खानेकुरा नभए वडाध्यक्षलाई फोन गर्नुस् : ललितपुर महानगरपालिका

ललितपुर — ललितपुर महानगरपालिकाले कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका बेला काम गर्न नपाएर भोकै बस्नुपर्ने अवस्थाका श्रमिकलाई वडामार्फत राहत उपलब्ध गराउने भएको छ । 

खानेकुरा नभए वडाध्यक्षलाई फोन गर्नुस् : ललितपुर महानगरपालिका

यो अवस्थामा महानगरपालिकाभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर उक्त निर्णय गरिएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘समस्यामा पर्नु भएका नगरवासीलाई आफ्नो वडाको वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई सम्पर्क गर्न अनुरोध गरिन्छ ।’


दिउँसो कमाएर बेलुका खानुपर्ने श्रमिकलाई अहिलेको बिहान बेलुकाको खानेकुरा जोहो गर्न निकै गाह्रो हुने भएकाले उक्त निर्णय गरिएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए । महानगरपालिकाका प्रवक्ता राजु महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘ कोही भोकै बस्नु नपरोस् भनेर हामीले यो निर्णय गरेका हौं । ’


महानगरपालिकाभित्रका वडाहरुले वडामा बसोबास गर्ने यस्ता व्यक्तिको तथ्यांक केही दिन अघिबाट नै संकलन गर्न थालिसकेका छन् । श्रमिकहरुको स्थिति नुसार राहतको व्यवस्था वडा कार्यालयले महानगरपालिकाको समन्वयमा मिलाउने विज्ञप्तिमा उल्लेख छ । यस विषम परिस्थितिमा महानगरपालिकालाई साथ दिन महानगरवासी, सामाजिक र व्यवसायिक संघसंस्थालाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा भनिएको छ , ‘आवश्यकता अनुसार ललितपुर महानगरपालिका संघीय सरकार, प्रदेश सरकार तथा अन्य महानगरपालिका र नगरपालिकासँग सम्पर्कमा रहनेछ ।’



प्रकाशित : चैत्र १५, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?