजनीतिक वर्गले दिन दुई गुणा रात चौगुणा धनी हुन खोजेकाले यसो भयो ।उनीहरू धनी हुने हुँदा हाम्रो स्वास्थ्य कोरोना भाइरसका मुखमा पर्ने जोखिम बढ्यो ।


हामीलाई कोरोना भाइरसका मुखमा धकेल्ने दोस्रो भाइरस अर्थात् भष्टाचारसँग लड्न मैले एजेन्ट नराखिकन चीनबाट आयात गरेको अचूक हतियार हो- शासकलाई इमान्दार बनाउनू ! यसो भनौँ न, इमान्दारलाई शासक बनाउनू !


भनिन्छ, सत्ताले मानिसलाई भ्रष्ट बनाउँछ । परम सत्ताले परम भ्रष्ट बनाउँछ । त्यही भएर त मार्‍यो त ! जसलाई सत्तामा पुर्‍यायो ऊ भ्रष्ट हुन्छ, बारम्बार सरकार फेरिँदा भ्रष्टाचार रोक्ने संस्था र चलन बन्न पाएन भनेर परमसत्ता (स्थायी सरकार बनाउन चाहिने बहुमत) दियो ऊ परम भ्रष्ट हुन्छ ।


भ्रष्टाचार र च्याउ उस्तै उस्तै हुन् रे । यी दुवै अँध्यारोमा फस्टाउँछन् रे। च्याउलाई उज्यालो र खुला ठाउँमा राखिदियो भने सुख्खा भएर त्यो बढ्न पाउँदैन ।'पारदर्शिता भएमा भ्रष्टाचार हुने अवसर सबैभन्दा कम हुन्छ,' इन्डोनेशियाली विद्वान बस्विरले यसै भनेका थिए ।


उनको यो कुरा चाहिँ पत्याइनँ । अथवा उनको यो कुराभन्दा अगाडि बढीसक्यो अहिलेको जुग । पारदर्शिता हुँदा भ्रष्टाचार रोकिने भए नेपालमा भ्रष्टाचार हुने नै थिएन । किनभने पारदर्शिताका मामलामा हामी निकै अगाडि छौँ । पहिलो, हाम्रो सरकारी कर्मचारीतन्त्रमा निश्चित पार्टीका कार्यकर्ता जस्ता लाग्ने मान्छे यसरी हुलिएको छ कि आफ्नो मालिक पार्टी सत्तामा नभएका बेला अर्को पार्टीका मानिसले तलमाथि गर्न आँट्यो भने तिनले त्यो कुरा बाहिर चुहाइहाल्छन् ।


दोस्रो, सञ्चारमाध्यम । भ्रष्टाचारका कुरा सञ्चारमाध्यमले नियमित जस्तै बाहिर ल्याइरहेका छन् ।

तेस्रो, भिडियो/अडियो रेकर्डिङ प्रविधि । लेनदेन मिलेन कि भ्रष्टाचार र दूराचारका कुरा प्रमाणसहित बाहिर आइहाल्छन् । यसैले गर्दा एक वर्षभन्दा थोरै समयमा माथिल्ला पदका दुईजनाले आफ्नो पद गुमाए ।

तैपनि, यस्तो देख्दा देख्दै पनि, भ्रष्टाचार भइरहेको छ ।भ्रष्टाचार थेत्तरो भएको छ ।


भ्रष्टाचारसँग जुध्न न्याशनल युनिभर्सिटी अफ सिंगापुरका तान त्या कियोङले १९ वर्षअघि नै केही उपाय सुझाएका थिए । ती हुनः कडा कानुन र त्यसलाई कठोरताका साथ परिपालना गराउने स्वतन्त्र निकाय, सरकारी निकायलाई सफा राख्ने र भ्रष्टाचार निर्मूल पार्ने दृढ अडान भएको दूरदर्शी र इमान्दार राजनीतिक नेता, राजनीतिक नेता र सरकारी कर्मचारीको तलब अत्यधिक वृद्धि ।


कियोङका विचारमा सरकार र पार्टी चलाउने राजनीतिक दलका नेताले भ्रष्टाचारलाई प्रश्रय दिन सक्ने मात्र होइन उनीहरूले चाहे भने भ्रष्टाचारका विरुद्धमा आफ्नो तागत र क्षमता उपयोग गर्न पनि सक्छन् ।


कियोङले सुझाएका केही उपायले भने नेपालमा उल्टो असर गरे जस्तो देखिएको छ । उनले भनेका थिए, भ्रष्टाचार विरोधी संस्था बनाउन गर्न शासनमा केही हदसम्म स्थायित्व हुनुपर्छ ।नत्र एउटाले यस्तो संस्था बनाउन थाल्छ, तुरुन्तै ऊ सत्ताबाट हट्छ र त्यसपछि आउनेले यो काम गर्दैन । त्यसैले शासन गर्ने एउटै मानिसले अलि बढी समय काम गर्न पाउनुपर्छ ।


कियोङले भनेका थिए, सरकारी कर्मचारी भर्ना गर्दा 'सबैभन्दा उत्तम र बुद्धिमान' मध्येबाट छान्नुपर्छ ।भ्रष्टाचार गर्नेमध्ये अधिकांश 'सबैभन्दा उत्तम र बुद्धिमान' भएकाले यो उपाय पनि हाम्रोमा काम लाग्दैन कि जस्तो लाग्छ ।

अदालत निष्पक्ष र स्वतन्त्र भएन भने सरकारी ओहदा दुरुपयोग गरेर व्यक्तिगत लाभ लिने मानिसको लोभ बेलगाम दौडन्छ, कियोङले भनेका थिए । यो चाहिँ पक्कै पनि सही हुनुपर्छ ।


घुस खान्या र दिन्या दुवैलाई पृथ्वीनारायण शाहले निसाफ बिगार्ने मान्छे भनेका थिए । नेपालको न्यायप्रणालीले चाहिँ घुस दिन्यालाई चोखै जस्तो ठानेको छ । समाजले पनि त्यसै भन्छ । घुस दिएर नाजायज कमाइ गर्ने खोज्ने मान्छेलाई उसले त्यस्तो गर्न नपाएपछि पोल खोल्यो भनेर हिरो ठान्ने चलन हामीकहाँ छँदैछ ।


भ्रष्टाचार रोक्न नेपालमा कहिलेकाहीँ सरकारी तथा गैरसरकारी क्षेत्रबाट क्षणिक जेहाद छेड्ने गरिन्छ तर कियोङ भन्छन्, प्रणाली सुधार्न जोड दिनुपर्छ, जेहाद छेड्न होइन । जेहादको परिणाम अल्पकालीन हुन्छ, दीर्घकालसम्म रहँदैन ।


अन्त्यमा, एउटा अर्को पनि चिनियाँ उपायः भ्रष्टाचार र सिँढी बढार्न माथिबाट थालेर तल झर्नुपर्छ । तल थालेर माथि जाने होइन ।


भ्रष्टाचार बढार्न माथिबाट कसरी थाल्ने हो त्यो चाहिँ अलमलमै छ किनभने हाम्रो जस्तो प्रजातन्त्रमा हामीले शासक रोज्न त पाएका छौँ, तर राम्रो र नराम्रो मध्येबाट एउटा रोज्न भने पाएका छैनौँ । प्रकाशित : चैत्र २१, २०७६ ०८:३६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कोरोना परीक्षणका लागि नाम लेखाउने बढे

प्रशासन, प्रहरी र जनप्रतिनिधिमार्फत शंकास्पद बिरामीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइँदै
माधव घिमिरे

विराटनगर — धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड- १९) संक्रमण परीक्षण गर्न थालिएयता प्रदेशका विभिन्न जिल्लाबाट बिरामीको ‘स्वाब’ संकलन भइरहेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण ज्वरो आउने र खोकी लाग्ने भएकाहरूले परीक्षणका लागि नाम लेखाउने क्रम पनि बढ्दै गएको छ ।

बिहीबार साँझसम्म परीक्षण गराउन नाम लेखाउनेको संख्या १ सय ८८ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय प्रशासन, प्रहरी र जनप्रतिनिधिमार्फत शंकास्पद बिरामीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाउने गरेको जनाएको छ । गत आइतबारदेखि वीपी प्रतिष्ठानमा कोरोना भए नभएको परीक्षण गर्न थालिएको हो ।


पछिल्लो पटक बिहीबार शंकास्पद ५ जना बिरामीको नमुना संकलन गरिएको छ । ओखलढुंगाका २ र सोलुखुम्वुका ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।

प्रदेश १ मा बिहीबारसम्म ५९ जनाको नमुना संकलन गरिएको छ । तीमध्ये ४५ जना पुरुष र १४ जना महिला छन् । संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट आइसकेको मेहताले बताए । ती सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

उनका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट ५, ओखलढुंगाबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जना शंकास्पद व्यक्तिको स्वाब संकलन भइसकेको छ ।

कोरोना भाइरसका शंकास्पद १ सय ८८ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । सुनसरीबाट १ सय ६९, मोरङ, झापा र सोलखम्बुबाट ५-५ जना र उदयपुर र पाँचथर २-२ जनाले नाम दर्ता गराएको डा. मेहताले बताए ।

प्रदेश १ मा बिहीबारसम्म आइसोलेसनमा ११ जना भर्ना भएका छन् । भर्ना भएकामध्ये ६ जना पुरुष र ५ जना महिला छन् । आइसोलेसनमा बस्नेमा सुनसरीबाट १, ओखलढुंगा र उदयपुरबाट २-२ जना महिला रहेका छन् । यस्तै मोरङबाट ४, ताप्लेजुङ र पाँचथरका १-१ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

आइसोलेसनमा रहेर उपचार र रेखदेखपछि निको भएर ४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ का ४३ अस्पतालले ४ सय १ आइसोलेसन बेड तयारी अवस्थामा राखेका छन् । प्रदेशभरमा ३ सय ९७ वटा फिबर क्लिनिक सञ्चालनमा छन् । फिबर क्लिनिकमा बिहीबार मात्रै जाँचका लागि १ हजार ९ सय ४१ जना बिरामी आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरूलाई चिकित्सकका लागि चाहिने ६ सय ७६ वटा व्यक्तिगत सुरक्षा सामग्री वितरण गरेको छ ।

प्रकाशित : चैत्र २१, २०७६ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×