कोरोना संक्रमित पाँचौं व्यक्ति अस्पताल भर्ना

चैत्र १६, २०७६

जनकराज सापकोटा

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित पाँचौं व्यक्तिको पुष्टि गरेको साढे चार घण्टापछि संक्रमितलाई हिजो राति साढे ८ बजेतिर बाग्लुङ सदरमुकामस्थित धौलागिरि अस्पतालमा भर्ना गरिएको छ ।

मन्त्रालयले संक्रमणको पुष्टि गरेपछि पनि घरमै रहेकी उनलाई कसरी अस्पतालसम्म पुर्‍याउने भन्नेमा अलमल देखिएको थियो । 

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवतीमा बाग्लुङस्थित घर पुगेको भोलिपल्टबाट हल्का ज्वरो देखिएको थियो । ज्वरो घटेको दुई दिनपछि फेरी उनलाई ज्वरो देखिएपछि परिवार सर्तक बनेको थियो ।

युवतीका बाबुले कान्तिपुरसँगको कुराकानीमा अहिले पनि छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अस्पतालमै क्वारेनटाइनमा राखिएको बताए । उनले भने, ‘ज्वरो पनि देखिएको छैन, अरु अप्ठ्यारो पनि देखिन्‍न ।’

सम्बन्धित समाचारः 

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully