कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

यूएईमा थप दुई नेपाली कोरोना भाइरसबाट संक्रमित  

होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुई जना नेपाली कामदार कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित भएका छन् । 

यूएईमा थप दुई नेपाली कोरोना भाइरसबाट संक्रमित  

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यूएईमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ६ पुगेको छ । जसमध्ये दुई जना निको भएर काममा फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या भने ६ सय ११ जना पुगेको छ । दुई जना बिरामी बाहेक सवैजनाको अवस्था स्थिर छ । दुई जनाको अवस्था गम्भीर छ । यूएईमा ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. फारिदा अल होस्नीले कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि देशभर स्वास्थ्य परीक्षणको लागि मोवाइल जाँच केन्द्र स्थापना गरिएको बताएकी छिन् । ‘परीक्षण गरेको पाँच मिनेटमा नतिजा आउनेछ’, सोमबार आयोजित पत्रकार सम्मेलनमा होस्नीले भनिन्,‘स्थानीय नागरिक र आप्रवासी कामदारको स्वास्थ्य परीक्षण गर्ने कार्यलाई तीव्रता दिइएको छ ।’

यूएईमा झन्डै दुई लाख ५० हजार नेपाली कार्यरत छन् । जसको ठूलो हिस्सा सेवा क्षेत्रमा छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्युनीकरण गर्नका लागि नेपाली समुदायलाई यूएई सरकारबाट जारी गरिएका मापदण्डहरुलाई नियमित रुपमा पालना गर्न अनुरोध गरेका छन् । ‘हामी नेपाली समुदायसँग नजिकको सम्बन्ध वनाइ काम गरिरहेका छौं । केही विषय नबुझेमा दूतावासलाई सर्म्पक गर्न अनुरोध गरिएको छ’, उनले भने,‘स्वास्थ्यमा कुनै समस्या भएमा यूएईले स्थापना गरेको संयन्त्र वा दूतावासलाई खवर गर्न सवैलाई अनुरोध गर्दछु ।’

यूएईमा कार्यरत गैरआवासीय नेपाली संघ मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली खाद्यान्नको समस्या पर्नेलाई सहयोग हुने बताए । ‘अहिले अधिकांश कम्पनीले काम बन्द गरेका छन् । कतिपय कामदार साथीहरुको रकम अभावका कारण खाद्यान्न संकट भएमा सहयोग हुनेछ’, उनले भने,‘यसका लागि दुबईमा रहेका सबै संघसंस्थवीच हातेमालो भइरहन्छ ।’

यसैगरी यूएई सरकारले मार्च १ तारिखभन्दा पछि आवासीय भिसा अनधि सकिएर आफ्नो देश फर्कन नपाएका वा अर्को भिसा नलागेकाको भिसा स्वतः ३ महिना थप गरेको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?