नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिए

चैत्र १५, २०७६

बुनु थारु

काठमाडौँ — नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९* वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । ती संक्रमित बागलुङकी हुन् ।

१९ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी क्‍यूआर ६५२ फ्लाइबाट आएकी थिइन् । काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो केश रहेको मन्त्रालयका प्रवक्‍ता विकास देवकोटाले बताए । 

हालसम्म ८७५ वटा टेस्ट भएको र ३२ वटा परीक्षणका क्रममा रहेको मन्त्रालयले जनाएको छ । टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए । 

नेपाल उद्योग परिसंघले करिब ७५ हजार सर्जिकल मास्क र १०० वटा पीपीई सहयोग गरेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । एकीकृत व्यापार कम्पनीले ४० वटा पीपीई सहयोग गरेको मन्त्रालयले जनाएको छ ।


सच्याइएको : १९ वर्षीया युवती हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully