सबै पालिकाले क्‍वारेन्टाइन बनाउँदै

चैत्र १५, २०७६

अगन्धर तिवारी

पर्वत — पर्वतका सबै स्थानीय तहमा आवश्यकता अनुसार क्‍वारेन्टाइन बनाउन सबै स्थानीय तहका प्रमुखहरु सहमत भएका छन् ।

शनिबार दिउँसो विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा बसेको बैठकमा सातवटै स्थानीय तहका प्रमुखहरुले क्‍वारेन्टाइन बनाउने निर्णय भएको  हो ।


चैत २ गतेदेखि यता संक्रमित देशहरुबाट गाउँ फर्किएका दुई सय ४९ जनालाई प्रत्यक्ष निगरानीमा क्‍वारेन्टाइनमा राख्‍ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले कान्तिपुरलाई बताए । 


उनका अनुसार त्यसयता लामो यात्रा गरेर आएकाहरुलाई समेत क्‍वारेन्‍टाइनमा बस्‍नुपर्ने नियम बनाइएको उनले बताए । ‘विदेशबाट आएका मात्रै नभएर लामो यात्रा गरेर आएकाहरुलाई पनि कम्तिमा दुई सातासम्म क्‍वारेन्टाइनमा राख्ने निर्णय भएको छ,’सहायक प्रजिअ सुबेदीले भने । 


कुश्मा अस्पतालका प्रमुखसहितको बैठकले गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालको खर्च सबै पालिकाले व्यहोर्ने समेत निर्णय भएको प्रशासनले जनाएको छ । 

शिवालय क्याम्पसमा निर्मित क्वारेन्टाइनको खर्च र व्यवस्थापनको जिम्मा भने कुश्मा नगरपालिकाले लिएको छ । गाउँमा कसैलाई स्वास्थ्य समस्या देखिएमा हेलो डाक्टर सेवा मार्फत् पर्वत अस्पतालका डाक्टरहरुले २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट शिशिर देवकोटाले बताए ।

अगन्धर

Link copied successfully