कोरोना प्रकोप : दक्षिण कोरियामा उपचार गराइरहेका भन्दा निको हुने धेरै

एजेन्सी

सोल — दक्षिण कोरियामा पहिलो पटक कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएर उपचार गराइरहेकाभन्दा निको हुनेको संख्या धेरै पुगेको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्म चार हजार ८ सयभन्दा बढी कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

कोरोना प्रकोप : दक्षिण कोरियामा उपचार गराइरहेका भन्दा निको हुने धेरै

केन्द्रले दिएको जानकारीअनुसार करिब चार हजार ५ सयको हाराहारीमा कोरोना संक्रमित अहिले उपचार गराइरहेका छन् ।


जनवरी २० मा पहिलो संक्रमण पुष्टि भएपछि पहिलो पटक दक्षिण कोरियामा संक्रमितभन्दा निको हुनेको संख्या धेरै भएको केन्द्रले बताएको छ । ‘अझै धेरै गर्न बाँकी छ, तर ५० प्रतिशत ‘रिकभरी रेट’ सानै उपलब्धि भए पनि हामी सबै यसमा खुसी हुनु आवश्यक छ,’ स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य नीति विभागका महानिदेर्शक यून ताई होले भनेका छन् ।


दक्षिण कोरियामा शनिबार दिउँसोसम्म १४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ भने थप १४६ जनामा संक्रमण देखिएको छ ।


गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १९० भन्दा बढी देशमा फैलिइसकेको छ । शनिबार दिउँसोसम्म कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३७१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ५ लाख ९८ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक लाख ३३ हजारभन्दा बढी निको भएका छन् ।

प्रकाशित : चैत्र १५, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?