घर फिर्तीको माग गर्दै सीमामै धर्ना

चैत्र १८, २०७६

माधव ढुंगाना

भैरहवा — नेपाल प्रवेशको अनुमति नपाएर सुनौली नाकामा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली सोमबार रातिदेखि धर्नामा बसेका छन् । घर फिर्तीको माग गर्दै उनीहरुले दशगजा क्षेत्रमा धर्ना सुरु गरेका हुन् । उनीहरुले नेपाल सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न तयार रहेको समेत जनाएका छन् । 

इलाका प्रहरी कार्यालय बेलहियाका अन्सुार धर्ना बस्नेमा महिला र बालबच्चा सहित करिब ४ सय जना छन् । सोमबार राति उनीहरु एकैसाथ नाकाबाट नेपाल प्रवेश गर्न खोजेका थिए । नेपालतर्फ तैनाथ सुरक्षाकर्मीले उनीहरुलाई रोकेपछि केहीबेर धकेलाधकेल भएको थियो । 

 

भारतको गाजियाबादबाट घर फर्केका अर्घाखाँचीको मालारानी गाउँपालिका—३ का सुनिल खनालले आफूहरु नेपाल प्रवेश गर्न लाग्दा नेपाली सुरक्षाकर्मीले सामान्य लाठीचार्ज समेत गरेको बताए । ‘लाठीचार्ज हुन थालेपछि भाग्ने क्रममा एक/दुई लडे पनि गम्भीर घाइते भने कोही भएको छैन,’ खनालले भने, ‘त्यसपछि फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले पनि हामीलाई रोकेपछि सीमामै धर्नामा बसेका हौं ।’ सीमामा अलपत्रहरुको नाम ठेगानासहितको विवरण माग गरिएकाले सबैले लेखेर बुझाउने क्रममा रहेको उनले जनाए ।  

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले ,नाकामा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने बारेमा अहिलेसम्म स्पष्ट कुनै निर्णय नआएको जनाए । ‘आन्तरिक तयारीमा जुटेका छौं,’ उनले भने ।  

नाकामा अलपत्र परेकाहरुलाई खानबस्न र खानेपानीको समस्या देखिएको छ । सीमावर्ती बेलहियाका युवा, भैरहवाका विभिन्न संस्था र भारत सुनौलीका स्थानीय मिलेर खानेबस्ने प्रबन्ध मिलाउँदै आएका छन् ।  

प्रदेश नम्बर ५ सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा क्षेत्रमा अलपत्रमा परेकालाई सम्बन्धित जिल्लामा समूह बनाई पठाउने निर्णय गरेको थियो । ती नागरिकलाई सम्बन्धित क्वारेन्टाइनमा राखी खानपिनको व्यवस्था गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना प्रकोप नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले सिमानामा रहेका नेपालीलाई स्वदेश आउन दिने निर्णय गरेको थियो । उक्त निर्णय भएको तीन दिन बितिसक्दा पनि भारतबाट आउने नेपालीले प्रवेश पाएका छैनन् । दार्चुला लगायतका सीमा नाकामा नेपालीले प्रवेश नपाएर नाराबाजी र धर्नामा बस्न लागेका छन् ।

लकडाउनसीमानाकाकोरोना भाइरस

माधव

Link copied successfully